७ वैशाख २०८१ शुक्रबार
अर्थ

जनवरीमा १५० देशका करिव १७ हजार पर्यटकले नेपाल भ्रमण गरे

गत जनवरी महिनामा १५० देशका १६ हजार ९७५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। कोरोना महामारीले थलिएको पर्यटन उद्योगमा गत महिना नेपाल भित्रिएका पर्यटकको संख्याले आगामी दिनहरू शुभ रहने संकेत गरेको छ।

अध्यागमन विभागका अनुसार २०२२ जनवरीमा नेपाल भित्रने पर्यटकमा १० हजार ८१० जना पुरुष र ६ हजार १५७ जना पहिला रहेका छन्। सो महिना नेपाल प्रवेश गर्ने ८ जनाको भने पहिचान खुलेको छैन।

जनवरीमा अस्ट्रेलियाबाट १ हजार २१३, बंगलादेशबाट १ हजार २३६, चीनबाट ३२१, जर्मनीबाट ३६५, भारतबाट ३ हजार ९१६, बेलायतबाट १ हजार ८२४ र अमेरिकाबाट ३ हजार २५७ जना पर्यटक नेपाल आएको विभागको तथ्यांकले देखाउँछ।

गत जनवरीमा नेपाल भ्रमणमा रहेका १७ हजार ९८४ जना पर्यटक स्वदेश फर्केका छन्। यसरी फर्कनेमा ११ हजार ६१७ जना पुरुष र ६ हजार ३६१ जना महिला पर्यटक रहेका छन्। फर्कनेमध्ये ६ जनाको पहिचान खुलेको छैन। जनवरीमा कूल ३४ हजार ९५९ जना पर्यटकले नेपालमा आवतजावत गरेका छन्।

विश्वमा कोरोना महामारी फैलिएपछि सबैभन्दा बढी प्रभावित क्षेत्रमा पर्यटन पनि पर्दछ। कोरोना नियन्त्रण गर्न विश्वभर लकडाउन भएपछि पर्यटकको आवतजावत प्रायः ठप्प बनेको थियो। कोरोना खोपको विकास र प्रयोग बढेसँगै पर्यटकको आवतजावत विस्तारै बढ्न थालेको छ।

कोरोना महामारीबीच गत वर्ष सन् २०२१ मा नेपालमा १८१ देशका १ लाख ५० हजार ९६२ जना पर्यटकले भ्रमण गरेका थिए।

प्रकाशित: १४ फाल्गुन २०७८ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App