७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

एक महिनामा सात किलो सुन बरामद

अवैध रूपमा नेपाल ल्याउँदै गरेको करिब पाँच किलो सुनसहित गत माघ २९ गते एक चिनिया नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गर्‍यो।

अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा राहदानी नम्बर इजे ०२४८१३१ बाहक ३६ वर्षीय झाङ लि ४ हजार ८४० ग्राम सुनसहित पक्राउ परेका थिए। हिमालय एयरको उडानबाट काठमाडौं आएका उनले चारवटा पोकामा भित्री कपडामा लुकाई उक्त सुन ल्याएको प्रहरीको भनाइ छ।

यस्तै माघ १९ गते अवैध सुन र मोबाइलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो। हिमालय एयरको विमानमा दुबईबाट काठमाडौं आएका रौतहट गौरका ३२ वर्षीय सुनीलकुमार साह, मकवानपुरको मनहरीका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोसीका ३९ वर्षीय दावा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट अवैध एक किलो १२५ ग्राम सुन र आइफोन १३ प्रो म्याक्स ५ थान फेला बरामद गरियो।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले एक महिनाको अवधिमा साढे ७ किलो अवैध सुन बरामद गरेको छ। गत माघ १९ गतेदेखि फागुन ९ गतेसम्म दुई विदेशीसहित ११ जनाको साथबाट ७ किलो २३० ग्राम अवैध सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार विभिन्न देशबाट अवैध सुन ल्याएको अवस्थामा ९ जना नेपाली तथा एक÷एक जना बंगलादेशी र चिनिया नागरिकलाई पक्राउ गरिएको छ।

अवैध रूपमा नेपाल ल्याइएको सुनको अहिलेको बजार मूल्य करिब ५ करोड ९० लाख रूपैयाँ बराबरको रहेको एसएसपी ढकालले बताए। ‘म यहाँ कार्यालय प्रमुखको रूपमा जिम्मेवारी लिएर आएको साढे एक महिना भयो,’ उनले भने, ‘यो अवधिमा ७ किलो ३२० ग्राम अवैध सुन बरामद गरेका छौं।’ प्रहरीले पक्राउ परेकाहरूको साथबाट विभिन्न देशका नोट समेत बरामद गरेको छ।

२५ हजार १५१ अमेरिकी डलर, ४७ हजार ७६० साउदी रियाल, २ हजार ६७५ युएई दिराम, २ हजार २२० भारु, ५० जर्जिया लारी, ५ वेलायती पाउन्ड र ४१.५ ओमानी रियल बरामद गरिएको एसएसपी ढकालले बताए। प्रहरीले आइफोन ५ थान, अन्य विभिन्न कम्पनीका मोबाइल ९ थान, ल्यापटप ३ थानका साथै ३३ सय ६४ किलो सुर्तीजन्य पदार्थ नष्ट गरिएको र ५ सय २९ किलो बरामद गरेर नष्ट गर्न बाँकी रहेको बताइएको छ।

अवैध सुन तथा अन्य सामग्री बरामद गर्नुका साथै विमानस्थल सुरक्षामा प्रहरीले नयाँ नीति अवलम्बन गरेको बताएको छ। त्यसका लागि सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै कर्मचारी तथा पासबहाक व्यक्तिले प्रयोग गर्दै आएको भन्सार क्षेत्रबाट माथि अध्यगम तर्फ उक्लने सिढीलाई एकतर्फी बनाइएको छ। भित्र प्रवेश गर्नलाई प्रहरीले चेकजाँचलाई समेत कडाइ गरेको छ। प्रहरी कर्मचारीलाई ड्युटीको समयमा अति आवशयक बाहेक मोबाइल फोनको प्रयोग निषेध गरिएको विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी ढकालले बताए।

ड्युटीमा रहेको प्रहरी कर्मचारीले मोबाइल प्रयोग नगर्दा शंकास्पद व्यक्ति तथा बस्तुको निग्रानी बढ्नुका साथै प्रहरी कर्मचारीको ड्युटीमै केन्द्रित भएको, यात्रुप्रतिको सद्भाव तथा गुनासा सुनेर समाधानमा उल्लेख्य बृद्धि भएको उनको दाबी छ। विमानस्थल क्षेत्रको सुरक्षाका लागि यहाँ रहेका सबै निकायसँगको सहकार्यमा सुरक्षा व्यवस्थालाई सहज बनाइएको उनले बताए।

‘हामीहरू सबैको उद्धेश्य भनेको यहाँ हुने कानुन विपरितका कार्यलाई रोक्दै यात्रुलाई सहज यात्रा गराउनु नै हो,’ एसएसपी ढकालले भने, ‘त्यसका लागि सबै निकायसँग समन्वय गर्दै यात्रुलाई सहज यात्रा गराउन समन्वय तथा सहजिकरण गरिरहेका छौं।’ आन्तरिक उडानतर्फको सुरक्षा चुनौती र कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर फागुन ७ गतेदेखि प्रिन्ट टिकेट वा मोबाइलमा टिकट देखाएपछि मात्रै प्रवेश गर्न दिने व्यवस्था गरेको छ।

प्रकाशित: १३ फाल्गुन २०७८ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App