१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

आन्तरिक पर्यटक लक्षित ‘जाउँ है पोखरा’ अभियान सुरु

वीरगञ्जमा मंगलबार जाउँ है पोखरा अभियान अन्तगर्तको छलफल। तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने उद्देश्य सहित ‘जाउँ है पोखरा’ अभियान सुरु गरिएको छ। आन्तरिक पर्यटक लक्षित यो प्रवद्र्धनात्मक अभियान पश्चिमाञ्चल होटल संघले सुरु गरेको हो। भाइरस संक्रमण कमजोर भएर हिडडुल सहज भएको मौका पारेर अभियान चलाएको संघले बताएको छ।  

सघंले यो पटक बुटवलबाट अभियान केन्द्रीत छलफल तथा भेटघाट सुरु गरेको छ। संघका पूर्व अध्यक्ष भरतराज पराजुलीका अनुसार बुटवल, हेटौंडा, वीरगञ्ज र चितवनमा यो अभियान चल्नेछ। संघले बुटवल, हेटौंडा र वीरगञ्जमा कार्यक्रम गरिसकेको छ। पूर्व अध्यक्ष पराजुलीले आन्तरिक पर्यटकलाई पोखरा र आसपासका क्षेत्रमा घुम्न बोलाउनका लागि जाउँ है पोखरा अभियान चलाइएको बताए।  

‘जाउँ है पोखरा अभियान’ ले पोखराको पर्यटन क्षेत्रमा ठुलो योगदान दिएको छ। आन्तरिक पर्यटकलाई पोखरा भिœयाउन यो अभियानको भूमिका रहेको छ,’ पराजुलीले भने, ‘आन्तरिक पर्यटकलाई घुम्नका लागि पनि यो अभियानले प्रेरणा दिने गरेको छ।’ द्वन्द्वकालमा विदेशी पर्यटक नआएपछि पश्चिमाञ्चल होटल संघले आन्तरिक पर्यटकलाई पोखरा भित्र्याउने गरि यो अभियान सुरु भएको थियो। यो अभियान सुरु हुँदा पोखरामा आन्तरिक पर्यटकको आउजाउको आकार बढिमा पाँचप्रतिशत मात्र थियो। तर, प्रवद्र्धनात्मक अभियान सुरु भएपछि पोखरामा आन्तरिक पाहुनाको आगमन उकालो लाग्न निकै नै माथि उक्लेको व्यवसायीले बताउने गरेका छन।  

जाउँ है पोखरा अभियान स्न २००१ मा सुरु भएको हो। ‘दुुइ दशकको नियमित प्रयासका कारण पोखरामा आन्तरिक पाहुनाको संख्या एकाएक बढेको छ,’ उनले भने, ‘यो आकार अझै माथि बढाउन जरुरी छ। त्यही भएर प्रवद्र्धनात्मक अभियानलाई पनि चलाएका हौ।’ होटल संघका केन्द्रीय सदस्य समेत रहेका पराजुलीका अनुसार कोरोना संक्रमण सुरु हुनुअघि पोखरामा आन्तरिक पर्यटकको अकुपेन्सी करिब ४० प्रतिशत पुगेको थियो। कुनै अवस्थामा त ८० प्रतिशतसम्म अकुपेन्सी उक्लिने गरेको छ। अंग्रेजी नयाँवर्षको अवसरमा त पोखरामा आन्तरिक पाहुनाको संख्या करिब ८० प्रतिशतसम्म पुग्ने गरेको पराजुलीले बताए।  

‘जाउँ है अभियान’  निरन्तरता दिएनौ भने पर्यटनमा अर्थ राख्दैन। यो अभियान सुरु हुँदा पोखरामा नेपालीको आगमन पाँतप्रतिशत रहेकोमा नियमित अकुपेन्सी करिब ४० प्रतिशत  पुगेको,’ पराजुलीले भने, ‘अंग्रेजी नयाँवर्षका अवसरमा त आन्तरिकको संख्या झन्डै ८० प्रतिशतमा नै उक्लिन्छ। अब बाहै्रमास आगमन उकाल्ने लक्ष्य हो।’ उनले पोखरामा आन्तरिक पाहुनाको नियमित आगमन ६० प्रतिशत पुर्‍याउने लक्ष्यका साथ यो अभियान चलाइएको बताए। ‘अब पोखरामा मात्र घुम्नुपर्छ भन्ने छैन। पछिल्लो समय पोखरा आसपासका क्षेत्रमा पनि धेरै गन्तव्य र पूर्वाधार बनेका छन,’ उनले भने, ‘अब पोखरा क्षेत्रमा बसाई लम्बाउन सकिन्छ।’ संघले अन्तर्राष्ट्रिय बजारमा संचालन गर्ने ‘चलिए पोखरा’ कार्यक्रम भने कोरोना संक्रमणका कारण दुइ वर्षदेखि हुन सकेको छैन। चलिए पोखरा भारतीय पर्यटक लक्षित कार्यक्रम हो।

संघले कोरोना संक्रमणका बीचमा पनि अघिल्ला वर्ष यो अभियान संचालन गरेको थियो। ‘कोभिडले पनि नरोकेको अभियान ‘जाउँ है पोखरा’ हो। यो नियमित गतिविधि गरेकै कारणले पोखराले अहिलेको संकटमा पनि राहतको सास फेर्न सकेको छ,’ उनले भने। पूर्व अध्यक्ष पराजुलीका अनुसार पोखरामा अहिलेको अवस्थामा पनि आन्तरिक पाहुनाको संख्या करिब २० प्रतिशत छ। सप्ताहन्तमा त आगमन करिब ३० प्रतिशत हुने गरेको उनले बताए। 

पछिल्लो समय संक्रमण कमजोर बनेको र तराईका सहरबाट गर्मि छल्न आन्तरिक पाहुना पोखरामा आउने भएकोले पनि यो पटकको अभियान तराई क्षेत्रमा लक्षित रहेको उनले बताए। ‘४/५ घण्टामा बुटवल, वीरगञ्ज लगायतका सहरबाट पोखरा पुग्न सकिन्छ,’ उनले भने, ‘कोभिडको गतिसँगै बाच्नुपर्छ र पोखरामा पर्यटक भित्रयाउन पहल गर्नुपर्छ भनेर पहल थालेका हौ।’  

संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली नयाँवर्षका अवसरमा हुने फेवा नववर्ष महोत्सवका पाहुनालाई होटलका कोठामा ३० प्रतिशतसम्म छुट प्रदान गरिने घोषणा गरे। कोभिड–१९ बाट प्रभावित पर्यटनलाई पुनर्जागृत गर्न पोखराका विभिन्न पर्यटकीय सेवा सुविधामा छुट दिने उनले बताए। आन्तरिक पर्यटककै कारण पर्यटन क्षेत्रले राहत महसुस गरेको भन्दै उनले कोरोना महामारीबीचको अप्ठेरोमा पनि पाहुनाको आगमन उत्साहजनक भएको बताए। ‘आन्तरिक पर्यटनकै कारण पर्यटन क्षेत्र टिक्न सकेको छ,’ उनले भने।  

संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले आन्तरिक पनि पर्यटक हुन सक्छन् भन्ने यथार्थ स्थापित गराउन यो अभियान सफल भएको बताए। होटल क्षेत्रमा पोखरामा ठुलो लगानी रहेकोले त्यसको सुरक्षाका लागि पनि आन्तरिक पर्यटन पुनःस्थापनको लक्ष्यसहित अभियान संचालन गरिएको बताए। विदेशी पर्यटकको हकमा हालका दिनमा केही सोधपुछ मात्र हुने गरेको तर बुकिङ नआएको अध्यक्ष तुलाचनले जानकारी दिए। ‘अहिले विदेशीको पनि फाट्टफुट्ट सोधपुछ आउन थालेको छ। तर, पाहुना आएका छैनन,’ उनले भने, ‘आन्तरिककै भरमा हामी थेगिएका छौ।’ पछिल्लो संक्रमण सुरु हुनुअघि पोखरामा आन्तरिक पाहुनाको आगमन निकै नै उकालो लाग्दा व्यवसाइी निकै नै खुसी थिए। तर, संक्रमणका कारण एकाएक आगमन खस्किदा व्यवसायी निराश बनेका थिए।  

प्रकाशित: १० फाल्गुन २०७८ ०९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App