८ वैशाख २०८१ शनिबार
अर्थ

निजगढ विमानस्थलको मुद्दा नटुंगिँदा अन्योल

सर्वोच्च अदालतमा दुई वर्षदेखि विचाराधीन निजगढ विमानस्थलसम्बन्धी मुद्दा पाँचौंपटकको सुनुवाइमा पनि टुंगिन नसकेपछि ‘हेर्दाहेर्दै’ मा परेको छ। लामो समयसम्म मुद्दा टुंगो लाग्न नसक्दा विमानस्थल निर्माणको काम अघि बढ्न सकेको छैन।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले रूख काट्ने निर्णय गरेपछि त्यसविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा टुंगिन नसक्दा हेर्दाहेर्दैमा परेको हो। यो मुद्दा २०७६ फागुन २२ देखि बृहत् पूर्ण इजलासमा विचाराधीन छ।

न्यायाधीशरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासमा बिहीबार मुद्दाको सुनुवाइ भए पनि निर्णय आउन सकेन। सुनुवाइ नसकिएकाले मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ।

दुई वर्षअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा (हाल निलम्बित) र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले उक्त मुद्दाको अन्तिम फैसला गर्ने अधिकार बृहत् पूर्ण इजलासलाई दिने निर्णय गरेको थियो। सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन त्यहाँ रहेका रूख काट्ने निर्णय गरेको थियो। २०७१ फागुन २९ मा विमानस्थलको चार किल्ला घोषणा गरिएको सूचना सोही सालको चैत ३० मा राजपत्रमा प्रकाशित भएको थियो।

रूख काट्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट दर्ता भएका थिए। रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले २०७६ मंसिर २१ मा निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश गरेको थियो। रूख काट्ने सरकारी निर्णय रोक्न माग गर्दै रन्जु हजुर पाँडे क्षेत्रीलगायत नौजना र वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सर्वोच्चमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए।

निजगढको वन मासेर विमानस्थल बनाउने सरकारी निर्णय कार्यान्वयन भए त्यसबाट दीर्घकालीन अपूरणीय क्षति हुने दाबी रिट निवेदनमा गरिएको छ। उनीहरूले रूख काट्ने योजना रोक्न माग गरेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनिएको निजगढको ९० प्रतिशत हिस्सा घना जंगलभित्र पर्छ। विमानस्थल बनाउन २४ लाख ५० हजार ८ सय २१ वटा रूख काट्नुपर्ने निजगढ विमानस्थल वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा देखिएको रिट निवेदकको दाबी छ। यति धेरै संख्यामा रूख काट्दा ठूलो क्षति हुने भएकाले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन रिट निवेदकहरूले माग गरेका छन्।

सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै विमानस्थल बनाउन रूख काट्ने निर्णय स्थगित भएको छ। न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले रूख काट्नुको कारण सरकारसँग माग्दै निर्णय यथास्थितिमा राख्न आदेश गरेको थियो। सरकारले विमानस्थल बनाउन रूख काट्न नपाउँदा सर्वोच्चको निर्णय कुरेर बस्नुपरेको छ।

‘नेपालको वनको अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान छ। वन क्षेत्रलाई कुनै पनि बहानामा विनाश गर्नुहुँदैन। विज्ञको राय, सल्लाह, सुझावविपरीत मनोमानी रूपमा घना वनजंगलका रूखहरू काट्ने, नष्ट र विनाश गर्ने, वन मासेर विमानस्थल बनाउने काम तत्काल रोकिनुपर्छ,’ रिट निवेदनमा माग गरिएको छ। विमानस्थल बनाउँदा मास्ने भनिएको जंगल पर्सा संरक्षित क्षेत्रमा समावेश गर्न, त्यहाँ रहेका कम्तीमा ४ सय वर्ष पुराना साल, अन्य प्रजातिका रूखलाई प्राकृतिक सम्पदा घोषणा गर्न पनि रिटमा माग गरिएको छ। ‘जंगल क्षेत्र पर्सा र चितवन राष्ट्रिय निकुञ्जको नजिक छ। जंगलमा ५ सय प्रजातिका चराचुरुंगी, २२ प्रजातिका लोपोन्मुख बोटबिरुवा, २३ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन्,’ रिट निवेदनमा लेखिएको छ।

प्रकाशित: ६ फाल्गुन २०७८ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App