२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

फागुन ६ गतेदेखि पोखरामा केवलकार चल्ने

फेवाताल माथि निर्माण गरिएको अन्नपूर्ण केवलकार। तस्बिरः उमेश पुन/नागरिक

पोखरामा निर्माणाधिन अन्नपूर्ण केवलकार संचालनको तयारी गरिएको छ। आगामि शुक्रबारदेखि केवलकार संचालनको तयारी भएको हो। करिब दुई अर्ब रुपैयाँ लगानीमा केवलकार तयार भएको हो।  

अन्नपूर्ण केवलकार कम्पनीले फेवाताल नजिकैको सेदीदेखि सराङकोटसम्म केवलकार निर्माण गरेको हो। नेपालीको नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएपनि हाल अनौपचारिक रुपमा सञ्चालन गर्न लागिएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ। कम्पनिका निर्देशक तीर्थराज त्रिपाठीले भने, ‘अहिले सफ्ट ओपनिङ हो, बैशाखदेखि वृहत रुपमा संचालनमा आउनेछ।’ उनका अनुसार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मात्र केवलकार सञ्चालन हुनेछ।

सेदी–सराङकोट चल्ने यो केवलकारको दुइवटा स्टेशन छन्। तल्लो स्टेशन सेदीमा छ भने माथिल्लो स्टेशन सराङकोटको माथिल्लो क्षेत्रमा छ। दुुइहजार १६५ मिटर लामो दुरी रहेको यो केवलकारको यात्रा नौ मिनेटमा पूरा हुने निर्देशक त्रिपाठीले जानकारी दिए। सेदीमा निर्माण गरिएको स्टेशन समुन्द्री सतह भन्दा ८२४ मिटरको उचाईमा छ भने सराङकोटको स्टेशन १ हजार ५ सय २३ मिटरको उचाईमा छ।

जापानी कम्पनि निप्पोनले निर्माण गरेको १७ वटा गोण्डला भएको यो केवलकारमा हरेक गोण्डलामा आठजनाका दरले यात्रु अट्ने निर्देशक त्रिपाठीले बताए। उनका अनुसार एउटा गोण्डला र अर्को गोण्डलाबीचको दुरी २ सय ८८ मिटरको छ भने प्रत्येक ३ सय २५ मिटरमा केवलकारको पोल छ। केवलकारले सामान्यतया प्रति सेकेण्ड ५ मिटर दुरी तय गर्ने उनले बताए। तर यसलाई आवश्यक्ता अनुसार घटबढ गर्न सकिन्छ। प्रति घण्टा ५ सय यात्रु बोक्न सक्ने क्षमता रहेको यस केवलकारमा दैनिक ३ हजार यात्रुले यात्रा गर्ने आयोजकको दाबी छ। यसको अनुमानित खर्च (अप्रेसन कस्ट) अहिल्यै अनुमान गर्न नसकिने महाप्रबन्धक दिनेश पौड्यालले बताए।

केवलकारले नेपाली यात्रुका लागि दुईतर्फी भाडा ७ सय रुपैयाँ तोकेको छ। दक्षिण एसियाली मुलुकका नागरिकले ८ सय र बाँकी अन्य विदेशी पर्यटकका लागि ९ अमेरिकी डलर तोकिएको कम्पनीका महाप्रबन्धक पौड्यालले बताए। उनका अनुसार केवलकारमा यात्रा गर्ने ज्येष्ठ नागरिकलाई ५० प्रतिशत र विद्यार्थीलाई २५ प्रतिशत छुट दिइनेछ।

 १३ वर्ष अगाडी कल्पना गरिएको यस केवलकारले बल्ल सार्थकता पाएको छ। ५ वर्ष अगाडि २ वर्ष भित्रमा सुरु गर्ने भनिएको यो केवलकार ३ वर्ष पछाडि मात्र निर्माण सम्पन्न भएको छ। पछिल्लो पटक लकडाउनका कारण निर्माण कार्यमा ढिलाई हुँदा सञ्चालनमा थप एक वर्ष ढिलाई भएको आयोजकको भनाई छ। ‘आज हाम्रो सपना पूरा भएको छ, यसले वर्षौंदेखि फेवाताल माथि केवलकार चलाउने पोखरेलीको सपनाले सार्थकता पाएको छ,’उनले भने।

केवलकारसँगै तल्लो र माथिल्लो स्टेशनमा रेस्टुरेन्ट पनि तयार भएका छन्। केवलकार चढेर उक्लेका र ओर्लेका यात्रुले ती रेस्टुरेन्टमा खानपिन गर्न सक्नेछन्। त्यसका अलावा माथिल्लो स्टेशन क्षेत्रमा टावर निर्माण गरिएको छ। जहाँबाट अन्नपूर्ण हिमश्रृंखला, माछापुच्छ्रेको दृश्यावलोकन गर्न सकिन्छ भने पोखरा र फेवातालसमेत प्रष्ट देखिन्छ।

केवलकारले पोखराको पर्यटनलाई थप टेवा पुग्ने विश्वास गरिएको छ। पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडको माथिल्लो क्षेत्र सेदी र अर्को पर्यटकीय केन्द्र सराङकोट जोड्ने भएकाले यी दुई क्षेत्र घुम्न बाक्लै मात्रामा पर्यटक आउने अनुमान पर्यटन व्यवसायीको छ। पोखरा आएका मध्ये करिब ९० प्रतिशत पाहुना घुमघामका लागि सराङकोट उक्लिने व्यवसायीको अनुमान छ। सूर्योदय र सुर्यास्त हेर्नका लागि सराङकोटमा अधिक पर्यटक जान रुचाउँछन्।

प्रकाशित: ४ फाल्गुन २०७८ ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App