नेपालका लागि अशोक लेलैन्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत विक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगार अभियान’ सुरु गरेको छ। गुरुजी (सवारी चालक) लाई साहुजी (सवारी धनी) बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान सुरु गरेको जनाएको छ।
यस योजनाअन्तर्गत अशोक लेलैन्डका जुनसुकै लाइट कमर्सियल भेहिकल (दोस्त) सिरिजका सवारीसाधन बिनाधितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा खरिद गर्न सकिनेछ। यी सवारीसाधन खरिद गर्ने ग्राहकले तीन महिनासम्म मासिक किस्ता (इएमआई) तिर्नुनपर्ने सुविधा र आकर्षक ब्याजदरको लाभ लिन पाउनेछन्।
यो योजना आफ्नो साबिक काम छोडी आफ्नै व्यवसाय सुरु गर्ने चालकहरूप्रति समर्पित छ। ‘त्यसैले हामीले यसलाई ‘गुरुजीबाट साहुजी’ योजना भनेका छौं,’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ। यो योजनाले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै स्वरोजगारमूलक काम गर्न चाहनेलाई पनि राम्रो अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।
प्रकाशित: १ फाल्गुन २०७८ ०२:४६ आइतबार





