२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आज (बुधबार) परीक्षणका लागि आएको नेपाल एयरलाइन्सको जहाज। तस्बिर सौजन्यः विनायक भट्टराई

इलाम नगरपालिका–९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आज (बुधबार) परीक्षण उडान गरिएको छ। नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले परीक्षण उडान गरेको हो।  

काठमाडौंबाट करिब ५० मिनेटमा सुकिलुम्बासम्म जहाज आइपुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले जानकारी दिए। उनका अनुसार विमानस्थल अब उडान–अवतरणका लागि तयार छ। ‘सामान्य प्राविधिक काम गर्न बाँकी छ तर अब विमानस्थल उडान–अवतरणका लागि तयार छ,’ उनले भने, ‘लामो समयदेखिको प्रयास अब सफल भएको छ। अब अरू विमान ल्याउन थप परीक्षण गरिरहनु पर्दैन।’  

आउँदो फागुन ८ देखि नियमित उडान हुने भएपछि परीक्षण उडान गरिएको हो। कालोपत्रे भएपछि विमानस्थलमा पहिलो पटक विमान उडान–अवतरण गरिएको छ। चालक दलमा क्याप्टेनद्वय पेम्बा शेर्पा र रक्सित मल्ल थिए। विमानस्थलनजिकका केही ढुंगा हटाउन क्याप्टेन शेर्पाले सुझाव दिएको इन्जिननियर भट्टराईले जानकारी दिए  

यसअघि विमानस्थल कच्ची नै रहेका बेला २०७५ जेठ २१ मा परीक्षण उडान गरिएको थियो। काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्विनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरिएको थियो।

विमानबाट देखिएको इलामको विमानस्थल। 

आउँदो फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले विमानस्थल उद्घाटन गर्ने कार्यक्रम छ। आउँदो फागुन ८ देखि इलाम–काठमाडौं नियमित उडान–अवतरण गर्ने तयारी पनि छ। प्रत्येक आइतबार उडान–अवतरण हुने यसअघि नै निश्चित भएको छ। इलाम नगरपालिकाले १२ उडानका लागि आर्थिकलगायत सबैजसो दायित्व बहनगरी विमानस्थल सञ्चालन गर्न लागेको हो। नगरपालिकाले तारा एयर प्रालिसँग उडानका लागि सम्झौता गरेको छ।

तारा एयरको १६ यात्रुु क्षमताको जहाज यहाँबाट चल्नेछ। इलाम–काठमाडौं एकतर्फी भाडा ८ हजार ७ सय रुपैयाँ तोकिएको छ। सम्झौताअनुसार यात्रु भएकामा बाहेक ११/११ जनाको आते–जाते भाडा इलाम नगरले नै तिर्नेछ। ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे गरिएको छ। विमानस्थल निर्माणका लागि अहिलेसम्म स्थानीयस्तरबाट ४ करोडसहित करिब २८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ।

प्रकाशित: २६ माघ २०७८ ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App