१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

इलाम विमानस्थलमा बुधबार परीक्षण उडान, फागुन १ मा उद्घाटन

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल। तस्बिरः भीम/नागरिक

इलाम नगरपालिका–९ स्थित नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान गरिने भएको छ।

आउँदो फागुन ८ देखि नियमित उडान हुन लागेको विमानस्थलमा मौसम अनुकूल भए बुधबार नेपाल एयरलाइन्सले परीक्षण उडान गर्न लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले मौसमले साथ दिए बुधबार विमानस्थल परीक्षण गरिने बताए। यसअघि विमानस्थल कच्ची नै रहेका बेला २०७५ जेठ २१ मा परीक्षण उडान गरिएको थियो। काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरिएको थियो।

कालोपत्रे भएपछि चाहिँ विमानस्थलमा पहिलो पटक विमान आउन लागेको हो। ताप्लेजुङमा बिहान ७ बजे यात्रु लिएर आउने नेपाल एयरलाइन्सको जहाज सुकेटार विमानस्थलमा यात्रु ओरालेर इलाम आउने उनले जानकारी दिए।

यो विमानस्थल आउँदो फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने भएका छन्। खनाल विमानस्थल उद्घाटनका लागि इलाम आउने तय भएपनि समय यकिन हुन बाँकी रहेको खनालको सचिवालयले जनाएको छ।

यो विमानस्थलबाट आउँदो फागुन ८ देखि इलाम–काठमाडौं नियमित उडान–अवतरण गरिँदैछ। प्रत्येक आइतबार उडान–अवतरण हुने यसअघि नै निश्चित भएको छ। इलाम नगरपालिकाले १२ उडानका लागि आर्थिकलगायत सबैजसो दायित्व बहनगरी विमानस्थल सञ्चालन गर्न लागेको हो। नगरपालिकाले तारा एयर प्रालिसँग उडानका लागि सम्झौता गरेको मेयर महेश बस्नेतले जानकारी दिएका छन्।

अब ३ महिना प्रत्येक आइतबार इलाम–काठमाडौं उडान–अवतरण हुनेछ। तारा एयरको १६ यात्रुु क्षमताको जहाज यहाँबाट चल्नेछ। इलाम–काठमाडौं एकतर्फी भाडा ८ हजार ७ सय रुपैयाँ तोकिएको छ। सम्झौताअनुसार यात्रु भएकामा बाहेक ११/११ जनाको आते–जाते भाडा इलाम नगरले नै तिर्नेछ।  

गत चैत अन्तिम साता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएपनि उडान–अवतरण सुरु गर्नेबेला कोरोनाको महामारी रहेकाले एक वर्षपछि सुरु हुन लागेको हो। विमानस्थल निर्माणमा स्थानीयस्तरको करिब ४ करोड रुपैयाँ लगानी गरिएको नगरले जनाएको छ। विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे भएको छ। विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ।

इन्जिनियर भट्टराईले धावनमार्ग कालोपत्रे, मार्किङ, प्रिन्टिङलगायत सबै काम पूरा भएको बताए। टर्मिनल भवन बन्न बाँकी रहेपनि उडान–अवतरण गर्न अस्थायी भवन बनिसकेको छ। यहाँ विमानस्थल सञ्चालन भएपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन्।

प्रकाशित: २५ माघ २०७८ १४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App