१६ चैत्र २०८० शुक्रबार
अर्थ

उदयपुरमा ‘भूमि आयोग कार्यालय’ खुल्यो

जिल्ला समन्वय समिति भवनमा स्थापित आयोग कार्यालय।

राष्ट्रिय भूमि आयोगको उदयपृुर कार्यालय सोमबारदेखि सञ्चालनमा आएको छ। तत्कालीन केपी ओली सरकारले गठन गरेको ‘भूमि समस्या सम्बन्धी समाधान आयोग’को  कार्यालय रहेकै भवन जिल्ला समन्वय समितिको भुईतलामा ‘राष्ट्रिय भूमि आयोग उदयपुर’ को सोमबार औपचारिक उद्घाटन भएको हो।

ओली कार्यकालमा गठित आयोगको केन्द्रदेखि ७७ वटै जिल्ला आयोगलाई गठबन्धन सरकारले खारेज गरेर भर्खरै ‘राष्ट्रिय भूमि आयोग’ गठन गरेको हो। आयोगले अहिलेसम्म देशका उदयपुरसहित बिभिन्न २८ वटा जिल्ला आयोगमा अध्यक्ष मनोनित गरेको छ। गठबन्धन सरकारको गत पुस २१ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्ष मनोनित गरे पनि सदस्यहरु मनोनित गर्न भने बाँकी नै छ। प्रत्येक जिल्ला आयोगमा ४ जना सदस्य राजनीतिक नियुक्ति गर्ने तथा सम्बन्धित जिल्ला मालपोत, नापी शाखा र डिभिजन वन कार्यालय प्रमु्ख पदेन सदस्य रहने व्यवस्था छ।

उदयपुरको अध्यक्षमामा नेपाली काँग्रेसका नेता बलबहादुर तामाङ नियुक्त भएका छन्। अध्यक्ष नियुक्त भएर जिल्ला फर्केको सातादिनमै तामाङले आयोग कार्यालय खोलेर काम थालेका हुन्। जिल्ला समन्वय समितिमा आयोजित एक कार्यक्रमका बीच आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले कार्यालयको औपचारिक उद्घाटन गरे।

उदघाटन क्रममा अध्यक्ष निरौलाले उदयपुरमा सुकुम्बासी, अव्यवस्थित बसोबास र भूमिहीनहरुको संंख्या बाक्लो रहेको पाइएको भन्दै त्यसको समाधान गर्न आयोग लागिपर्ने बताए । यसअघिको आयोगले गरेका अधुरा कार्यहरू सम्पन्न गर्ने गरी आजैदेखि निरन्तरता दिन उनले नवगठित जिल्ला आयोगका अध्यक्ष तामाङलाई निर्देशनात्मक आग्रह गरे।  

वर्तमान आयोगले छिटो र छोटो अवधिमै जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) बितरण गर्ने गरी काम थालेको भन्दै निरौलाले यसअघिका आयोगहरुको दाँजोमा राम्रो र छिटो काम गरेर इतिहास रच्ने योजना सुनाए। आयोगमा रहेका रिक्त सदस्यहरुको पदपूर्ति यहीँ माघभित्रै गरिसक्ने गरी सरकारले तयारी गरिरहेको भन्दै उनले हिजोको आयोगले गरेका सबै कामको स्वामित्व ग्रहण गर्ने बताए।

‘यसअघिका आयोगहरुले गरेका सबै कामहरुको अपनत्व यो आयोगले ग्रहण गर्छ र छिटोभन्दा छिटो काम सकेर लालपुर्जा बितरण गर्छ’ निरौलाले भने ‘त्यसका लागि स्थानीय सरकारका जनप्रतिनिधिहरुले आफ्नै काम ठानेर सहयोग गर्नु पर्‍यो। राष्ट्रसेवक कर्मचारी साथीहरुले पनि सकारात्मक भूमिका निभाउँदै आयोगलाई छिटो काम गर्नेगरी सहयोग गर्नु पर्‍यो।’ भूमि व्यवस्थापन कार्यमा जनप्रतिनिधिहरु बढी जिम्मेबार हुने भन्दै निरौलाले कर्मचारीहरु पनि आफ्नै काम ठानेर जनप्रतिनिधि र आयोगलाई सहयोग गरे लालपुर्जा बितरण गर्न समय नलाग्ने उनको अनुमान थियो।

अध्यक्ष निरौलाले नवगठित आयोगका जिल्ला कार्यालयहरुमा कार्यालय खोल्ने उदयपुर पहिलो भएको उनले बताए। अन्य कुनै जिल्ला आयोगहरुले अहिलेसम्म कार्यालय नखोलेको र कतिपय जिल्ला आयोग गठन हुनै बाँकी रहेको पनि उनले बताए। कार्यालय खोल्नुको कारण तत्काल र छिटो काम गरेर लालपुर्जा बितरण गर्ने योजना रहेको उनले बताए। आयोगकको जिल्ला समितिमा नापी शाखा, मालपोत तथा डिभिजन वन कार्यालय प्रमुखहरु पदेन सदस्य रहने व्यवस्था छ।

जिल्ला आयोगले उदयपुरका त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिका तथा लिमचुङबुङ, उदयपुरवढी, ताप्ली र रौतामाई गाउँपालिका गरी ८ वटा स्थानीयतह सबैतिर काम थाल्ने जनाएको छ। जिल्ला आयोग अध्यक्ष तामाङले उदयपृुरमा लगभग १५ हजार हाराहारी संख्यामा सुकुम्बासी, अव्यवस्थित र भूमिहीनहरु रहेको बताए। उनीहरुलाई वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रदान गर्न आयोगले आजैदेखि काम थाल्ने र तदारुक्ताका साथ काम गरेर लालपुर्जा बितरण गर्ने अध्यक्ष तामाङले बताए।

जिल्ला कार्यालय उद्घाटनपछि केन्द्रीय अध्यक्ष निरौला र जिल्ला अध्यक्ष तामाङ त्रियुगा नगरापालिकाद्वारा आयोजित ‘त्रियुगा नगरपालिका र राष्ट्रिय भूमि आयोगबीच अन्तरक्रिया कार्यक्रम’ मा सहभागी भए। कार्यक्रममा नगरप्रमुख बलदेव चौधरीले बाउबाजेको पालादेखि जोतभोग गर्दै आएको जमिन नाति पुस्तासम्म पनि लालपुर्जा पाउन नसक्ने दुःखद अवस्थाको अन्त्य गर्न आयोगसँग आग्रह गरे। उनले कतिपय नगर जनप्रतिनिधि नै लालपुर्जाविहीन जमिनमा घर बनाएर बस्दै आएको यथार्थता सुनाए।

मेयर चौधरीले त्रियुगा नगरपालिकाले ओली सरकारले आयोग गठन गर्नुभन्दा पहिले नै ०७५ सालमा ‘नगरस्तरीय सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबास व्यवस्थापन समिति’ गठन गरेर ऐलानी जग्गाको लगत संकलन कार्य गर्दै आएको बताए। उनले पुस्तौँदेखि भोगचलन गर्दै आएको जमिनको स्वामित्व जग्गाधनीलाई दिलाउने योजना अन्तरगत नगरपालिकाका १६ मध्य ६ वटा वडामा लगत संकलन कार्य सकिएको बताए। गएको चुनावमा हरेक राजनीतिक दलहरुले अव्यवस्थित बसोबास र भूमिहीनहरुको समस्या समाधान गर्ने भनी साझा अवधारणा मिल्ने गरी घोषणापत्र जारी गरे अनुसार त्रियुगाले यो काम थालेको चौधरीले बताए।

अन्तरक्रियामा त्रियुगा २ र १० का वडाध्यक्षहरु क्रमशः घमानसिंह खत्री र प्रकाश खड्का तथा अन्य सहभागीले आउँदो जेठमा चुनाव गर्ने तयारी भईरहेको हुनाले चुनावी आचारसंहिता लागू भएपछि आयोगले काम गर्न सक्ने कुरामा प्रश्न गरेका थिए। जवाफमा केन्द्रीय अध्यक्ष निरौलाले चुनावले आयोगकको काममा कुनै अवरोध नगर्ने भन्दै आयोगको संयन्त्र लालपुर्जा बितरण नभएसम्म निरन्तर काममा लागिरहने आश्वासन दिएका थिए।

प्रकाशित: १७ माघ २०७८ १४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App