२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटकीय पूर्वाधार बने तर, चल्नै नपाई थला परे

राम्रोसँग ओपनिङ गर्न पनि पाएनौः व्यवसायी

पर्वतको कुश्मामा संचालित जीपलाइनमा रमाउँदै आन्तरिक पाहुना। तस्बिर सौजन्यः राजकुमार बस्नेत

पर्वतमा कालिगण्डकी नदीमाथि साहसिक पर्यटकीय गतिविधि संचालन गर्नेगरि जीपलाइनका पूर्वाधार तयार पारियो। एकवर्ष लगाएर तयार पारेको उक्त जीपलाइन गत पुस २४ गतेदेखि संचालनमा ल्याएको भएपनि पूर्ण आकारमा चल्नै पाएन। एकाएक कोरोना संक्रमणको त्रासको मारमा जीपलाइन प¥यो। पूर्ण रुपमा बन्द नभएपछि जीपलाइनमा रमाउने पर्यटक फाट्टफुट्ट बाहेक छैनन्।

हार्नेस जिपलाईन प्रालिले संचालन गरेको यो जीपलाइन १४ सय ८० मिटर लामो छ। जीपलाइनका एकजना संचालक राजकुमार बस्नेत कोरोना संक्रमणको हल्ला चलेसँगै एकाएक पर्यटक आगमनमा ब्रेक लागेको बताउँछन। ‘निकै नै राम्रो अपेक्षा थियो। तर, पूर्ण क्षमतामा संचालन गर्नै पाएनौ। पर्यटक आगमन बढ्नै थाल्दा एकाएक रोकियो,’ बस्नेतले भने, ‘अहिले ग्राहकको पर्खाइमा छौं। कोभिडको हल्ला चलेसँगै पाहुना आगमन एकाएक रोकिँदा नयाँ प्रडक्टलाई मार परेको छ।’  

उनका अनुसार कालिगण्डकीमाथि रमाउँदै यहाँ जीपलाइन गर्न पाइन्छ। यसको माथिल्लो स्टेशन कुश्मा नगरपालिका–५ चाक्लेको डिलमा पर्छ। बटम स्टेशन कुश्मा नगरपालिका ४ साउनेबगरमा पर्छ। यहाँ जीपलाइन गर्दा कालिगण्डकी नदी दुईपटक पार गर्न पाइन्छ। कालिगण्डकीदेखि २५० मिटर माथिको चाक्लेको डिलबाट जिपलाइन गरेर नदीबाट ३० मिटर माथिको बटम स्टेशनमा पुगेर ओर्लिन सकिन्छ। प्रतिघण्टा १ सय ३० किलोमिटरको गतिमा यहाँ जीपलाइन गर्न सकिन्छ । करिब डेढमिनेटमा जीपलाइनको अनुभव पुरा हुन्छ।  

‘एकवर्षदेखिको मेहनतले बल्लतल्ल चल्नयोग्य बनाएका थियौ। तर, एकाएक ढोका लागे सरह भएको छ,’ उनले भने, ‘पाहुनाले निकै नै रुचाएको प्रडक्टमा एकाएक मार परेको छ।’ उनका अनुसार जीपलाइनमा मात्र करिब साढे ३ करोड रुपैयाँ खर्च भएको छ। त्यसबाहेक यही कम्पनि अन्तर्गत रिसोर्ट, स्वीमिङ पुल सहितका पूर्वाधार बनाउने योजना रहेको उनले बताए।  

करिब १५ करोड रुपैयाँ लगानीको योजना बनाएपनि कोरोनाको मारमा परेको बस्नेतको गुनासो छ। ‘सरकारले लगानीकर्तालाई सहज बनाउने हो भने साहसिक पर्यटकीय पूर्वाधारमा लगानी अझै थपिन्छ। तर, यहाँ माहोल नै बनेन, चल्नै नपाई बन्द हुने अवस्था आयो,’ उनले भने। उनका अनुसार एकवर्ष अघि निर्माण थालेको जीपलाइन बीचमा कोरोनाकै कारण चारमहिना काम रोकिएको थियो। अहिले फेरि चल्ने बेलामा मार परेको उनले बताए। 

‘नजिकै अरु पनि साहसिक पर्यटकीय पूर्वाधार भएकोले हामीलाई निकै नै सहज भएको थियो। पाहुना पनि निकै नै रमाउन पाएका थिए, तर, चल्नै नपाई ढोका लागे सरह भयो,’ उनले भने, ‘कोरोनाको त्रास वर्षेनी थपिने, तर, सरकारी निकायबाट सहयोग नपाउँदा साहसिक पर्यटकीय पूर्वाधारमा लगानी गर्न खोज्नेहरु हतोत्साही हुने देखिएका छन।’

पोखरामा संचालित जायन्ट स्विङमा रमाउँदै। तस्बिरः हाइग्राउण्ड एडभेन्चर  

जीपलाइनसँगै कालिगण्डकीमाथिकै स्काई साइक्लिङलाई पनि कोरानाको उत्तिकै मारमा परेको छ। द क्लिफ नेपाल प्रालिले कालिगण्डकीमाथि स्काई साइक्लिङका पूर्वाधार तयार पारेको छ। पर्वतको कुश्मामै कालिगण्डकी नदीमाथि ५ सय २० मिटर लामो पुलमा २ सय २८ मिटर अग्लो बन्जी संचालन गरेको द क्लिफ नेपाल प्रालिले एकमहिना अघि मात्र स्काई साइक्लिङ तयार पारेको थियो। तर, संचालनमा आउनै नपाई स्काई साइक्लिङ पनि कोरोनाको मारमा परेको छ।  

संचालक राजु कार्कीका अनुुसार स्काई साईक्लिङमा एककरोड रुपैयाँ लगानी भएको छ। दुईतर्फी ६ सय मिटर दुरीमा यहाँ स्काई साइक्लिङ गर्न पाइन्छ। ‘एकमहिना अघिदेखि संचालनमा ल्याएको स्काई साइक्लिङ पूर्ण रुपमा चलाउनै पाएनौ,’ कार्कीले भने, ‘जसोतसो पुर्वाधार बनाएका थियौ। तर, संचालन गर्ने बेलामा कोरोनाको मारमा परिहाल्यो ।’ यही कम्पनिले स्काई रेस्टुरेन्ट पनि सुरु गर्ने तयारी छ। तर, त्यो पनि संचालनमा अन्योलता छाएको उनले बताए । ‘हामीले पूर्वाधार त बनाएका छौ। तर, जहिले पाहुना आउँछन, त्यही बेलादेखि संचालन गर्ने हो,’ कार्कीले भने।

यस्तै मारमा पोखरामा हालै संचालनमा आएको जायन्ट स्विङमा पनि परेको छ। हाइग्राउण्ड एडभेन्चर्स नेपालले पोखरामा जायन्ट स्विङ भिœयाएको छ। हालै मात्र संचालनमा आएको यो पूर्वाधार पनि कोरोनाको मारमा परेको छ। माघ १ देखि जायन्ट स्विङ संचालन गरेपनि एकाएक पाहुनाको आगमन रोकिँदा अप्ठेरो परेको कम्पनिका निर्देशक दिनेश महर्जनले बताए।  

‘आन्तरिक पाहुनाको आगमन निकै नै राम्रो हुँदा हामी निकै नै हौसिएका थियौ। तर, एकाएक पाहुनाको आगमन रोकियो,’ महर्जनले भने, ‘यतिसम्म की ओपनिङ पनि राम्रोसँग गर्न पाएनौ।’ जायन्ट स्विङ संचालनको तयारी भइरहँदा पोखरामा आन्तरिक पाहुनाको आगमन निकै नै राम्रो रहेकोमा एकाएक पाहुनाको हिडडुल नै रोकिने गरि कोरोनाले त्रसित बनाएको महर्जनले बताए। पिङ खेलेजस्तै अनुभूति दिलाएर पर्यटकलाई रोमाञ्चक बनाउन जायन्ट स्विङ भिœयाएको कम्पनिले बताएको छ।  

उनका अनुसार जायन्ट स्विङमा मात्र अहिले दुईकरोड रुपैयाँ खर्च भएको छ। ‘आन्तरिक पाहुना बढिरहँदा हामी निकै नै हौसिएका पनि थियौ। तर, एकाएक कोरोनाले अप्ठेरो पारेको छ। पूर्ण आधारमा संचालनमा आउन नपाउँदै ढोका थुने सरह भएको छ,’ महर्जनले भने, ‘यो अप्ठेरो लामो समय नहोला भन्ने अपेक्षा छ।’ यही कम्पनिले पोखरामा जीपलाइन र बञ्जी पनि संचालन गरिरहेको छ।  

प्रकाशित: १५ माघ २०७८ ११:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App