coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मोरङ व्यापार संघको अध्यक्षमा रिजाल

मोरङ व्यापार संघको अध्यक्षमा नविन रिजाल चयन भएका छन्। यसअघि मोरङ व्यापार संघको वरिष्ठ उपाध्यक्ष रहेका रिजाल ३३ औं कार्यसमितिको अध्यक्षमा चयन भएका हुन्।

वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, बाणिज्य तर्फको उपाध्यक्षमा अनिलकुमार साह, उद्योग तर्फको उपाध्यक्षमा विकासकुमार वेगवानी, महासचिवमा अनिल सारडा, सचिवमा संजय श्रेष्ठ र कोषाध्यक्षमा राजेश अग्रवाल चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा अमित सारडा, विनित सिंघानिया, मनिष मारु, श्याम राठी, सुशिल सुराना, आशिष जाजु छन्। यस्तै दिपेश सुवेदी, देवाशिष गोल्छा, पवन राठी, चन्द्र भट्टराई, अमित राठी, विवेश अग्रवाल, अरविन्द्र अग्रवाल, गोपाल अग्रवाल, बन्दना जैन र ओमप्रकाश शर्मा कार्यसमिति सदस्यमा चयन भएका छन्।

यसैबीच बिहीबार व्यापार संघका नव निर्वाचित अध्यक्ष नविन रिजालसहित नव निर्वाचित २४ सदस्यीय कार्यसमितिका पदाधिकारीहरूले एक समारोहबीच पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै नव निर्वाचित अध्यक्ष नविन रिजालले १७ बुँदे प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो कार्यकालमा सरकारले आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने परिपाटीलाई परिवर्तन गर्न नीतिगत व्यवस्थाका लागि पहल गर्ने बताए। तीव्र औद्योगिकरणका लागि तरलता अभावको समस्या दीर्घकालीन रुपमा समाधानको पहल गर्ने, अस्थिर व्याजदर, विद्युत महशुल ढुवानी खर्च, आदिलाई सहुलियत दरमा ल्याउने उनको योजना छ।

यस्तै संघद्वारा सञ्चालित मेरो देश मेरै उत्पादन अभियान अन्तर्गत व्यापार घाटा न्यूनीकरण तथा रोजगारी अभिवृद्धि सम्बन्धी कार्ययोजना अघि बढाउने, विराटनगर जोड्ने मिरगञ्ज पुलको सास्या निराकरणका लागि पहल गर्ने, प्रदेश स्तरीय प्रदर्शन स्थल निर्माण कार्य थालनी गर्न पहल गर्ने कार्ययोजना उनले अघि सारेका छन्। औद्योगिक क्षेत्रको स्थापनाका लागि समन्वय गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थल निर्माणका लागि पहल गर्ने, प्रदेश १ मा धार्मिक, मेडिकल, खेलकुद, पर्यटन तथा कृषि क्षेत्रको प्रवर्द्धनका लागि प्रदेश सरकारसँग पहल गर्ने, विराटनगरको शान्ति सुरक्षाका लागि सिसिटिभीको व्यवस्थापन गर्ने र  शहरको सौन्दर्यीकरण गर्ने रिजालको योजान छ।

यस्तै स्थानिय बजार प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, स्टार्टअपको प्रवर्द्धनका लागि कार्यहरू अघि बढाउने, सीमा क्षेत्रसहित अन्तर्राष्ट्रिय उद्योग बाणिज्य संघहरूसँग समन्वय गर्ने उनको योजना छ।

कोभिड खोपलाई सहज उपलब्धता एवम् निरन्तरता दिनका लागि पहल गर्ने, संघका शाखाहरूको सुदृढिकरण गर्दै क्रियाशील बनाउने, सञ्चार माध्यमसंग सहकार्य गरी औद्योगिक प्रवर्द्धन तथा नीतिगत सुधारका लागि विशेष कार्यक्रमहरू ल्याउने, केन्द्र एवं प्रदेश सरकारका सम्बन्धित मन्त्रालयका मन्त्री तथा उच्च पदाधिकारीसँग प्रत्यक महिना भेटघाट गरी समसामयिक समस्याको छलफल गरी समाधानको बाटो खोज्ने रिजालले कार्ययोजना अघि सारेका छन्।

मोरङ व्यपाार संघका निवर्तमान अध्यक्ष प्रकाश मुण्दडाले नव निर्वाचित अध्यक्ष नविन रिजाललाई पदभार हस्तान्तरण गरेका थिए।

प्रकाशित: १३ माघ २०७८ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App