१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

वाणिज्य बैंकहरूको ६ महिने प्रगति: १४ बैंक अर्ब रूपैयाँ क्लबमा

सञ्चालनमा रहेका २७ मध्ये २३ वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) को वित्तीय विवरण प्रकाशित गरेका छन्।  

हालसम्म आधा वर्षको विवरण प्रकाशित गर्ने बैंकमध्ये १४ बैंकले अर्ब रूपैयाँभन्दा बढी आम्दानी गरेका छन्। ९ बैंकको आम्दानी अर्ब रूपैयाँभन्दा थोरै छ।  

२३ बैंकहरूले औसतमा ११.६४ प्रतिशतले नाफा वृद्धि गरेका छन्। ४ वाणिज्य बैंकले भने पछिल्लो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छैनन्। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तिनै बैंकहरूले २६ अर्ब ५० करोड रूपैयाँ नाफा गरेकोमा चालु वर्षको सोही अवधिमा नाफा वृद्धि गरी २९ अर्ब ५९ करोड ३० लाख रूपैयाँ पुर्‍याएका छन्।  

६ महिनामा सबैभन्दा धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक छ। यसले साउनदेखि पुससम्म २ अर्ब ६६ करोड ३३ लाख रूपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १५ प्रतिशतले बढी हो।  

त्यस्तै करिब साढे १६ प्रतिशतले नाफा वृद्धि गरेको एनआइसी एसिया बैंकले ६ महिनामा दुई अर्ब ४० करोड २० लाख रूपैयाँ नाफा गरेको छ। ६ महिनाको अवधिमा बढी नाफा गर्नेमा नबिल बैंक तेस्रो नम्बरमा झरेको छ। उक्त बैंकले गत वर्षको सोही अवधिको तुलनामा ८.२० प्रतिशतले मात्र नाफा बढाउँदा कुल नाफा २ अर्ब १८ करोड १४ लाख रूपैयाँ पुगेको छ।  

६ महिनाको अवधिमा प्रतिशतको हिसाबले सबभन्दा बढी नाफा सिभिल बैंकले वृद्धि गरेको छ। उक्त बैंकले यस अवधिमा गरेको ५० करोड ४० लाख रूपैयाँ नाफा अघिल्लो वर्षको तुलनामा १४८.४१ प्रतिशतले बढी हो। त्यस्तै सिद्धार्थ बैंकले ७१.६८ प्रतिशतले नाफा बढाएको छ। सेन्चुरी कमर्सियल बैंकले ५४.७७ र नेपाल एसबिआई बैंकले करिब ५२ प्रतिशतले नाफा बढाएका छन्।

६ महिनामा अर्बपति क्लबमा पुगेका बैंकहरूमा ग्लोबल आइएमई ( दुई अर्ब ६६ करोड) एनआइसी एसिया (दुई अर्ब ४० करोड), नबिल (दुई अर्ब १८ करोड रूपैयाँ) रहेका छन्। त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक (एक अर्ब ९१ करोड) प्राइम कमर्सियल (एक अर्ब ६७ करोड), नेपाल इन्भेस्टमेन्ट (एक अर्ब ६२ करोड) र सिद्धार्थ बैंक (एक अर्ब ५७ करोड रूपैयाँ) पनि अर्बपति क्लबमा पुगेका छन्।

सोही अवधिमा अर्ब रूपैयाँभन्दा बढी नाफा गर्ने अन्य बैंकहरूमा मेगा (१ अर्ब ४० करोड), प्रभु (१ अर्ब २६ करोड), सिटिजन्स (एक अर्ब २४ करोड), स्ट्यान्डर्ड चार्टर्ड (एक अर्ब आठ करोड), सानिमा (१ अर्ब ७ करोड) र माछापुच्छ्रे (१ अर्ब १ करोड रूपैयाँ) छन्।

पाँच बैंकको नाफा घट्यो

चालु आर्थिक वर्षको ६ महिनामा पाँच बैंकको भने नाफा घटेको छ। नाफा घटेका बैंकहरूमा प्रभु, एभरेस्ट, नेपाल बंगलादेश, कुमारी र प्राइम हुन्। गत वर्षको सोही अवधिको तुलनामा नाफा घटे पनि प्रभु र प्राइम बैंक अर्बपति क्लबमा छन्। प्रभु बैंकको नाफा १६.९० र प्राइम बैंकको नाफा ७.४३ प्रतिशतले घटेको हो।

नौ बैंक अर्बपति क्लबबाहिर

वित्तीय विवरण प्रकाशित गरेका बैंकमध्ये ९ वटा अर्बपति क्लबमा प्रवेश गर्न सकेका छैनन्। नाफा धेरै वृद्धि गरे पनि सिभिल, सेन्चुरी बैंक अर्बपति क्लबभन्दा बाहिरै छन्।

त्यस्तै लक्ष्मी, नेपाल एसबिआई, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी, नेपाल बंगलादेश र एभरेस्ट बैंकले पनि ६ महिनामा एक अर्ब रूपैयाँभन्दा थोरै नाफा गरेका छन्। नेपाल बैंक, एनएमबि, सनराइज र हिमालयन बैंकले ६ महिनाको वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ।

११ बैंकको निक्षेप घट्यो

पुस मसान्तसम्म ११ वाणिज्य बैंकको निक्षेप घटेको छ। असार मसान्तसम्मको तुलनामा पुस मसान्तसम्म ११ बैंकबाट करिब ४५ अर्ब रूपैयाँ निक्षेप घटेको हो। राष्ट्रिय वाणिज्य, कृषि विकास, बैंक अफ काठमाण्डू, सेन्चुरी, ग्लोबल आइएमई, मेगा, नेपाल बंगलादेश, नेपाल इन्भेस्टमेन्ट, एनआइसी एसिया, प्रभु र स्टान्डर्ड चार्टर्डको निक्षेप घटेको हो। यस अवधिमा सबभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको १९ अर्ब ८९ करोड रूपैयाँ निक्षेप घटेको छ।

असार मसान्तसम्म ४२ खर्ब १ अर्ब ३९ करोड रूपैयाँ निक्षेप संकलन भएकोमा पुस मसान्तसम्म ४३ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ निक्षेप संकलन भएको बैंकर्स संघले जनाएको छ। सोही अवधिमा वाणिज्य बैंकहरूले ४ खर्ब २२ अर्ब १७ करोड रूपैयाँ कर्जा बढाएका छन्। असार मसान्तसम्म कुल ३७ खर्ब २० अर्ब ७५ करोड रूपैयाँ कर्जा प्रवाह भएकोमा ६ महिनामा बढेर ४१ खर्ब ४२ अर्ब ९२ करोड रूपैयाँ पुगेको छ।

प्रकाशित: १० माघ २०७८ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App