४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

घुम्टो उघार्दै छोप्दै जनकपुर-जयनगर रेल

२०७७ असोजमा धुमधामले स्वागत गरेर भित्र्याइएको रेल सेटको शनिबार पुनः परिक्षण गरिएको छ। धनुषाको इनर्वा स्टेसनमा १५ महिनादेखि थन्क्याइएको रेल सञ्चालनका लागि परिक्षण गरिएको हो। जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल्वे लिकमा रेल गुडाएर परिक्षण गरिएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। ‘रेल चल्ने मिति त ठ्याकै भन्न सक्दिन तर छिट्टै रेल चलाउने तयारीमा छौं,’ महाप्रबन्धक झाले भने, ‘रेल चल्ने कुरामा ढुक्क हुनुस्।’

यसअघि भौतिक पूर्वाधार तथा यतायात मन्त्री रेणु यादवले जनकपुरधाम रेल्वे स्टेसनको लिक निरीक्षण गर्न आएका बेला यसै चालु वर्षभित्र रेल सञ्चालनमा आउनेछ बताएकि थिइन। कानुन, बजेट र प्राविधिक त्रुटिलाई सच्याएर रेल सञ्चालन गर्ने कार्यलाई तदारुक्ताका साथ अघि बढाइएको बताए लगत्तै रेल्वे सम्बन्धि अध्यादेश प्रमाणीकरण भएको थियो।

घुम्टो उघार्दै छोप्दै  

रेल सेट भित्रीएको दश महिनापछि गत्त साउनमा सञ्चालन हुनुअघि गरिने रेल्वे लिकमा गति परीक्षण यकीन गर्दा यस भेगका जनतामा खुसीको तरंग पैदा भएको थियो। ‘अब रेल चल्ने भयो’ भनेर जनतामा छाएको खुसी धेरै समय टिक्न सकेनन्। कानुनी अडचन, कर्मचारी तथा बजेट अभाव लगायतका जटिलताले रेल लामो समय थन्किँदा जनता निराश बने। शनिबार रेलको घुम्टो उघारेर रेल्वे लिकमाथि रेल दौडेको देखेर जनतामा पुनः उत्साह संचार भएको छ।

न्यारोगेजमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर रेल ब्रोडगेजमा चलाउन २०७७ असोजमा परिक्षण सेवा सुरु गरिएको थियो। न्यारोगेजमा चल्ने रेल बन्द भएको झन्डै ६ वर्षपछि ब्रोडगेजमा रेल चलाउन लागिएको हो, जुन नेपालको इतिहासमा पहिलो हो।

नेपालमा पहिलो पटक १९८४ सालमा बेलायत सरकारको सहयोगमा रक्सौल–अमलेखगन्ज रेल सेवा सञ्चालनमा आएको थियो। त्यो रेल सेवा ३८ वर्षपछि २०२२ सालमा बन्द भएको थियो। उक्त रेलसेवाले तराई–मधेसका मात्र नभई पहाडका मानिसलाई समेत काठमाडौं पुग्न मद्दत पुर्‍याएको थियो। पहाडका मानिस तराई झरेर भारत हुँदै रेलबाट अमलेखगन्ज पुग्थे। त्यहाँबाट पैदल काठमाडौंको यात्रा तय गर्थे। त्यसपछि १९९४ मा जयनगर–जनकपुर–बिजलपुरा रेल चल्यो। जसलाई नेपालको पहिलो न्यारोगेज रेल भनिन्थ्यो। करिब ५२ किलोमिटरमा सो रेल कोइलाबाट चल्थ्यो। 

पछि डिजेल इन्जिन सुरु भयो। त्यो बेला रेल सेवा यात्रुभन्दा पनि मालसामान ओसारपसार गर्न सञ्चालन गरिएको थियो। पछि त्यसमा मानिस बस्ने बोगी थपियो। ७६ वर्षपछि २०७१ माघमा यो रेल सेवा पनि बन्द भयो। यो रेल सेवा बन्द भएपछि यस भेगका जनताको भारतीय बजार जयनगरसँगको द्रुत सम्पर्क पनि रोकियो। जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन हुँदै आएको त्यो रेल सेवा २०५८ सालदेखि जयनगर–जनकपुरमा सीमित भएको थियो। कारण थियो, महोत्तरीको बिजलपुरा खण्डमा भत्केको पुल मर्मत् नहुनु।

भारत सरकारको आर्थिक सहयोगमा ६ वर्षदेखि जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म ब्रोडगेज रेल सेवाका लागि रेल्वे निर्माण भइरहेको छ। जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्मको रेल्वे निर्माण पूरा भए पनि गत्त वर्ष असोजमा जनकपुर–जयनगरसम्म मात्र रेल सेवा परीक्षण सुरु गरिएको थियो। नेपाल सरकारले एक वर्षअघि ८४ करोड ६५ लाख रूपैयाँमा दुई सेट रेल खरिद गर्न भारतीय कम्पनीसँग सम्झौता गरेको थियो। रेल विभागका जनकपुर साइटका अनुसार एक हजार तीन सय सिट क्षमताको यो रेलमा भारतका विभिन्न मध्यम दूरीमा चल्ने ‘इन्टर सिटी एक्स्प्रेस’ कै सुविधा जडान गरिएको छ।

दुईवटा इन्जिन रहेको यस रेलमा अगाडिकोलाई मुख्य अर्थात् पावर र पछाडिकोलाई टेलर कार भनिन्छ। यो रेलको स्पिड प्रतिघन्टा ११० किलोमिटर छ। तर जनकपुर–जयनगर ब्रोडगेज रेल्वे प्रतिघन्टा १०० किलोमिटर स्पिडको डिजाइनमा बनाइएको छ। विभागले गत्त वर्ष असोज महिनामै नेपाल रेल्वेलाई दुवै रेल हस्तान्तरण गरेको छ। रेल नेपाल रेल्वेले चलाउने छ। रेल बनाउन भारतीय कम्पनी इन्टरनेसनल कोच फ्याक्ट्रीलाई जिम्मा दिइएको थियो। यो कम्पनी रेल निर्माणका लागि भारतमा अग्रणी मानिन्छ। अहिले यो रेल जनकपुर–जयनगर–कुर्थासम्म ३५ किलोमिटरमा सञ्चालन हुनेछ। पछि महोत्तरीको बिजलपुरसम्म विस्तार गर्ने योजना छ। त्यहाँबाट पनि बर्दिबाससम्म रेल चलाउने योजना छ।

रेल संचालनमा झेल

भारत सरकारले जयनगर–जनकपुर र कुर्था खण्डको ३५ किलोमिटरमा रेलको ब्रोडगेज लिंक, प्लेटफर्म र स्टेसनको निर्माण सकेको दुई वर्षभन्दा बढी भयो। सरकारले आफ्नै लगानीमा दुई सेट रेल खरिद गरेपछि यो रुटमा रेल नियमित सञ्चालन हुनेमा सबै ढुक्क थिए। अहिलेसम्म रेल नचल्दा सबै निराश छन्। रेल सेटलाई सशस्त्र प्रहरीको इनर्वा बीओपीले रेखदेख गरिरहेको छ। हरेक सिफ्टमा पाँच जना सुरक्षाकर्मी खटिने गरेका छन्।

गत्त वर्ष राम–जानकी विवाहपञ्चमीमा रेल सञ्चालनमा आउने तयारी गरिए पनि भाखा टर्यो रेल चलेन। भारतबाट ल्याइएका १६०० एचपी डेमुका दुई सेट रेललाई बेला–बेलामा प्राविधिकहरूले भने स्टार्ट गरेर १० देखि २० मिटर अगाडिपछाडि चलाएर फेरि त्रिपालले छोपेर राखिदिन्छन्। रेल चलाउने जिम्मेवारी पाएको नेपाल रेलवे कम्पनीसँग न जनशक्ति छन्, न त सेवा सञ्चालनका लागि कानुन नै बन्न सकेको छ। भारत सरकारबाट निर्माण भएका ट्रयाकका संरचना अझै विधिवत् हस्तान्तरण भइसकेका छैनन्।

रेल्वे विभागले गत भदौ ९ मा रेल सञ्चालनका लागि २९ पदमा १२९ कर्मचारीका लागि दरखास्त आह्वान गरेको थियो। सो पदमा ३२ हजार ६ सय ६८ जनाले दरखास्त दिएपनि विज्ञापन नै स्थगित गरियो। आवेदकबाट १ करोड ३६ हजार ६ सय रूपैयाँ रेल्वे विभागले असुल गर्यो। विज्ञापन स्थगित गरेपछि आवेदकहरूलाई शुल्क फिर्ता गरिएको छैन। पहिलो विज्ञापन रद्द गरेपछि पुनः कर्मचारी भर्नाका लागि विज्ञापन गरिएको छैन।

रेल्वे विभागका तत्कालिन प्रबन्ध निर्देशक गरूप्रसाद भट्टराईले ज्यालादारीमा १५० कर्मचारी नियुक्त गरेका थिए। देउवा नेतृत्वको सरकार आएपछि भट्टराईलाई हटाएर निरञ्जन झालाई प्रबन्ध निर्देशक नियुक्त गर्यो। झा आएपछि ज्यालादारीका सबै कर्मचारीलाई हटाए। प्रबन्ध निर्देशक झाका अनुसार अब रेल संचालनका लागि झेल छैन केहि कामहरू पूरा भएपछि छिट्टै संचालनमा आउँछ।

प्रकाशित: २५ पुस २०७८ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App