२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नियमविपरित असुली रोक्न यातायात व्यवसायीको ज्ञापन

वीरगन्ज बस टर्मिनल। तस्बिरः रितेश त्रिपाठी

यातायात व्यवासायीहरुले वीरगन्ज बस टर्मिनलमा ठेकेदारले नियमविपरित असुली गरेको भन्दै त्यसलाई रोक्न वीरगंज महानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।

यातायात व्यवसाय सम्बद्ध संस्थाहरुले वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीलाई उनको कार्यकक्षमै पुगेर ज्ञापन बुझाए। ठेक्का पट्टामा तय भए अनुसर बसपार्क संचालनको ठेक्का लिएकोले प्रत्येक बसबाट बसपार्क प्रयोग गरेबापत ६७ रुपैयाँ ८० पैसा एक पटक लिनु पर्नेमा प्रवेश र निकास गरेको बेग्लाबेग्लै रसिद काटी एक सय ४० रुपैयाँ अर्थात दोब्बरभन्दा पनि बढी रुपैयाँ असुल गरिरहेको यतायात व्यसायीले लिखित गुनासो गरेका छन्।

‘कोभिड–१९ का कारण हामी बस व्यवसायीहरु अत्यन्तै नाजुक अवस्थमा पुगेको परिस्थितीमा वीरगंजस्थित बस टर्मिनलका ठेकेदार कम्पनीले गत श्रावण महिनादेखि हामीसँग भएका पूर्व सहमतिहरुलाई तोड्दै आफूखुसी टर्मिनल भित्र हाम्रा बसहरु पस्दा र निस्किँदा दुईतर्फी नै रकम असुल्ने गरेको छ,’ ज्ञापनमा छ, ‘उल्लेखित समस्याहरुको सामाधान र बस टर्मिनललाई सुव्यवस्थित रुपले सञ्चालन गर्नको लागि बस टर्मिनल अनुगमन समितिको निर्माण गरिदिनु।’

मुख्य मागको रुपमा राखिएको टर्मिनलले असुल गरिरहेको दोहरो शुल्कको विषयमा भने नगर सभाबाट सम्बोधन भएपछि मात्र एकतर्फी टर्मिनलको ठेकेदार कम्पनीले जनाएको बस व्यवसायीले बताए। यही पुस १५ मा हुन लागेको वीरगन्जको नगरसभामार्फत यसको सम्बोधन गर्न उनीहरुले नगरप्रमुखलाई आग्रह समेत गरे। नगरप्रमुख सारवगीले बस व्यवसायीहरुको माग सम्बोधन गर्ने गरी नियमसंगत ढंगले महानगरपालिकाले पहल गर्ने प्रतिक्रिया दिए। बागमती प्रदेशको भरतपुरमा रहेको बस टर्मिनलले दैनिक रु ८० मात्र बसहरुबाट शुल्क लिने गरेको उदाहरणसमेत बस व्यवसायीले पेस गरे। माग सम्बोधन नगरिए बस टर्मिनल संचालनमा आफूहरुले गरेको सहयोग प्रभावित हुने भन्दै बस व्यवसायीले अप्रत्यक्ष चेतावनीसमेत दिएका छन्।

वीरगन्जबाट खुल्ने बसहरुका लागि टर्मिनलभित्र बुकिङ्ग काउन्टर व्यवस्था हुनु पर्ने, त्यसको लागि बस टर्मिनल भित्रबाट चाहिने आवश्यक पूर्वाधारहरु अविलम्ब निर्माण गर्नुपर्ने, पूर्व सहमति अनुसार नै शुल्कहरु लिने व्यवस्था गरिनु पर्ने, परवानीपुरमा ठेकेदार कम्पनीले गैरकानुनी ढंगले राखेको रकम असुल्ने पोष्ट तत्काल हटाउनु पर्नेलगायत माग बस व्यवसायले ज्ञापनमार्फत राखेका छन्।

जिल्ला प्रशासन, प्रहरी र ट्राफिक प्रहरीलाई समेत जानाउ गर्दै लेखिएको ज्ञापन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, जिल्ला समन्वय समिति, वीरगंज पर्साका संयोजक बिनोद मानन्धार, पुरानो नारायणी यातायात क.प्रा.लि. का संचालक श्याम उप्रेती, पर्सा नारायणी यातायात प्रा.लि. पर्सा का अध्यक्ष जगतप्रसाद साह कानु, पृथ्वी राजमार्ग बस सञ्चालक क. प्रा.लि. वीरगन्जका अध्यक्ष समुन श्रेष्ठ, चितवन छहारी यातायात सेवा प्रा.लि. वीरगंन्ज पर्साका कार्यालय प्रमुख फिरोज हवारी र वीरगंज यातायात सेवा प्रा.लि. पर्साका अध्यक्ष हरिशरण बजगाईले संयुक्त रुपमा हस्ताक्षर गरी बुझाएका हुन्।

प्रकाशित: १३ पुस २०७८ १५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App