निर्माण व्यवसायी संघ गोरखाको अध्यक्षमा सुर्य भण्डारी बिजयी भएका छन्। बुधवार राती सकिएको मत गणनामा भण्डारीले अध्यक्षका प्रत्यासी होमबहादुर बानियाँलाई पराजित गरेका हुन्। भण्डारीले १३४ मत र बानियाँले ९८ मत पाए।
‘निर्माण व्यवसायीको हक हित र यो पेसालाई मर्यादित बनाउन मेरो प्रयास हुनेछ’ भण्डारीले भने ‘गोरखाको बिकास निर्माणमा महत्वपूर्ण योगदान गर्न व्यवसायीलाई सक्षम बनाउन मेरो प्रयत्न हुनेछ।’ अध्यक्ष बिजयी भएपछि उनले सबै व्यवसायीलाई साथ लिएर अघि बढ्ने बताएका छन्। ‘साना व्यवसायीको समस्यालाई संवोधन गर्दै ठुला व्यवसायीसँग सहकार्य गरेर अघि बढ्नेछु’ उनले भने। बिकास निर्माणका काममा व्यवसायीलाई पर्ने समस्या हल गर्न आफु नेतृत्वको संघले अग्रणी भुमिका खेल्ने उनले दाबी गरे।
भण्डारी र बानियाँ प्यानल नै बनाएर प्रतिस्पर्धामा थिए। भण्डारी माओवादी केन्द्र निकट व्यवसायी हुन्। उनलाई एमाले र जनता समाजवादी पार्टी निकट व्यवसायीको साथ रहेको थियो भने बानियाँ कांग्रेस निकट व्यवसायी हुन्।
उनलाई पनि एमाले निकट केही व्यवसायी साथ दिएको व्यवसायी बताउँछन्। सदस्यमा भोलाप्रसाद मरहट्टा, राजुबाबु लामिछाने, किरणबाबु श्रेष्ठ,सबिन बस्नेत, देबराज गुरुङ्ग, सुरेन्द्र बस्नेत, दिनेश तमु, बिनोद खनाल, दलमान गुरुङ्ग, ताराबहादुर खडका, दिपक थापा बिजयी भएका छन्। ११ सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको थियो।
यी बाहेक दुई जना सदस्य संघले मनोनित गर्ने कार्यालय सचिव उमेश अर्यालले बताए। मनोनित सदस्य सहितबाट संघको पहिलो बैठकले पदाधिकारीको टुङ्गो लगाउनेछ।
प्रकाशित: ८ पुस २०७८ ०६:०९ बिहीबार