२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बुटवल–नारायणगढ सडक अस्तव्यस्त, ३५ महिनामा १२ प्रतिशत काम

ठेक्का सम्झौताको म्याद सकिन करिब ९ महिना बाँकी छँदा बुटवल–नारायणगढ चार लेन सडक जम्मा १२ प्रतिशत काम भएको छ। २०७५ को पुषमा ठेक्का सम्झौता भएको सडक २०७९ साउनमा निर्माण सम्पन्न गर्ने भनिएको थियो।

तर ठेक्केदारको लापरबाही, कोरोनाका कारण भएको लकडाउन संगै कामदार, कर्मचारीको पटक पटकको आन्दोलनले सडक अस्तव्यस्त छ। ठाउँ ठाउँमा सडक भत्काएर अलपत्र छोडिएको छ। सामान्य मर्मत सम्भारको काम समेत गरीएको छैन। निर्माण कम्पनीले पुल र कल्भर्डको काम चलिरहेको भनेपनि ती काममा न्यून कामदारहरु खटाइएको छ। जसका कारण निर्माणको गति निकै सुस्त छ। धुलोले सडक र छेउका बस्तीहरु दिउँसै अन्धकारमय देखिन्छन्।

ट्राफिक प्रहरीका अनुसार यो खण्डमा सवारी दुर्घटनाका घटना बढेका छन्। महिनौसम्म निर्माणाधीन सडक अलपत्र हुँदा बर्दघाट–दाउन्ने–दुम्किबास क्षेत्रमा दिनहुँ घण्टौ जाम लाग्छ। आकस्मिक सेवाका एम्बुलेन्स, दमकल समेत त्यही जाममा फस्ने गरेको स्थानीय बताउँछन्। बुटवलबाट ३ घण्टामा पुगिने नारायणघाटसम्मको यात्रा अहिले ६ घण्टा बढी लाग्ने गरेको सवारी चालक तथा यात्रुको गुनासो छ। पूर्वमेचीदेखि पश्चिम महाकालिसम्म जोड्ने पूर्वपश्चिम राजमार्गको मध्ये खण्डमा पर्ने बुटवल–नारायणघाट सडक चितवन पश्चिमबाट काठमाडौ जाने एक मात्र सडक हो। दैनिक हजारौ मालबाहक र यात्रुबाहक सवारी साधन ओहोरदोहोर गर्ने यही सडक महिनौदेखि अस्तव्यस्त हुँदा यात्रु, सर्वसाधारणले निकै सास्ती खेप्नु परेको छ।

बुटवल–नारायणगढघाट १ सय १३ किलोमिटर सडकलाई ४ लेनमा स्तरोन्नती गर्न सन् २०१८ को डिसेम्बरमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सिएससीईसी) संग ठेक्का सम्भौता भइ २०१९ को फेब्रुअरीबाट काम सुरु भएको थियो। सम्झौतामा २०२२ को अग्रस्थमा निर्माण गरीसक्नु पर्ने  उल्लेख छ। ४४ महिनामा काम सक्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले ३५ महिना बितिसक्दा जम्मा ११ प्रतिशत काम गरेको छ।

बिभिन्न बहानामा कम्पनीले पहिलो वर्ष कामै नगरी समय गुजारेको थियो। दोश्रो वर्ष कोरोना र लकडाउनका कारण कामले गति लिएन। अवस्था सहज भएपछि पनि कम्पनीले बिभिन्न बहानाबाजी गर्दै कामलाई तीव्रता दिएको छैन। कर्मचारी, कामदारहरुको पटक पटकको आन्दोलनले पनि आयोजनालाई असर गरीरहेको छ। त्यसोत आयोजनाको साइट क्लियरनै नगरी हतारमा ठेक्का सम्झौता गरेर सडकको शिलान्यास गरीएको थियो। जसका कारण लामो समय त्यसमै अल्झिनु परेको गुनासो आयोजनाका अधिकारी तथा निर्माण कम्पनीको छ।

निर्माण कम्पनीले अहिले समय थपको माग गर्दै पत्राचार गरेको छ। तर म्याद थपबारे निर्णय भइनसकेको बुटवल–नारायणगढ सडक परियोजनाको दाउन्ने पश्चिमका प्रमुख इन्जिनियर प्रदीप शाक्यले बताए। पछिल्लो समय कम्पनीले कामदारको संख्या बढाएर कामलाई गति दिएको पनि शाक्यले बताए।  

बुटवल–नारायणगढ सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो। नवलपरासी बर्दघाट–सुस्ता पूर्वको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटरलाइ खण्ड‘ख’ अन्तर्गत राखिएको छ।  

दुवैतिर पछिल्लो समय पुल र कलभर्ड निर्माणको काम चलिरहेपनि रफ्तारमा काम हुन सकेको छैन। पश्चिमतर्फ ९ वटा ठूला र २ वटा साना पुलको काम भइरहेको शाक्यले बताए। ९० वटा कल्भर्ट निर्माण भइरहेको जानकारी दिए। दाउन्ने पूर्वमा पनि रुख कटान, विद्युतका पोल र खानेपानी पाइपको काम भइरहेको आयोजनाले जनाएको छ।  

यो सडक कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँको लागतमा निर्माण हुँदैछ। कुल लागतको ८५ प्रतिशत एडिबीको सहुलियत ऋण हो। बाँकी रकम नेपाल सरकारकै हुनेछ। एडिबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो।

प्रकाशित: ६ पुस २०७८ १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App