१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखराका ठूला होटलमा सस्तो ‘अफर’

आन्तरिक पाहुना तान्ने प्रयासः व्यवसायी

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा संचालित होटल। तस्बिरः उमेश पुन/नागरिक

पोखराको चल्तीको फिस्टेल लजले क्रिसमस र अंग्रेजी नयाँवर्षको अवसरमा आन्तरिक पाहुना लक्षित गरेर सस्तो ‘अफर’ ल्याएको छ। अरुबेलाको भन्दा झन्डै आधा सस्तोमा आन्तरिक पाहुनालाई राख्ने गरि प्याकेज ल्याएको फिस्टेलले बताएको छ।  

कोरोना संक्रमणबाट गुज्रिरहेको पर्यटन क्षेत्र आन्तरिक पाहुनाको भरमा धानिएको अवस्थामा थप आन्तरिकलाई पोखरा बोलाउन सस्तो प्याकेज ल्याएको लजले बताएको छ। फिस्टेलका महाप्रबन्धक रोशन खवासले कोरोनाको मारमा परेको पर्यटन क्षेत्रलाई चलायमान बनाईराख्नका लागि सस्तो प्याकेज ल्याएको बताए।  

खवासका अनुसार क्रिसमस इभमा डिनर खान जाँदा एक्लो पाहुनाले ३५ सय रुपैयाँ र दुईजनाको ६५ सय रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै क्रिसमस अवसरमा बसोबासको प्याकेज पनि लजले ल्याएको छ। क्रिसमसका अवसरमा दुईरात र तीनदिन बसाईको प्याकेज पनि फिस्टेलले तयार पारेको छ। महाप्रबन्धक खवासका अनुसार क्रिसमसमा बस्दा एक्लो पाहुनाले १७ हजार ९९९ रुपैयाँमा दुईरात र तीनदिनको बसोबासको प्याकेज पाउनेछन। त्यस्तै दुईजनाले २१ हजार ९९९ हजार रुपैयाँमा यो प्याकेज पाउनेछन्। यसमा क्रिसमस इभको डिनर पनि पाइनेछ।  

नयाँवर्षका लागि पनि यस्तै प्याकेज फिस्टेलले ल्याएको छ। नयाँ वर्षमा दुईरात र तीनदिनको प्याकेजमा एक्लै बस्ने पाहुनाले १९ हजार ९ सय ९९ र दुईजना बस्दा २४ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्नेछ। यो प्याकेजमा बस्दा पाहुनाले इभका दिन डिनर खान पाउनेछन। 

‘आन्तरिक पाहुना लक्षित गरेर हामीले यो प्याकेज ल्याएका हौ। प्याकेजमा अरुबेलाको भन्दा आधा सस्तो पर्छ,’ खवासले भने, ‘कोरोनाको मारमा परेको पर्यटन क्षेत्रमा तत्काल विदेशी पाहुना भित्रिने सम्भावना छैन। त्यही भएर आन्तरिकलाई आकर्षण गर्न जरुरी छ।’ आन्तरिकसँगै नेपालमा लामो समयदेखि बसिरहेका आवासीय भिसा प्राप्त विदेशीले पनि यो प्याकेज पाउने उनले बताए।

‘सस्तो प्याकेजले होला, नयाँवर्षको बुकिङ निकै नै राम्रो आएको छ । डिसेम्बर ३१, जनवरी १ र २ गरि तीनदिनका लागि बुकिङ राम्रो रहेको उनले बताए। करिब ७० प्रतिशत कोठा बुकिङ गरिसकेको ६१ कोठाको फिस्टेलका बाँकी कोठा पनि अबको केहीदिनमा भरिभराउ हुने देखिएको खवासले बताए। ‘कम्तिमा पाहुनालाई पोखरा बोलाउन पनि सस्तो प्याकेजले सघाउनेछ,’ उनले भने। उनका अनुसार क्रिसमसको भन्दा न्यू इयरको अवसरमा आन्तरिक पाहुनाको बुकिङ राम्रो छ।

फिस्टेलले जस्तै पोखराको चल्तीको अर्काे होटल बाराहीले पनि न्यू इयर लक्षित प्याकेज ल्याएको छ। बाराहीमा न्यू इयर इभको कार्यक्रममा रमाउन पुग्दा एकजनाले चार र दुईजनाको आठहजार रुपैयाँ पर्छ। यो शुल्कमा डिनर सहित सांगितीक लगायतका कार्यक्रममा पाहुना रमाउन पाउनेछन्। तर, बास बस्दा भने एकजोडीका लागि १४ हजार ५ सय रुपैयाँ पर्ने महाप्रबन्धक राजकुमार केसीले बताए।

‘अरुबेला भन्दा सस्तो प्याकेज हो। डिनरको शुल्क केही महंगो देखिएपनि त्यहाँ विभिन्न कार्यक्रम हुने भएकोले पनि बढी देखिन्छ,’ केसीले भने, ‘तर, होटलमै बस्ने पाहुनाका लागि भने सस्तो छ।’ उनका अनुसार बाराही डिसेम्बर २८ देखि नै भरिभराउ छ। जनवरी एकसम्मका लागि होटल करिब सतप्रतिशत भरिएको छ। ‘आन्तरिक पाहुनाको कारण अहिले पर्यटन धानिएको हो। आन्तरिक लक्षित गतिविधि गर्न पर्यटन क्षेत्र बाध्य पनि छ,’ उनले भने, ‘कोरोनाको मारबाट उठ्न पनि केही न केही गतिविधि आवश्यक छ।’

फिस्टेल र बाराहीजस्ता पोखराका ठुला होटलले अहिले क्रिसमस र अंग्रेजी नयाँवर्ष लक्षित आकर्षक र केही सस्ता कार्यक्रम ल्याएका छन्। कोरोना संक्रमणको त्रासले विदेशी पर्यटक आउन नपाएको बेला आन्तरिक पाहुनालाई पोखरा बोलाउने गरि यहाँका होटलले सस्तो प्याकेज ल्याएका छन्। 

यही बेला पोखरामा हुने पोखरा सडक महोत्सवको अवसर पनि पर्ने भएकोले धेरै आन्तरिक पाहुना पोखरा आउँनेमा व्यावसायी विश्वस्त छन। ‘यो बेला विदेशी छैनन। तर, आन्तरिक पाहुनाको भने पोखरा आगमन उत्साहजनक छ,’ केसीले भने।  

पोखरामा ठुला आकारका होटलले क्रिसमस र न्यू इयर पारेर वर्षेनी प्याकेज ल्याउँदा त्यसको लाभ आन्तरिक पाहुनाले पाउने गरेका छन्। अरुबेला भन्दा केही सस्तोमा प्याकेज पाउँदा आन्तरिक पाहुनाले पोखरालाई गन्तव्य बनाउन पाएको व्यवसायी बताउँछन्। होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘आन्तरिक पाहुनाकै कारण पोखराको पर्यटन क्षेत्र अहिले धानिएको हो। यो बेला ठुला होटलले वर्षेनी सस्तोमा प्याकेज ल्याउने गरेका छन्। यो प्रभावकारी पनि हुने गरेको छ।’  

कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई उकास्न यो बेला झनै सस्तो प्याकेज आवश्यक रहेको पनि उनले बताए। त्यसबाहेक क्रिसमस र न्यू इयरका गतिविधिले पर्यटन क्षेत्रले सबै प्रकारका धर्मलाई सम्मान गर्छ र त्यही अवसर पारेर गतिविधि हुने गरेको भन्ने सन्देश पुग्ने गरेको उनले बताए। क्रिसमस र न्यू इयर नेपालीको खास चाँडमा नपरे पनि अहिले आन्तरिक पाहुना रमाउन थालेसँगै नेपालीकै चाँडबाँड जस्तै बनेको उनले बताए। 

‘हुन त क्रिसमस र न्यू इयर विदेशी पाहुना लक्षित गतिविधि हुन्। तर, अहिले नेपालीको पनि बनेको छ। यिनै गतिविधि पारेर पर्यटक आगमन पनि बढ्ने गरेको छ,’ उनले भने, ‘थप पाहुना तान्ने प्रयासमा अहिले व्यावसायी छन। त्यसका लागि अफर ल्याएका हुन्।’ आन्तरिक पाहुनालाई यो बेला पोखरा बोलाउने निहुँ क्रिसमस र न्यू इयरले दिएको पराजुलीले बताए।  

‘अहिले त झनै कोरोनाले गर्दा आन्तरिक पाहुनालाई पोखरा बोलाउनै पर्ने बाध्यता आइपरेको छ। यसपटक आधा सस्तोमा भएपनि पाहुनालाई सेवा दिन व्यावसायी बाध्य छन,’ उनले भने, ‘होटल संघले पनि सबै सदस्यलाई केही छुटका कार्यक्रम ल्याउन आग्रह गरेको छ।’ उनका अनुसार अहिले पोखराका पर्यटकीय स्तरका होटलमा करिब ४० हजार बेड छन्। बजारका अन्य क्षेत्र, र डाँडाकाँडाका होटल पनि थपिँदा बेडसंख्या करिब ५० हजार पुगेको छ। त्यसैले पनि सहुलियत दिएर पाहुनालाई पोखरा बोलाउन जरुरी रहेको उनले बताए। साना भन्दा ठुला आकारका होटलले यो बेला पाहुनाका लागि अफर ल्याउने गरेको उनले बताए। 

प्रकाशित: ५ पुस २०७८ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App