९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल र कतारबीच श्रम सम्झौता पुनरवलोकन गर्ने सहमति

नेपाल र कतारबीच श्रम सम्झौता पुनरवलोकन गर्ने सहमति भएको छ। नेपाल–कतार संयुक्त कार्य समितिको शुक्रबार काठमाडौँमा सम्पन्न बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरवलोकन गर्नेलगायत विषयमा सहमति भएको श्रम, रोजगारतथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

सोही बैठकले कतारमा काम गरेर फर्केका नेपालीको पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसारअघि बढ्ने कतार पक्षले सहमति जनाएको छ। त्यस्तै काठमाडौँमा खुलेको कतार भिसा सेन्टरलाई व्यवस्थित गर्न पनि कतार पक्ष सहमत भएको मन्त्रालयले जनाएको छ। भिसा सेन्टर स्थापनापछि कामदार शोषणमा परेको भन्दै चौतफी विरोध हुँदै आएको छ। भिसा सेन्टर दुई वर्षअघि खुलेको थियो।  

बैठकमा नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धि गर्न कतार सरकारले सातै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहमति जनाएको छ। बैठकमा घरेलु श्रमिकमा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि उक्त विषयमा निर्णय गर्न दुई पक्षीय संयुक्त समिति गठन गर्ने र त्यसको सुझावलाई श्रमसम्झौता पुनरवलोकनको क्रममा समेट्ने सहमति भएको छ।  

यसअघि कतारको उच्चस्तरीय टोलीले श्रममन्त्री कृष्णकुमार श्रेष्ठसहित टोलीसँग श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित बनाउने विषयमा छलफल गरेको थियो। घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि श्रेष्ठले सरोकारवालासँग छलफल गरी निर्णयमा पुग्ने बताए।  

समितिको चौथो बैठकमा नेपाली टोलीको नेतृत्व मन्त्रालयका सहसचिव विनु बज्राचार्यले गरेकी थिइन्। त्यस्तै कतारको तर्फबाट त्यहाँका श्रम मन्त्रालयका सचिव मोहम्मद हसन अल लवाद्लीले नेतृत्व गरेका थिए। श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो।

प्रकाशित: १८ मंसिर २०७८ ०७:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App