४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्यासभन्दा विद्युतीय चुलोमा पकाउँदा आधा सस्तो

एलपिजी ग्यासभन्दा बिजुलीले चल्ने इन्डक्सन चुलोमा खाना पकाउँदा ६५ प्रतिशत सस्तो हुने देखिएको छ।

तर नियमित रूपमा बिजुली उपलब्ध नहुँदा अझै पनि विद्युतीय चुलोमा सर्वसाधारणको आकर्षण बढ्न सकेको छैन। ग्यासको तुलनामा विद्युतीय चुलोमा खाना पकाउँदा आधा जति सस्तो हुने भए पनि सहरी क्षेत्रमा इन्डक्सन प्रयोग व्यापक हुन सकेको छैन।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका प्राध्यापक तथा ऊर्जाविद् अमृतमान नकर्मी विश्वविद्यालयको एक अध्ययनले ग्यासमा भन्दा विद्युतीय इन्डक्सन चुलोमा खाना पकाउँदा आधाभन्दा धेरै सस्तो पर्ने देखाएको बताउँछन्। ‘पाँच सदस्यको परिवारले ग्यासमा मासिक १६ सय ५० रूपैयाँ खर्च गर्छन्,’ उनले भने, ‘सोही परिवारले विद्युतीय चुलोमा खाना पकाए महिनाको हजार रूपैयाँले पुग्छ।’

यो विवरण फ्युल इकोनोमिक्स अफ कुकिङ अनुसार निकालिएको हो। पछिल्लो समय विद्युत् नियमन आयोगले सार्वजनिक गरेको नयाँ विद्युत् महसुल दर र नेपाल आयल निगमले गत नोभेम्बर १० मा समायोजन गरेको ग्यासको नयाँ मूल्यबाट यो हिसाब निकालिएको हो।

प्राध्यापक नकर्मी मट्टीतेलबाट खाना पकाउँदा भने मासिक १९ सय २० रूपैयाँ खर्च हुने बताउँछन्। ‘विद्युतीय चुलोबाट खाना पकाउँदा समयको लागत मात्रै होइन, आर्थिक रूपले पनि धेरै सस्तो पर्ने गर्छ,’ उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणले गुणस्तरीय र भरपर्दाे बिजुली उपलब्ध गराए सहरी क्षेत्रका बासिन्दामा विद्युतीय चुलोप्रतिको आकर्षण बढाउन सकिन्थ्यो।’

प्राध्यापक नकर्मीले विगतको तुलनामा विद्युत् महसुल केही घटेकाले पनि विद्युतीय चुलोमा खाना पकाउँदा ग्यासको आयात कम भएर व्यापार घाटा कम गर्न मदत पुग्ने बताउँछन्।

विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउन पर्याप्त मार्केटिङ गर्न नसकेको पनि उनले बताए। ‘प्राधिकरणले विद्युत् खपत बढाउने खालको मार्केटिङ गर्नै सकेको छैन,’ उनले भने, ‘प्राधिकरणको वितरण प्रणाली व्यवस्थित नभएकाले पनि आक्रामक मार्केटिङ गर्न नसकेको हो।’

विश्वविद्यालयको अध्ययन अनुसार सन् २००० मा मट्टीतेलबाट पाँचजनाको परिवारलाई खाना पकाउँदा मासिक २७० रूपैयाँ लाग्थ्यो। त्यही बेला ग्यासमा पकाउँदा ४३० रूपैयाँ लाग्थ्यो। विद्युतीय चुलोमा पकाउँदा ६८० रूपैयाँ लाग्थ्यो।

सन् २०१४ मा पाँचजनाको परिवारलाई मट्टीतेलमा खाना पकाउँदा मासिक १७ सय ६० रूपैयाँ लाग्थ्यो। ग्यासमा हजार ८० रूपैयाँ पथ्र्याे। विद्युतीय चुलोमा पकाउँदा ९६० रूपैयाँ पर्न जान्थ्यो। सन् २०१९ मा मट्टीतेलमा पकाउँदा १२ सय ४०,एलपिजी ग्यासमा पकाउँदा १४ सय ५० र विद्युतीय चुलोमा पकाउँदा ११ सय १५ रूपैयाँ पथ्र्यो।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इप्पान)का कार्यसमिति सदस्य प्रकाश दुलालले भएको बिजुली पनि गुणस्तरीय र भरपर्दाे नहुँदा विद्युतीय चुलोतर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बताए। ‘प्राधिकरणले भरपर्दाे र गुणस्तरीय बिजुली उपलब्ध गराउने हो भने विद्युतीय चुलोमा आकर्षण ह्वात्तै बढ्ने थियो,’ उनले भने, ‘अहिले पनि झ्याप्प झ्याप्प बिजुली जाने समस्याकै कारणले समस्या भइरहेको छ।’

सदस्य दुलालले सर्वसाधारणमा विद्युतीय साधनको प्रयोगमा गर्न प्रोत्साहित गर्ने खालका कार्यक्रम अघि ल्याउनुपर्ने बताए। ‘अहिले सर्वसाधारण ग्यास चुलोमा पकाउने भाँडा छन्।

विद्युतीय चुलोमा लाग्ने नयाँ भाँडा किन्दा पनि खर्च बढ्ने देखिन्छ। त्यसैले विद्युतीय सामान किन्दा थप अनुदान तथा सहुलियत दिनुपर्ने बेला भइसकेको छ।’ दुलाल सबैभन्दा पहिला ग्यासभन्दा बिजुली धेरै सस्तो हुन्छ भन्ने सोचको विकास गर्नुपर्ने बताउँछन्।

प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदिप थिके प्राधिकरणले गुणस्तरीय र भरपर्दाे बिजुली उपलब्ध गराउँदै आन्तरिक विद्युत् खपत गर्ने योजना अघि बढाइरहेको बताउँछन्।

प्रकाशित: ३ मंसिर २०७८ ०१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App