१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कौडीको मोलमा उखु बेच्दै किसान

सर्लाही र रौतहटका उखु किसानले कौडीको मोलमा उखु धमाधम बेचिरहेका छन्। सरकारले प्रति क्विन्टल गत वर्ष पाँच सय रुपैँयाभन्दा बढी उखुको मूल्य तोकेको भए पनि प्रति क्विन्टल तीन सय रुपैँयामा उखु किसानले उखु बेचिरहेका छन्।

सर्लाही र रौतहटका चिनी मिल सञ्चालनमा आउनु पूवै नै उखु किसानले सख्खर उत्पादन गर्ने क्रसर उद्योगलाई सस्तोमा उखु बेचेका हुन्। उखु किसानले सस्तोमा खुँटी उखु बेच्दै गर्दा खाली भएको खेतमा रबि बाली लगाउन भने भ्याउने विश्वास रहेको छ।  

सर्लाहीको गोडैता नगरपालिका ५ रामबनका किसान शिवकान्त झाले आफूले प्रति क्विन्टल तीन सय रुपैँयामा क्रसर उद्योगलाई उखु बेचेको बताएका छन्। स्थानीय बन्हु हजारीको क्रसर उद्योगले प्रति क्विन्टल तीन सय रुपैयामा उखु किनेको हुँदा सोही मोलमा उखु बेचिदिएको झा बताउँछन्। उखु बेचेर खाली भएको खेतमा मसुरो खेती गर्न भ्याउने झाको भनाइ छ।  

कात्तिक र मंसिरसम्म उखु बेचेर खाली भएको खेतमा किसानहरुले मसुरो, आलस, तोरी, गहुँ र अन्य बाली लगाउन भ्याउने भएकाले किसानहरुले सस्तोमा उखु बेचिरहेको बताउँछन्। रौतहटको गढीमाई २ समनपुरका किसान रुदल सहनी तथा सर्लाहीको धनकौल गाउँपालिका हरकठवाका किसान राम सोगारथ महतोले पनि रबि बाली लगाउने खेती खाली गर्न सस्तोमा उखु बेचेका छन्। सर्लाही र रौतहटको विभिन्न ठाउँमा सख्खर उत्पादन गर्ने क्रसर उद्योग सञ्चालनमा आउँदा किसानहरुले सस्तोमा उखु बेच्नुपर्ने मुख्य कारण थप एउटा बाली लगाउनकै लागि हो।  

गत वर्षको तुलनामा सर्लाही र रौतहटमा उखु खेती कम भएको छ। उखु खेती घटेको भए पनि दुई वटा बाली भित्र्याउन किसानहरुले कौडीको मूल्यमा उखु बेच्न थालेका छन्। समनपुरकै अर्का किसान रविन्द्र सहनीले अहिलेसम्म आठ कट्ठा खेतको उखु क्रसर उद्योगलाई बेचिसकेको बताउँदै उखु बेचेर आएको पैसाले छठ पबनी मनाउन पुगेको बताएका छन्। चाडको समयमा उखु बेचेर वर्षको सबैभन्दा ठूलो चाड मान्न पनि पाएको र रबि बाली लगाउन हातमा पैसा पनि आएको बताएका छन्।  

रौतहटको सुन्दरपुर र समनपुरमा सख्खर उद्योगहरु संचालनमा रहेका छन्। सुन्दरपुरमा सञ्चालित गढीमाई क्रसर उद्योगका संचालक कृष्णनन्दन साहले अहिले उखुबाट निकै कम सख्खर उत्पादन हुने र सख्खरको बजार भाउ पनि कम भएको हुनाले बजार भाउ तथा उत्पादनको आधारमा उखुको मूल्य तोकिएको बताउँछन्। यसै गरी समनपुरका क्रसर संचालक सञ्जय साहले चाडपर्वको समयमा केही दिन सख्खरको माग बढी हुने तर यसपछि सेलाउने भएकोले सख्खरको मूल्य खासै नहुने र उत्पादन पनि कम हुने हुनाले उखुको मूल्य कम हुने गरेको बताउँछन्।  

उखुको मूल्य कम हुँदा पनि खेत खाली भएपछि किसानले दोहोरो बाली लगाउन पाउने भएकाले किसानहरु क्रसर उद्योगलाई सस्तोमा उखु बेचेका हुन्। उखुलाई नगदे बाली भनिए पनि किन्ने बेलामा चिनी उद्योगहरुले किसानको उखु उधारोमा लिने र नगद दिने बेलामा अनेक बहाना बनाउने हुनाले पनि किसानहरुले सस्तोमा भए पनि नगद पाउने भएपछि क्रसर उद्योगलाई उखु उपलब्ध गराएका हुन्। चिनी मिलहरुले समयमा भुक्तानी नदिँदा किसानहरुले आफ्नो पैसाको लागि विगतमा आन्दोलन गर्दै आएका छन्।  

चाडपर्व र खेतीपातीको लागि उखु बेचेर नगद हातमा पर्ने तथा खेत खाली हुँदा अर्को बाली लगाउन पाउने दोहोरो लाभ लिन सकिने अवस्था रहेकोले उखु किसानहरुले कौडीको मोलमा क्रसर उद्योगलाई उखु बेचिरहेको किसानहरुकै भनाइ रहेको छ।

प्रकाशित: २४ कार्तिक २०७८ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App