१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुल्यो

सरकारले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन फारम सोमबारदेखि खुलाएको छ। यातायात व्यवस्था विभागले कोभिड–१९ को दोस्रो लहरका कारण गत वैशाख १६ गते रोकेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन फारम खुलाएको हो।विभागका प्रवक्ता लोकनाथ भुसालले सोमबार बेलुकादेखि अनलाइन आवेदन खुला गरिएको बताए।

उनले भने, ‘अब मुलुकभरका २१ यातायात कार्यालयले दैनिक ५ हजार आवेदन लिनेछन्। ’पाँच हजारको कोटाले अनलाइन आवेदन भर्नै सास्ती हुने देखिन्छ। प्रवक्ता भुसालले मुलुकभरका २१ वटा कार्यालयले दैनिक पाँच हजारभन्दा धेरै आवेदन लिन नसक्ने भनेकाले कोटा तोकिएको बताए।यसअघि पनि अनलाइन आवेदनको लागि कोटा तोकिएको थिए।

गत वैशाख १६ देखि सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा समेत रोकिएको थियो तर वाग्मती प्रदेश सरकारले भदौ २० गतेदेखि लिखित र प्रयोगात्मक परीक्षा गर्दै आएको छ।

विभागका अनुसार काठमाडौं उपत्यकामा मात्रै तीन लाखभन्दा धेरै अनलाइन आवेदन भरेका सेवाग्राहीले अहिलेसम्म प्रयोगात्मक परीक्षा दिन पाएका छैनन्। गत पुसदेखि वैशाखसम्म सात लाख भन्दा धेरै सेवाग्राहीले अनलाइन फारम भरेर प्रयोगात्मक परीक्षा पर्खिरहेका छन्।

तर यातायात व्यवस्था कार्यालयले सेवाग्राहीको चाप अनुसार सेवा प्रवाह गर्न नसक्दा २०२२ को जनवरीसम्मको मिति प्याक भइसकेको छ। विभागले काठमाडौं उपत्यकामा अझै पनि ३–४ लाख सेवाग्राहीले प्रयोगात्मक परीक्षा (ट्रायल) पर्खिरहेको जनाएको छ। ती सेवाग्राहीको पालो ३–४ महिनाभित्रै आउनेछ।

अटोमोबाइल एसोसियसन अफ नेपाल (नाडा)का अनुसार कोभिड–१९ पछि दुईपांग्रे सवारी साधन खरिद गर्नको संख्या दोब्बरभन्दा धेरै बढेको छ। तर यातायात व्यवस्था विभाग संघीय सरकार मातहत र सवारी चालक अनुमतिपत्र लिने यातायात व्यवस्था कार्यालयहरू प्रदेश सरकार मातहत भएकाले समन्वयको अभाव देखिन्छ। अहिले अत्यधिक मात्रामा लाइसेन्सको सेवाग्राही बढेकाले पनि क्षमता अनुसार सेवा प्रवाह गर्न समस्या छ।

यस्तो छ दुई पांग्रेको ट्रायल निर्देशिका

मोटरसाइकल, स्कुटर तथा मोपेडको लागि कुल अकंभार एक सय तोकिएको छ। जसमा ७० अंक प्राप्त गरेपछि मात्रै सवारी चालक अनुमतिपत्र पाइनेछ। नयाँ निर्देशिका अनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकको लागि घुमाउरो आठ (एट आकार) को अंकभार २० तोकिएको छ।

दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ। तर ट्रायल फेल भइँदैन। तर दुईपटकभन्दा बढी अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएकोमा, एकभन्दा धेरैपटक खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण घोषणा गरिने व्यवस्था छ। साँघुरो फलेकको अंकभार १० तोकिएको छ।

साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्केमा पनि अनुत्तीर्ण हुन्छ। निर्देशिकामा यूटर्नको अंकभार १० तोकिएको छ। टर्निङ लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ।अंकित रेखा छोएको खण्डमा भने अनुत्तीर्ण हुन्छ।

ट्राफिक संकेतको लागि १५ अंकभार तोकिएको छ। ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ। निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ। एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अकं घटाइनेछ।

एकभन्दा बढीपटक स्टार्ट बन्द भएमा अनुत्तीर्ण भइन्छ। त्यसैगरी, उकालो (र्‍याम)को अंकभार २० तोकिएको छ। परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ।

चारपांग्रेको ट्रायल निर्देशिकाका प्रावधान

कार, जीप, डेलिभरी भ्यानको ट्रायलको कुल अंकभार सय छ, जसमा ७० प्रतिशत अंकभार ल्याए उत्तीर्ण भइन्छ। निर्देशिका अनुसार कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ (एट) को अंकभार २० छ।

दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक ५ अंकको दरले १० अंकभार घट्नेछ। तर फेल भइँदैन। तर दुई पटकभन्दा बढी अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकभन्दा धेरैपटक खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएमा फेल भइन्छ।

निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ। पालना नगरेको खण्डमा १५ अकंभार घट्ने प्रावधान छ। त्यसैगरी यू–टर्नको अंकभार १० छ। प्रशिक्षार्थीले टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ। तर अंकित रेखा छोए अनुत्तीर्ण भइन्छ।

चारपांग्रेको  र्‍याम(उकालो)को लागि अंकभार १५ तोकिएको छ। तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अघि बढेमा, रोकिएको अवस्थामा सवारी साधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढी पछि सरेमा, उकालो पार गरी ओरालो झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकभन्दा धेरैपटक सवारीको स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुन्छ।

ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ। त्यसैगरी, परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ। काठमाडौं उपत्यकामा सवारी चालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा लिने चारवटा यातायात कार्यालय छन्। उपत्यकाबाहिर ११ स्थानबाट सवारी चालक अनुमतिपत्र वितरण हुन्छ। 

प्रकाशित: १० कार्तिक २०७८ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App