१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गन्जला पास सञ्चालनका लागि सम्भाव्यता अध्ययन

गन्जला पास । तस्बिर : परामर्शदाता टिम

रसुवाको पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै हेलम्बु जाने ‘गन्जला पास’ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ। भूकम्प जानु अघिसम्म थोरै पर्यटकले गञ्जला पास गर्ने गरेका थिए। भूकम्पले विभिन्न क्षेत्रमा पहिरो गएका कारण बाटो नहुँदा गन्जला पास गर्न समस्या हुँदै आएको थियो। रसुवाको क्यान्जिन उपत्यकाबाट तीन दिनको यात्रा गरेपछि हेलम्बु पुगिन्छ।  

प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन विकास आयोजना, बागमती प्रदेशले पास सञ्चालनका लागि एक वर्ष अघिदेखि प्रक्रिया अघि बढाएको थियो। परामर्शदाता श्रेष्ठ – गौमुखी इन्जिनियरिङ सर्बिसेज प्रालि (जिईएस) – स्ट्रेन्थ (जेभी) ले गोञ्जला पास सञ्चालन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरेको हो।  

क्यान्जिनदेखि हेलम्बुसम्म पुगेर प्रतिवेदन तयार पारिएको जिईएसका प्रबन्ध निर्देशक इन्जिनियर प्रकाश जिसीले बताए। ‘हामीले ड्राफ्ट रिपाेर्ट तयार पारिसकेका छौं’, उनले भने, ‘प्रदेश अन्तर्गत रहेका मन्त्री, सांसद तथा सरोकारवालासँग छलफल तथा सरोकारवालाबाट आएका सुझाव समावेश गरेपछि अन्तिम प्रतिबेदनको काम अघि बढाउँछौं।’ 

उनका अनुसार गञ्जला पास सञ्चालनमा ल्याउनका लागि एक ठाउँमा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने, सुरक्षित भर्‍याङ बनाउनुपर्ने र बाटो सुधारका काम गर्नुपर्ने छ। हालसम्म गञ्जला पास सुधार गर्न नसक्दा गएका पर्यटक समेत हराउने गरेका छन्।  

आयोजना प्रमुख बिष्णुबहादुर भण्डारीका अनुसार दशैंपछि सरोकारवालासँग छलफल गर्ने योजना बनाइएको छ। ‘हामीले परामर्शदातालाई आउँदो माघसम्मको समयसीमा दिएका छौं’, उनले भने, ‘उहाँहरूले ड्राफ्ट रिपाेर्ट तयार पारिसक्नु भएको छ।’

पासलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि ५० करोड लाग्ने अनुमान छ। अध्ययन पश्चात पासको अवस्था हेरेर अप्ठेरो ठाउँमा डोरी टाङ्ने, रड राख्ने लगायतको काम गरिने छ। यो बहुवर्षीय योजनामा राखिएको छ। पहिलो चरणमा वारपार गर्न सकिने गरी अस्थायी किसिमको संरचना निर्माण गर्ने लक्ष्य रहेको उनले बताए। ‘पहिले पनि त्यहाँ केही काम भएको देखिएको छ’, आयोजना प्रमुख भण्डारीले भने, ‘भूकम्पको कारण क्षति भएकाले त्यहाँ बनाउनका लागि स्थानीयले आग्रह गरेका हुन्।’

यस क्षेत्रमा बाह्रै महिना हिउँ जम्ने भएकाले काम गर्न सहज नहुने होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान गजुरेलले बताए। भूकम्पका कारण पहिरोले क्षति गरेपछि गन्जला पास गर्न सकिएको छैन।  

गन्जला पास पार गर्न चाहनेले खाना र बासको व्यवस्थापन आफैंले गर्नुपर्ने हुन्छ। गन्जला पास ५ हजार २ सय मिटर उचाइमा पर्छ। लाङटाङ जाने एक हजार पर्यटक मध्ये १५ जनाले गन्जला पास गर्ने अध्यक्ष गजुरेलको भनाइ छ। गन्जला पास गर्दा समूहमा जानु पर्छ। जोखिम पूर्ण यात्रा भएकाले एक्लै जान नहुने पर्यटन व्यवसायी बताउँछन्।

प्रकाशित: २१ आश्विन २०७८ १३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App