सन् २०२० को सुरुमै चीनमा देखिएको कोरोना भाइरस (कोभिड—१९) का कारण नेपाल तथा अन्य मुलुकमा बाह्य र आन्तरिक पर्यटकीय क्रियाकलाप बन्द भए। यसको प्रभाव नेपालको पर्यटन क्षेत्रमा पनि व्यापक देखियो।
२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० मा सुरु गरिएको भ्रमण वर्षमै पर्यटक आगमन संख्या दुई लाखमा खुम्चन पुग्यो। मुलुकको पर्यटन क्षेत्रका लागि विदेशी पर्यटक अनिवार्य नै भए पनि कोरोनाको दोस्रो लहरले बन्द भएको पर्यटन क्षेत्र विस्तारै चलायमानको चरणमा पुगेको छ। आन्तरिक पर्यटकको भरथेग उत्साहसँगै विदेशी पाहुनाको बाटो कुर्दै बसेका व्यवसायी पछिल्लो समय पर्यटन खुल्न थालेको महसुस गर्न थालेका छन्।
‘होटल खोल्यो, बस्ने पाहुना छैनन्। रेस्टुरेन्टमा खान आउने पनि देखिन्नन्। पर्यटक बस गुडायो यात्रु पाइँदैन, पसल खोल्यो ग्राहक आउँदैनन्’ भन्दै केही समयपहिले खिन्नता प्रकट गर्ने काठमाडौं उपत्यकाका अधिकांश पर्यटन व्यवसायीको गुनासो विस्तारै कम हुँदै गएको छ।
सरकारले डेढ वर्षदेखि पर्यटक आगमनमा लगाएका विभिन्न प्रतिबन्ध खुकुलो पार्दै गएपछि अर्थतन्त्रका क्षेत्रहरू क्रमशः चलायमान हुन थालेका छन्। विगतका महिनाको दाँजोमा पर्यटकको आगमन संख्यासमेत बढ्दै गएको देखिन्छ। पर्यटन व्यवसायीका माग पूरा हुँदै गएकाले व्यवसायी अब पोहरकै गति नहोस् भन्ने प्राथना गरिरहेका छन्।
विश्व पर्यटन बजार पूर्ण रूपमा पुरानै लयमा फर्किन अझै केही वर्ष लाग्ने प्रक्षेपण गरे पनि नेपालले पर्यटक आगमन खुला गरेर विश्व पर्यटन बजारमा सकारात्मक सन्देश दिन खोज्नुलाई हौसलाको रूपमा पर्यटन व्यवसायीले लिन थालेको ठमेलस्थित होराइजन एडभेन्चर्सका सञ्चालक रूपेश जोशी बताउँछन्।
तर, नेपालको पर्यटनको स्रोत बजार भएका मुलुकले नेपाललाई ‘रेड जोन’ अर्थात् कोरोनाको जोखिम उच्च रहेकै देशको सूचीमा राख्दा पर्वतीय पर्यटनबाहेकका क्षेत्र भने अझै चलायमान हुन नसकेको उनको भनाइ छ।
‘पछिल्लो समय धेरैले कोभिडविरुद्धको खोप लगाइसके पनि विभिन्न देशले नेपाललाई अझै ‘रेड–जोन’ मा राखि नै रहेकाले सम्पन्न मुलुकका नागरिक नेपाल भ्रमणमा आउन उत्साहित हुन सकेका छैनन्,’ नागरिकसँग उनले भने, ‘अहिले हिउँदे हिमाल आरोहणको तयारीमा आउने पर्यटकको बाटो पूर्ण खुला देखिए पनि परिवारसहित बिदा मनाउन नेपाल आउन भारतीय नागरिकसमेत डराएका देखिन्छन्।’ ट्राभल, पदयात्रा, होटल, पर्वतारोहण, र्याफ्टिङ, पथप्रदर्शकलगायत व्यवसायीले ढुक्कले व्यवसायमा फर्कने वातावरण भइनसकेको उनको भनाइ छ।
करिब २५ प्रतिशतभन्दा बढी पर्यटन व्यवसाय फेरि कहिल्यै पुनर्जीवित नहुने गरी बन्द भइसकेको अवस्थामा भरथेग टेकेका केही व्यवसायी भने चाडपर्व नजिकिएसँगै सेवा दिन तयार देखिएका छन्।
पछिल्ला दुई वर्ष सुनसान बनेको ठमेलको भिडभाड विस्तारै बढ्न थाले पनि व्यापार भने अझै उस्तै रहेको अर्का व्यवसायी अर्जुन अधिकारी बताउँछन्। सामान्य अवस्थामा चौबिसै घण्टाजस्तो चहलपहल हुने ठमेल क्षेत्रमा ८० प्रतिशतजस्तो बाह्य र २० प्रतिशत आन्तरिक पर्यटक पुग्ने गर्दथे। तर व्यवसाय ठप्प भएपछि भाडा तिर्न नसक्ने अवस्थामा पुगेका व्यवसायीलाई पछिल्लो समय व्यवसाय खोल्ने वातावरण बन्दै गएको उनको भनाइ छ।
पूर्ण रूपमा पर्यटकमै निर्भर ठमेल, पकनाजोल, कालधारा, धोबीचौर, नर्सिङ चोकलगायत क्षेत्रका व्यवसायी घरभाडा मात्रै होइन, कर्मचारीको तलब, बैंकको ब्याज, विद्युत्, टेलिफोन आदिको महसुल भुक्तानी तिर्नसमेत नसकेर पलायन भएका तर पर्यटन व्यसायमा पल्केका कारण पेसाबाट पलायन हुन नसकेर व्यवसायीसमेत पुनः फर्कन थालेका उनले बताए।
व्यवसायमा परेको मार र घरधनीले मासिक भाडा तिर्न दबाब दिएपछि सटर नै खाली गरेर फर्किएका ठमेलका व्यवसायी कतिपय पुरानै व्यवसायमा फर्किएका र कतिपयले भने नयाँ व्यवसाय खोलिसकेको उनी सुनाउँछन्।
ठमेल क्षेत्रका झन्डै १० हजार व्यवसायी र तिनमा निर्भर झन्डै १२ लाख मानिसको रोजगारीमा परेको संकट अब केही टर्ने झल्को देखिएको उनको भनाइ छ।
पर्वतीय पर्यटनमा सुधारको संकेत
कोरोना सक्रमणका कारण प्रभावित पर्वतीय पर्यटन क्षेत्रसमेत विस्तारै लयमा फर्किन थालेको छ। यसअघि वसन्तयाममा हिमाल आरोहणका लागि सबैभन्दा धेरै संख्यामा अनुमति दिइएको थियो।
शरद्यामको आरोहण पनि उत्साहजनक देखिएको पर्यटन विभागले जनाएको छ। असोज र कात्तिकमा हुने आरोहणका लागि अहिलेसम्म २ सय ३० जनाले अनुमति लिइसकेको विभागको भनाइ छ। शरद्यामको आरोहणबाट सरकारले २ करोड ३० लाख ७८ हजार तीन सय ५६ सय रूपैयाँ हिमाली दस्तुरसमेत संकलन गरेको छ।
एक हप्ताअघिको तथ्यांकअनुसार अहिलेसम्म शरद्यामका लागि विभिन्न ६ वटा हिमाल आरोहणका लागि २५ वटा आरोहण दलअन्तर्गत १ सय ७८ पुरुष र ५२ महिलाले अनुमति लिएको विभागले जनाएको छ।
विभागबाट अहिलेसम्म सबैभन्दा धेरै मनास्लुका लागि १ सय ३३ जना पुरुष र ३८ जना महिलाले आरोहण अनुमति लिएका छन्। त्यस्तै, धौलागिरिका लागि २८ पुरुष र १३ महिला गरी ४० जनाले आरोहण अनुमति पाएका छन्।
शुक्रबार मात्रै धोलागिरिमा २० जनाले आरोहण गरेका छन्। मरियाङ हिमालका लागि ७ पुरुष र १ महिला र कुम्भकर्ण हिमाल आरोहणका लागि ५ पुरुषले अनुमति पाएको विभागले जनाएको छ भने कञ्चनजंघा र पुठा हिमचुलीका लागि समान ३/३ जनाले अनुमति पाएका छन्।
यता, महामारीले पर्यटन क्षेत्रमा नराम्ररी असर पारेपछि बेरोजगार बनेका पदयात्री पथप्रदर्शक (ट्रेकिङ गाइड) लाई सरकारले पाँच लाख रूपैयाँसम्म सहुलियत ऋण दिने भएपछि खुसी देखिएका छन्।
नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) विक्रीबापतको रकमलाई बैंकमा धरौटी राखेर बैंकबाट एक जना गाइडका लागि कम्तीमा पाँच लाख रूपैयाँसम्म ऋण उपलब्ध गराउने भएको हो। हाल नेपालमा १८ हजारभन्दा बढी लाइसेन्स प्राप्त गाइड रहेका छन्। तर यीमध्ये प्रत्यक्ष रूपमा पदयात्रामै संलग्न रहेकालाई सहुलियत होस् भन्ने लक्ष्यले बोर्ड उक्त रकम दिने तयारीमा रहेको हो।
बढ्यो विमानस्थलको व्यस्तता
कोरोना भाइरसको दोस्रो लहरसँगै सुनसान बनेको देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्तता विस्तारै बढ्न थालेको छ। दसैं र आरोहण सिजनका कारणले अहिले आन्तरिकतर्फको १ सय ३० को हाराहारीमा काठमाडौंबाट आउने र जानेतर्फका उडान भइरहेको विमानस्थ्ल कार्यालयले जनाएको छ।
शुक्रबार मात्रै आन्तरिकतर्फ काठमाडौंबाट मात्रै ६१ उडान भएका छन्। हाल दैनिक १२ हजार बढीले आन्तरिकतर्फ हवाईसेवा लिइरहेका छन्। त्यस्तै, अन्तर्राष्ट्रियतर्फ समेत ओहोरदोहोर गरेर दैनिक ३० बढी उडान हुने गरेका छन्।
खुल्दै ठूला लगानीका होटल
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गत वर्ष चैत ११ देखि गरेको बन्दाबन्दी असरले पर्यटन व्यवसाय नै ठप्प हुन पुग्यो। अझ त्यसमा सबैभन्दा बढी होटेल उद्योगहरू मर्कामा परे। यो अवस्था हालसम्म जारी छ। महामारीका कारण पर्यटक स्तरका व्यवसायदेखि तारे होटलसमेत बन्द मात्रै भएनन् सोही अवधिमा नयाँ होटल खुल्ने क्रमले समेत गति लिएको देखिन्छ।
१ सय ४२ तारे होटल र झन्डै १२ सय बढी पर्यटक स्तरका होटल सुनसान बनेपछि आइसियुमा पुगेका होटल व्यवसायतर्फ ध्यान नदिई नयाँ होटल थपिने क्रमले निरन्तरता पाएको व्यवसायी बताउँछन्। महामारीकै बिच हिल्टन, सेराटन, मेचीक्राउन, सांग्रिला भिलेज, ल्यान्डमार्क र नान्सलगायत निर्माणले यस क्षेत्रमा लगानी थपिँदै गएको देखाइसकेको छ।
महाराजगञ्जमा बन्ने पाँचतारे होटल मेरिडियन र चितवनको पटिहानीमा सञ्चालनको तयारीमा रहेको ठूला लगानीमध्येकै पटिहानी रिसोर्ट निर्माणले समेत यो क्षेत्र पुनः चलायमानको अवस्थामा पुगेको देखाउँछ। हालसम्म नेपालमा १ सय ४२ वटा तारे होटल रहेका छन्। जसमा डिलक्स, पाँचतारे १५, चार तारे १७, तीन तारे ३३, दुई तारे ४२ वटा र एक तारे ३४ वटा रहेका छन्।
प्रकाशित: १६ आश्विन २०७८ ०१:५७ शनिबार