९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

स्वदेशी उत्पादन प्रवर्द्धन अभियानको लोगो राष्ट्रपतिलाई

विराटनगरका उद्योगीहरूले सुरू गरेको स्वदेशी उत्पादन प्रवर्द्धन अभियान टोली काठमाडौं पुगेको छ। विराटनगर लगायत प्रदेश १ का विभिन्न जिल्लामा अभियान सञ्चालन गरिरहेको टोली काठमाडौं पुगेको हो।

स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने लक्ष्य लिई मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रूपमा ‘मेरो देश, मेरै उत्पादन’ अभियान सुरू गरेका थिए। अभियान अन्तर्गत दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिबद्धतापत्र बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरिएको छ। विराटनगरका उद्योगी व्यवसायीको टोलीले राष्ट्रपतिलाई लोगो र प्रतिबद्धतापत्र हस्तान्तरण गरेको मोरङ व्यापार संघले जनाएको छ।

स्वदेशी वस्तु प्रवर्द्धन अभियान लिएर पुगेको टोलीलाई राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा वृद्धि हुने क्रममा रहेको सन्दर्भमा संघ र संगठनले स्वदेशी उद्योग तथा वस्तुको बजार प्रवर्द्धनका लागि सञ्चालनमा ल्याएको यस अभियानमा आफ्नो पूर्ण साथ, सहयोग र समर्थन रहेको बताइन्। उनले स्वदेशी उत्पादन प्रवर्द्धन अभियानमा ठूला उद्योगका मात्रै नभई साना तथा कुटिर उद्योगले उत्पादन गरेका वस्तुलाई समेत समेटी घरेलु, कुटिर र साना उद्योगका उत्पादनको पनि प्रवर्द्धन गर्न सुझाव दिइन्। 

यस अभियानमा ठूला उद्योगका साथै स–साना स्तरमा सञ्चालनमा रही वस्तु उत्पादन गर्दै राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्‍याउँदै आएका कुटिर, लघु, घरेलु तथा साना एवं महिला उद्यमीको उत्पादनलाई समेत समेटी देशव्यापी रूपमा अभियान सार्थक तुल्याउनुपर्ने उनको सुझाव थियो।

प्रकाशित: १५ आश्विन २०७८ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App