१६ चैत्र २०८० शुक्रबार
अर्थ

विद्युतीकरण सम्पन्न भएपनि उपभोक्ताले मिटर पाएनन्

बिद्युत प्राधिकरणमा डेलिगेशनमा आईपुगेका राप्तीपारीका बासिन्दा। तस्बिर:अर्जुन/नागरिक

बाँकेको राप्तीपारी विद्युतीकरण सम्पन्न भएको ६ महिना वितिसक्दा पनि नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई मिटर दिएको छैन। जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३, ४ र ५ तथा नरैनापुरका १ देखी ६ वटै वडामा बिद्युतीकरणको काम सम्पन्न भइसकेको लामो समय भइसकेको छ।  

तर, उक्त क्षेत्रमा प्राधिकरणले उपभोक्तालाई मिटर दिन नसक्दा अहिले पनि अन्धकारमा बस्नुपरेको त्यहाँका स्थानीय बताउँछन्। त्यस क्षेत्रका हजारौं स्थानीय विद्युत सेवाबाट बन्चित भइरहेका छन्। विद्युतीकरणको काम सम्पन्न भएपनि मिटर जडानमा ढिलाई गरिदिएको भन्दै राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ का स्थानीय बासिन्दा बुधबार मिटर माग्न नेपालगन्ज आइपुगेका छन्। उनीहरुले नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्ज र प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुखलाई भेटेका हुन्।

स्थानीय उपभोक्ताले बिद्युतीकरणको काम सम्पन्न भएको ६ महिना भन्दा बढी समय भईसक्दा पनि घर अगाडीबाट तार तानेर बत्ती बाल्न नसकिएको गुनासो गरे। उनीहरुले मिटर जडानको ब्यवस्था छिटो मिलाईदिन दुबै कार्यालयका प्रमुखलाई अनुरोध पनि गरेका छन्।  

छुट्टा छुट्टै भेटेका उपभोक्ता सामु  प्राधिकरण डिभिजन प्रमुख सुरज गौतम र वितरण प्रमुख लखनलाल मल्लिकले एक अर्कामाथी आरोप मात्रै लगाएका थिए। दुबै निकायको कुरा सुनेपछि उपभोक्ताहरु निराश बनेका थिए। राप्ती सोनारी गाउँपालिकाले आफ्नै लगानीमा वडा नम्बर ३ मा विद्युतीकरणको काम सम्पन्न गरेर गत चैत १८ गते प्राधिकरणलाई हस्तान्तरण गरेको थियो। राप्तीसोनारीको अन्य वडा र नरैनापुरमा भने प्राधिकरणले नै काम सम्पन्न गरेको थियो।  

काम सम्पन्न भएपछि उपभोक्ताले मिटर जडानका लागि निवेदन दिन सुरु गरेका थिए। प्राधिकरणलाई मिटर जडानका लागि अग्रिम रकम बुझाईसकेको महिनौं बितिसक्दा पनि अहिलेसम्म बत्ती बाल्न नपाएको स्थानीयको गुनासो छ। डेलिगेशनका लागि आईपुगेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारु, राजनीतिककर्मी हेमकुमार डाँगी, सन्तोष चौधरी लगायतले विद्युत प्राधिकरणले मिटर जडानमा उपभोक्तालाई झुलाउने काम गरिरहेको गुनासो गरे। प्राधिकरणको डिभिजन कार्यालय र वितरण केन्द्रबीचको लडाईले उपभोक्ता मर्कामा परेको उनीहरुको दुखेसो छ। प्राधिकरणले पटक–पटक आफूहरुलाई आश्वासन मात्र बाँडेको स्थानीयको आरोप छ। यद्यपी, प्राधिकरणका डिभिजन प्रमुख गौतम र वितरण केन्द्र प्रमुख मल्लिकले राप्तीपारी चाडै मिटर जडान गरिदिने आश्वासन दिन भ्याए। 

प्रकाशित: ६ आश्विन २०७८ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App