८ वैशाख २०८१ शनिबार
अर्थ

नारायणगढ – बुटवल सडक खण्ड विस्तार : साढे दुई वर्षमा ८ प्रतिशत प्रगति

फाइल तस्बिर

दुई लेनको पूर्व–पश्चिम (महेन्द्र राजमार्ग) अन्तर्गतको पहिलो चरणमा बुटबल–नारायणगढ खण्डलाई चार लेनको बनाउने योजनासहित अघि सारिएको योजनाको दुई वर्षको भौतिक प्रगति आठ प्रतिशतमा मात्रै सीमित देखिएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ मा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटबल–नारायणगढ खण्ड विस्तार आयोजनाको भव्य कार्यक्रमबीच शिलान्यास गरेका थिए। त्यसको झण्डै साढे दुई वर्ष बित्दा समष्टिगत भौतिक प्रगति जम्मा चार प्रतिशत देखिएको छ। 

सरकारले आव २०७५/७६ मा ११३ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्ने योजना अघि सारेको थियो।  सरकारी लक्ष्य अनुसार यो आयोजना आगामी आव २०८४/८५ भित्र सम्पन्न गर्नुपर्नेछ। तर साढे दुई वर्षको भौतिक प्रगति हेर्दा तोकिएको समयभित्र आयोजना सम्पन्न हुने लगभग अनिश्चित छ। सडक विभागका अनुसार हालसम्म यसको समष्टिगत भौतिक प्रगति ८ प्रतिशत छ।

विभागका महानिर्देशक अर्जुनजंग थापाले नारायणगढ–बुटवल सडक योजना (पूर्वी खण्ड)को ६ प्रतिशत भौतिक प्रगति भएको बताए। ‘पश्चिम खण्डको भने ८ प्रतिशत छ,’ महानिर्देशक थापाले भने।समयमै साइट क्लियर नहुँदा सोचेअनुरूप काम हुन नसकेको उनको दाबी छ। ‘ठेकेदार योजनामा परिचालन भए पनि रुख कटानको विवाद, साइट क्लियरेन्स नहुनु, कोभिड–१९ लगायत कारणले अपेक्षित ढंगले काम हुन सकेको छैन,’ उनले भने, ‘अहिले ठेकेदार कम्पनीलाई नै आयोजनामा विद्युत्को लाइन हटाउने लगायत जिम्मेवारी दिएका छौं। अब कामले गति लिने आशा गरेका छौं।’

गत असार मसान्तसम्म दुवै खण्डको समष्टिगत भौतिक प्रगति चार प्रतिशत मात्रै थियो। चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पाेरेसन, आयोजना निर्देशनालय (एडिबी) र सडक विभागको लापरवाही र ढिलासुस्तीले आयोजनाको प्रगति निराशाजनक देखिएको हो। सरकारले आव २०७५/७६ मा सुरु गरेर यो आयोजना आव २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य राखेको थियो। सो खण्डमध्ये दाउन्ने खण्डमा ४.१ किलोमिटरको तीन लेन सडक विस्तार गर्ने योजना छ।

बजार क्षेत्रमा १७.४ किलोमिटर खण्ड भने ६ लेनमा विस्तार गर्ने योजना थियो। त्यसैगरी, बाँकी ४३ किलोमिटर सडक चार लेनमा स्तरोन्नन्ति र साना–ठूला गरी ४४ पुल निर्माण गर्ने लक्ष्य छ। सरकारले यो खण्ड निर्माणको लागि भ्याटसहित नौ अर्ब १३ करोड रूपैयाँमा ठेक्का लगाएको थियो। 

नारायणगढ–बुटवल पूर्वी खण्डको गत आवको अन्त्यसम्म समष्टिगत भौतिक प्रगति ६.२ प्रतिशत र वित्तीय प्रगति २.६५ प्रतिशत थियो। गत आवको अन्त्यसम्म तीनवटा पुल निर्माण हुने तर्खरमा थिए। १२ वटा पुलको जग तथा सबस्ट्रक्चर तयार पार्ने काम भइरहेको छ। नारायणगढ–बुटवल सडक योजनाको पूर्वी खण्डतर्फ गत आवमा पाँचवटा पुल निर्माण गर्ने लक्ष्य थियो। तर सो अवधिमा एउटै पुल तयार भएन। योजनाका अनुसार तीन पुल निर्माणको अन्तिम चरणमा छन्। यो योजनाले आव २०७७/८८ को वार्षिक लक्ष्यको ४१.९५ प्रतिशत मात्रै भौतिक प्रगति र १३ प्रतिशत वित्तीय प्रगति गरेको छ।

यो सडक योजनाको पश्चिम खण्डमा ४८.५३ किलोमिटर सडक र ३० वटा पुल निर्माणको लक्ष्य छ। सोका लागि सात अर्ब ८६ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ। यो आयोजनाको गत आवको असार मसान्तसम्मको समष्टिगत भौतिक ८.०७ प्रतिशत छ। यो योजनाले मोबिलाइजेसन पेस्कीसहित ३४ करोड ८९ करोड रूपैयाँ मात्रै खर्च गरेको छ। 

अहिले ८२ वटा कल्र्भट निर्माणाधीन अवस्थामा छन्। १० वटा माइनर पुल निर्माणाधीन अवस्थामा छन्। ६ वटा मेजर पुलको जग र १३ किलोमिटर इमबैंकमेन्ट निर्माणाधीन अवस्थामा छन्। यो योजनाले गत आवको वार्षिक लक्ष्य अनुसार कार्यसम्पादन गर्न सकेको छैन। योजनाले गत आवमा ६० किलोमिटर ‘इमबैंकमेन्ट फिल’ गर्ने, पाँचवटा पुल निर्माण गर्ने र १५ पुलको जग निर्माण गर्ने लक्ष्य राखेको थियो। 

लक्ष्यको आधा पनि काम भएको छैन। योजनाले २६ किलोमिटर इमबैंकमेन्ट फिल गरेको छ। त्यसैगरी, तीन पुल र १० वटा पुलको जग राख्ने काम भएको छ। यो योजनाले गत आवको १३.५ भौतिक प्रगति र ९.५६ प्रतिशत बजेट खर्च गरेको छ। 

प्रकाशित: ५ आश्विन २०७८ ०३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App