२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पुनर्निर्माणका बाँकी काम हस्तान्तरण सुरु

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि पुनर्निर्माण गर्न बाँकी निजी आवास लगायतका संरचनाको काम सम्बन्धित निकायमा हस्तान्तरण सुरु गरेको छ। प्राधिकरणमा आयोजित एक कार्यक्रममा बाँकी रहेका निजी आवास, वस्ती विकास, सरकारी एर्व सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बा, सडक एवं पुलहरूको काम हस्तान्तरण गरिएको हो ।

निजी आवास तथा बस्ती विकासतर्फका बाँकी काम सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ। सरकारी एवं सार्वजनिक भवन एवं स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) मार्फत सञ्‍चालित सम्पदा एवं गुम्बाहरूको पुनर्निर्माणसम्बन्धी काम पनि सोही विभागलाई हस्तान्तरण गरियो ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले गर्दै आएको निजी आवास तथा वस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापन सहितका पुनर्निर्माणसम्बन्धी बाँकी काम पनि विभागलाई हस्तान्तरण भएको छ।  

बाँकी रहेका शैक्षिक संस्थाको पुनर्निर्माणसम्बन्धी काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सो अन्तर्गतका तोकिएका जिल्लास्थित कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

त्यसैगरी, सडक तथा पुल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागलाई हस्तान्तरण भएको छ। अब यो विभागले गुम्बा व्यवस्थापन समितिको समन्वयमा एक सय वर्ष नपुगेका पुनर्निर्माण गर्न बाँकी गुम्बाको पुनर्निर्माणसम्बन्धी काम पनि गर्नेछ।  

बाँकी कामसहित सम्बन्धित केन्द्रीय एवं जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गत रहेका सम्पत्ति, दायित्व, श्रेस्ता कागजात, बेरुजू विवरण एवं कार्यालयसमेत सम्बन्धित निकायमा हस्तान्तरण भएका छन्। हस्तान्तरणपछि जिम्मेवारी लिएका निकायले तत्कालै पुनर्निर्माणका काम गर्नेछन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणका ५ वर्ष ८ महिना २० दिनमा पुनर्निर्माण गर्नुपर्ने कूल संरचनामध्ये मूलभूत रूपमा प्रायः सबै सम्पन्न भएका वा सम्पन्न हुने चरणमा रहेको बताए। 

प्रकाशित: ३१ भाद्र २०७८ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App