१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोदोको रक्सीले आर्थिक समृृद्धिको ढोका खोल्छ : पूर्व सामाजिक विकास मन्त्री राई

प्रदेश नम्बर १ की पूर्व सामाजिक विकास मन्त्री उषाकला राईले कोदोको लोकल रक्सीको औधोगिकरणले आर्थिक समृद्धिको मूलढोका खुल्ने बताएकी छन्।

प्रेस चौतारी नेपाल खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सामाजिक विकास मन्त्री राईले नेपाली पहिचान र राष्ट्रियता बोकेको कोदोको लोकल रक्सीलाई औद्योगीकरण गर्न सके आर्थिक समृृद्धिको मूलढोका खुल्ने बताएकी हुन्। ‘हाम्रो देशमा कोदोको लोकल रक्सी, गाँजा, रक्तचन्दन जस्ता ब्राण्डिङ गर्नुपर्ने चिज धेरै छन्। त्यसमध्ये लोकल रक्सीबाट ब्राण्डिङ सुरु गर्ने प्रयास सुरु भएको छ,’ पूर्व सामाजिक विकास मन्त्री राईले भनिन्, ‘कोदोको रक्सीलाई ‘ब्यान्ड होइन ब्राण्ड’ बनाउनुपर्ने अभियान बहुआयामिक छ। यसकारण कृषि र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्छ। विदेसिएका युवालाई गाउँमै फर्काउन सकिन्छ। यसलाई जुनसुकै सरकारले पनि निरन्तरता दिन आवश्यक छ।’

घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘व्यान्ड होइन ब्राण्ड’ बनाउनुपर्ने अभियान थालेकी पूर्व सामाजिक विकास मन्त्री राईले लोकल रक्सीका लागि पर्याप्त कोदो आवश्यक पर्ने भएकाले कोदोको खेतीले व्यापकता पाउने दावी गरिन्। ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणाले हरेक रक्सी उत्पादक स्थानीयलाई आर्थिक रुपमा स्वरोजगार बनाउने तथा हाल बाँझिएका, नांगो भएका डाँडाकाँडालाई कोदोको खेतीले ढाक्ने पूर्व सामाजिक विकास मन्त्री राईको भनाइ थियो। ‘व्याण्ड भर्सेस ब्राण्ड’ अभियानको सफलताका लागि ७० पृष्ठको सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिवेदन तयार पारिसकिएको तथा आवश्यक कानून निर्माणका लागि चालू आर्थिक वर्ष एक करोड बजेट विनियोजन भइसकेको राईले जानकारी दिइन्।

‘कोदोको लोकल रक्सीमाथिको प्रतिबन्ध फुकुवा गर्दै उत्पादन, ब्राण्डिङ तथा बजारीकरण गर्ने वातावरण बनेलगत्तै विभिन्न जिल्लामा कोदोको पकेट क्षेत्रको विकास हुन्छ। बाँझिएको, झारपात उम्रेका जग्गामा दोकोको खेती सुरु हुने छन्। डाँडाकाँडा हरियो कोदो बालीले ढाक्ने छन्। त्यो हरियालीले पर्यटक आकर्षण गर्ने छन्,’ पूर्व सामाजिक विकास मन्त्री राईले भनिन्, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीमा आकर्षण गर्न सकिन्छ। विदेसी भूमिमा श्रम बेच्न बाध्य युवालाई स्वदेशमै फर्काउन सकिन्छ भन्ने अवधारणा छ।’ राईले १५६ दिन मन्त्रीका रुपमा गरेका काम र उपलब्धिका बारेमा पनि जानकारी दिएकी छन्।

पूर्व मन्त्री राईले वर्षदिन अघिदेखि लोकल रक्सीमाथिको व्याण्ड (प्रतिबन्ध) फुकुवा गरेर ब्राण्ड बनाउनुपर्ने अवधारणा अघि सारेकी हुन्। गत वर्ष प्रशासनको अगुवाईमा दिक्तेलमा लोकल रक्सी नष्ट गर्दासमेत राईले बिरोध जनाएकी थिइन्। २०७७ साल असार १५ गते संसदको विनियोजन विधेयकमाथिको छलफलका क्रममा लोकल रक्सीलाई व्यवसायीकरण र औद्योगिकरण गर्न सके सिंगो देशको आर्थिक समृृद्धिमा टेवा पुग्ने भन्दै राईले ‘व्याण्ड भर्सेज ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी थिइन्। लोकल रक्सीलाई व्याण्ड (प्रतिबन्ध) गर्ने हो भने विदेशी रक्सीलाई पनि व्याण्ड गर्नुपर्ने पूर्व मन्त्री राईको भनाइ छ। 

प्रकाशित: २३ भाद्र २०७८ ०९:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App