१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

धादिङमा ट्राफिक कारबाहीबाट अहिलेसम्मकै धेरै राजश्व संकलन

सवारी चेकजाँच गर्दै प्रहरी। तस्बिर: नागरिक

धादिङमा ट्राफिक कारबाहीबाट अहिलेसम्मकै धेरै राजश्व संकलन भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ट्राफिक प्रहरीले ३ करोड २७ लाख ३८ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको हो। यो राजश्व अघिल्लो वर्षहरुको भन्दा दोब्बरले बढी हो।

ट्राफिक प्रहरीले ३९ हजार २ सय ५८ सवारी साधन कारबाही गरेबापत उक्त रकम संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका इनस्पेक्टर सुदर्शनदेव जोशीले जानकारी दिए। यो जिल्लामा ट्राफिक कारबाहीबाट उठेको अहिलेसम्मकै धेरै राजश्व हो।

आर्थिक वर्ष २०७६/७७ मा एक करोड ५७ लाख ६० हजार ५० र आर्थिक वर्ष २०७५/७६ मा एक करोड १६ लाख ५० हजार राजश्व संकलन भएको थियो। कोरोना महामारीले तुलनात्मक हिसावले सवारी कम चलेको भएपनि कारबाहीलाई तीव्रता दिएकै कारण राजश्व बढी संकलन भएको जोशीले बताए।

‘पहिलेको भन्दा कारबाहीलाई तीव्रता दिएका छौं, त्यसले गर्दा कारबाही सख्या पनि बढेको छ’ जोशीले भने, ‘सार्वजनिक यातायातमा पनि पहिले भन्दा यो वर्ष धेरै नै कारबाहीमा परेका छन्।’  

कारबाहीमा पर्नेमा सबैभन्दा धेरै ट्रिपर परेका छन्। त्यसपछि मालबाहक ट्रक,  मोटरसाइकल, कुखुरा तथा तरकारी बोक्ने गाडीहरु कारबाहीमा पर्ने गरेको ट्राफिक प्रहरीको भनाई छ। नियम उल्लंघन गर्नेलाई न्युनतम ५ सयदेखि ५ हजारसम्म जरिवाना तिराउने गरेको छ।  

‘अधिकांशले एक हजार जरिवाना तिराइएको छ’, उनले भने, ‘ठूलै गल्ती गर्ने र दुर्घटना नै गराउने बाहेक एकाद सवारीलाई मात्रै ५ हजारको जरिवाना लगाइएको छ।’ विना लाइसेन्स सवारीसाधन चलाउने, आवश्यक कागज पत्र नबोक्नेहरुलाई ५ सयको सामान्य जरिवाना गराइदै आएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०७८ ०९:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App