१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेतीगण्डकी पुल निर्माणमा ढिलाइ

तनहुँको एक मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–७, दोभान र भिमाद नगरपालिका–८, भागर जोड्न सेती नदीमाथि निर्माणाधीन पुलको काममा ढिलाइ भएको हो। पुल निर्माण सम्पन्न गर्नुपर्ने तीन वर्षअघिनै हो, तर अहिलेसम्ममा आधा काम पनि हुन सकेको छैन। २०७२ सालमा सम्झौता भएको उक्त पुल २०७५ असार २९ मा सम्पन्न हुनुपर्ने थियो। उक्त पुल एडभेन्चर कन्सट्रक्सन कम्पनी प्रालिले १० करोड एक लाख ५० हजार ५ सय ९३ मा निर्माणको जिम्मा लिएको थियो।  

अहिलेसम्म पुलको दुवैतर्फको फाउन्डेसन निर्माण सकिएको छ। पुलको एक पिल्लर ठड्याइएको छ भने अर्को ठड्याउन बाँकी रहेको सडक डिभिजन कार्यालय तनहुँले जनाएको छ। पुलको डिजाइन केही परिवर्तन हुने भएपछि सुरुमा पुल निर्माणमा ढिलाइ भएको सडक डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी इन्जिनियर नारायण पौडेलले जानकारी दिए। ‘पहिले ढिलाइ भएको थियो अहिले कोभिड र बर्खाका कारण काम रोकिएको छ,’ उनले भने, ‘नदीमा पानीको बहाव घट्नेबित्तिकै ठेकेदार कम्पनी काम गर्न आउँछ।’  

पुल निर्माण सम्पन्न गर्नको लागि भन्दै दुईपटक म्याद थप भइसकेको छ। थप भएको म्याद आगामी असोजमा सकिने कार्यालयले जनाएको छ। बर्खाअघि पुलको बाँकी एक पिल्लर निर्माणको लागि काम गर्दागर्दै नदीमा पानीको बहाव बढेपछि रोकिएको कार्यालयको भनाइ छ।  

ठेकेदारले कोभिड–१९ र बर्खा भन्दै काममा ढिलाइ गरेको भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले बताए। ठेकेदारले विभिन्न बहानामा समयमा काम नगरेको उनको आरोप छ। यता शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले समयमा पुल निर्माण नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको बताए। ‘ठेकेदारले काममा ढिलाइ गरेको छ। पुल कहिले सम्पन्न हुने हो थाहा छैन,’ उनले भने।

१ सय ५ मिटर लामो मोटरेबल पुल निर्माण सम्झौता भएको ६ वर्षसम्म पनि सम्पन्न नहुँदा शुक्लागण्डकी र भिमादका स्थानीयलाई आवतजावतमा समस्या छ। मोटरेबल पुल निर्माण सम्पन्न हुन नसकेपछि झोलुंगे पुलबाट मोटरसाइकल समेत आवतजावत गर्नुपर्ने आवस्था रहेको भिमाद–८, भागरका शिव आले मगरले बताए। ‘तीन वर्षअघि नै पुल निर्माण हुनुपर्ने भए पनि हालसम्म बनेको छैन,’ उनले भने। पुल निर्माण नहुँदा बिरामी भएको समयमा समेत झोलुंगे पुलबाट बिरामी बोेकेर अस्पताल लैजानुपर्ने अवस्था रहेको उनले बताए।  

कोभिडको समयमा काम गर्न नपाएपछि सकिने म्यादबाट ६ महिना म्याद थप हुने सडक डिभिजन कार्यालय इन्जिनियर पौडेलले बताए। पुल निर्माणछि तनहुँको शुक्लागण्डकी र भिमाद नगरपालिका सहित स्याङ्जाको हरिनास सहित विभिन्न स्थानमा पुग्न सजिलो हुनेछ।

प्रकाशित: १३ भाद्र २०७८ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App