२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘लगानी र उद्यमशीलता बढाउन नीतिगत सुधार आवश्यक’

उत्पादनमूलक क्षेत्रमा नयाँ लगानी र उद्यमशीलता बढाउन नीतिगत सुधार आवश्यक रहेको सरोकारवालाले बताएका छन्। नेपाली युवा उद्यमी फोरम वीरगन्ज र इकोनोमिक रिपोटर्स एसोसिएसनले सोमबार साँझ आयोजना गरेको ‘युवा उद्यमशीलता : अवसर र चुनौती’ विषयक छलफलका सहभागीले युवा उद्यमशीलताको अवसर उपयोग हुन नपाएको बताए। नीतिगत कमजोरी, प्रक्रियागत समस्या, हतोत्साहित गर्ने कानुनी व्यवस्था र परम्परागत शैलीको बैंकिङले सम्भावनाको सदुपयोग हुन नपाएको उनीहरूले बताए।  

नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले सूचना, प्रविधिले उद्यम, व्यापार सहज बनाएको र यसबाट अवसरहरू सिर्जना भएको बताए। ‘सूचना प्रविधिले ल्याएका अवसरको उपयोगमा युवा उद्यमी चनाखो हुनुपर्छ,’ कार्यक्रमका प्रमुख अतिथि रहेका उद्योगी लाठले भने, ‘आजको उद्यम, व्यापार प्रविधिमा आधारित, नयाँ खोज अनुसारको र परम्परागत व्यापारको कमजोरीको विकल्पको रूपमा आउनुपर्ने बताए।

वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले भन्सारको मुख्य उद्देश्य व्यापार सहजीकरण हो भन्दै पछिल्लो समय भन्सार मूल्यांकन र महसुल दरसम्बन्धी अप्ठेरामा निकै सुधार भएको बताए। उद्यम र व्यापारमा भन्सारका प्रक्रियाहरू बाधक बन्नु हुँदैन भन्ने भन्सारको संस्थागत ध्येय भएको उनको दाबी छ।

भन्सारका प्रक्रिया र भन्सार प्रशासन सरल र प्रविधिमैत्री बनाउँदै लगिएको पनि उनले बताए। आन्तरिक राजस्व कार्यालय, वीरगन्जका प्रमुख सुनिलकुमार यादवले व्यवसायी र उद्यमीहरू करसम्बन्धी नियम र यसका प्रक्रियाबारे सुसूचित हुनुपर्ने बताए। उनले युवा उद्यमीले ‘वेबसाइट’मा राखिएका जानकारी अध्ययन गर्न सके त्यसबाट धेरै कुरा थाहा हुने बताए। कर प्रशासन पारदर्शी हुँदै गएको, करसम्बन्धी धेरैजसो सेवा अनलाइनबाटै दिन थालिएको, सेवाग्राहीलाई कागजी झन्झटरहित सेवा प्रवाह गर्न थालिएको जस्ता सुधार उनले सुनाए।

बैंकले उद्यमसम्बन्धी योजनाभन्दा त्यसको प्रस्तावकर्ताको नाम थर र पहिचानलाई महŒव दिँदै कर्जा प्रवाह गर्ने गरेको सहभागीले बताए। उद्योग, होटल तथा पर्यटन व्यवसाय र व्यापारमा भएका लगानी जेगाउन सरकारले ध्यान दिनुपर्ने उनीहरूले बताए।

पछिल्लो समयमा कोरोना कालमा भारतले सीमा खुला गरे पनि नेपालतर्फ औपचारिक आवतजावत बन्द भएपछि त्यसबाट पर्यटन व्यवसाय धराशयी बन्न थालेको वक्ताहरूको गुनासो छ।

कार्यक्रमको अध्यक्षता गरेका नेपाली युवा उद्यमी फोरम वीरगन्जका अध्यक्ष अनुप अग्रवालले नेपालमा रहेको उद्यम तथा व्यापारको अवसर उपयोगका लागि नीतिगत र प्रक्रियागत समस्या समाधान गरिनुपर्ने बताए। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले अनुसन्धानमा आधारित उद्यममा जोड दिए। देशभित्रै गुणस्तरीय शिक्षा लिएका वा विदेशमा पढेका युवा पुस्तालाई स्वदेशको आवश्यकता पूर्तिका निम्ति आकर्षित गर्न आवश्यक रहेको नेपाल–भारत सोसियो इकोनोमिक फोरमका अध्यक्ष अशोककुमार टेमानीले बताए।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, उद्योगी अरविन्द्र अमात्य, चार्टर्ड एकान्टेन्ट सुवास खण्डेलवाल र बैंकर्स ग्रुप वीरगन्जका अध्यक्ष नितेश खड्गी लगायतले युवा उद्यमीले विभिन्न क्षेत्रमा भएका अवसरको अन्वेशण गर्न सक्नुपर्ने बताए। कार्यक्रममा वीरगन्ज–नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ) र इकोनोमिक रिपोटर्स एसोसिएसन (इआरए) बीच आर्थिक तथा सामाजिक क्षेत्रको उत्थानका विषयमा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ। 

प्रकाशित: ९ भाद्र २०७८ ०१:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App