८ वैशाख २०८१ शनिबार
अर्थ

पाहुना त आउन थाले, तर, घुम्न पाएनन्

हवाई जहाज चढेर आएका यात्रु पोखरा विमानस्थलबाट बाहिरिँदै । तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमणका कारण पर्यटन क्षेत्र सुस्ताएको लामो समय भइसक्यो । कोरोनाको पहिलो लहर कमजोर भएपछि केही सहज बनेको पर्यटन क्षेत्र दोश्रो लहरसँगै पुनः सुस्ताएको थियो । दोश्रो लहर पनि केही कमजोर भएपछि यो बेला आन्तरिक पाहुना फाट्टफुट्ट घुम्न निस्कन थालेका छन् ।  

पोखरामा आन्तरिक पाहुनाको केही चलहपहल देखिन थालेको व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार पाहुना त देखिएका छन, तर, उनीहरु पोखरा क्षेत्रमा घुमघाममा भने निस्कन पाएका छैनन् । आएका पाहुना पनि होटलभित्रै सिमित हुनुपरेको छ । पोखरा आसपासका पर्यटकीय गन्तव्य अहिलेसम्म खुलेका छैनन । प्याराग्लाइडिङ, बञ्जीजम्प जस्ता साहसिक गतिविधिका प्रडक्ट पनि बन्द छन । पहिचान कमाएका मठमन्दिर पनि खुलेका छैनन । घुम्ने गन्तव्य नखुल्दा आएका पाहुना पनि घुम्न नपाई फर्किने गरेको व्यवसायीको भनाई छ ।  

व्यवसायीका अनुसार पोखरामा यो बेला आन्तरिक पाहुना आएको एउटा बलियो प्रमाण हो–आन्तरिक हवाई सेवामा यात्रुको भीडभाड । पोखरा–काठमाडौं रुटमा अहिले हवाई यात्रुको भीड छ । पोखरा विमानस्थलका अनुसार पोखरा–काठमाडौं हवाई रुटमा दिनमा एकतर्फी यात्रुको संख्या करिब आठसय छ । अहिले बुद्ध र यति एयरलाइन्सले ७२ सिट क्षमताका जहाजबाट दिनमा दर्जन हाराहारीमा पोखरा–काठमाडौं रुटमा उडान गरिरहेका छन् । त्यस्तै बुद्धले पोखराबाट भैरहवा, भरतपुर र नेपालगञ्जसम्म उडान थप्दा यात्रु संख्या बढिरहेको विमानस्थलका सुचना अधिकारी देवराज सुवेदी बताउँछन् ।

‘योबेला आन्तरिक यात्रुको संख्या राम्रो छ । कोरोनाको यो अप्ठेरोमा पनि आएका आन्तरिक यात्रुको भीड देख्दा कोरोना नै बिर्साउँछ,’ सुवेदी भन्छन, ‘हवाई जहाजमा आएजति सबै आन्तरिक पाहुना नहुन पनि सक्छन । वर्षायामको स्थलयात्रा छल्न कतिपयले हवाई यात्रा रोज्दा हवाईजहाजमा केही भीड बढेको पनि हो । तर, आन्तरिक यात्रु नै नभएको भन्न पनि मिल्दैन ।’ ७२ सिट क्षमताका जहाजले क्षमता अनुुसार यात्रु बोक्नुले भीडभाडको संकेत गर्ने उनले बताए ।  

जहाजमा मात्र नभई पोखराभित्रका केही चल्तीका होटलमा पनि पाहुना छन् । पोखरा नजिकैको अस्तामको अन्नपूर्ण इको भिलेज रिसोर्टमा आन्तरिक पाहुना नपुगेको दिन खालि हुँदैन । अन्नपूर्ण इको भिलेजका संचालक विश्वराज अधिकारीले पाहुनाविहीन हुनु नपरेको बताउँछन् । पोखराबाट करिब १५ किलोमिटर टाढाको यो रिसोर्टमा अहिले आन्तरिक पाहुना पुग्ने गरेका छन् । त्यस्तै पोखराका विभिन्न परियोजनामा कार्यरत विदेशी पाहुना पनि अन्नपूर्ण भिलेजमा बास बस्न पुग्ने गरेको अधिकारीले बताए । ‘धेरै नै पाहुना आएका होईनन, तर पाहुनाविहीन भएर कुनैपनि दिन बस्नु परेको छैन,’ उनले भने ।  

लेकसाइडकै होटल बाराहीका महाप्रबन्धक राजकुमार केसी पनि पछिल्लो समय आन्तरिक पाहुनाको चहलपहल बढ्न थालेको बताउँछन् । राजधानी काठमाडौंमा तीनदिन लगातार सार्वजनिक बिदा परेकोले पनि यो बेला पोखरामा आन्तरिक पाहुना आएका छन् । निजी गाडीमा परिवारै घुम्न आउने गरेको उनले बताए । ‘हामीसँग दिनमा २०÷२२ वटा कोठामा पाहुना छन् । बिदाले पनि केही आउजाउ बढाएको हो,’ केसीले भने, ‘कोरोनाका संक्रमण घट्ने हो भने आन्तरिक पाहुना घुम्न आउने संकेत पाइएको छ ।’ 

नका अनुुसार जसोतसो पोखरा आएका पाहुना घुम्न जान भने पाएका छैनन । होटलभित्रै बस्ने र खाने गरेका छन् । बेलुकी ८ बजेपछि लेकसाइडमा रेस्टुरेन्ट खोल्न स्थानीय प्रशासनले रोक लगाएकोले पनि पाहुनाले रमाइलो गर्न पाएका छैनन । ‘आसपासका क्षेत्र घुम्न पनि नपाउने र होटलभित्रै बस्नुपर्ने बाध्यताले पनि कतिपय पाहुनाको बसाई अवधि कम हुने गरेको छ,’ केसीले भने ।  

लेकसाइडकै माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराईका अनुसार केही होटलमा पाहुना आएका छन । सहरभित्रका मात्र नभई आसपासका डाँडाकाँडामा संचालित होटलमा अझ बढी पाहुना पुगेको उनले बताए । ‘हाम्रो होटलमा पनि केही पाहुना आएका छन् । तर, अहिले नै भनेजति त आएका होईनन,’ उनले भने । उनका अनुसार हवाई जहाजमा यात्रुको भीडभाडले पनि पोखरामा आन्तरिक पाहुना आएको पुष्टि हुन्छ । यात्रु अभावमा सस्तोमा हवाई यात्रा गर्न पाइने गरेकोमा पछिल्लो समय यात्रु बढेपछि हवाई टिकट समेत महंगो बनेको भट्टराईले बताए ।  

‘पाहुना त आएका छन्, तर, घुमघामा भने जान पाएका छैनन । होटलभित्रै थुनिएर बस्नुपरेको छ,’ भट्टराइले भने, ‘पर्यटक घुमफिरमा जान पाएका छैनन । होटलमै बस्ने र भित्रकै रेस्टुरेन्टमा खाने बाहेकका गतिविधि हुन सकेनन ।’ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पर्यटकीय गन्तव्य खुलाउने र सहज बनाउने हो भने आन्तरिक पाहुना आउने उनको अनुमान छ । स्थानीय प्रशासनले होटल क्षमताको ५० प्रतिशत कोठामा मात्र पाहुना राख्न पाउने गरि स्वीकृति दिएको छ ।  

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) पश्चिमाञ्चलका अध्यक्ष हरिराम अधिकारीका अनुसार पाहुना आएपनि घुमफिर गर्न नपाउँदा अन्योल थपिएको बताउँछन । ‘पाहुना आएका छन । तर, उनीहरु घुमफिरमा जान नपाउँदा होटलभित्रै थुनिएर बस्न बाध्य छन,’ अधिकारीले भने, ‘पाहुना घुम्ने गन्तव्य बन्द हुँदा अन्योल भएको छ । कम्तिमा पोखरा भित्रका पर्यटकीय गन्तव्य खुल्ने हो भने केही सहज हुन्थ्यो । खोप लगाएर पाहुना घुम्न आएका छन, तर, घुमफिर गर्न पाएका छैनन ।’

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार चहलपहल केही बढेको छ । अलिअलि आन्तरिक पाहुना आउन थालेका छन । पछिल्लो समय स्थानीय प्रशासनले सवारीमा जोर विजोर प्रणालि लागु गरेको र निषेधाज्ञाको त्रासका कारण पनि पर्यटन क्षेत्र चाहेर पनि फराकिलो हुन नसकेको उनले बताए । ‘होटल खुलाउन पनि अन्योल नै छ । घुम्ने ठाउँ कतै खुलेका छैनन । पाहुना आएर मात्र होटलमा बस्ने हो, लेकसाइड डुल्ने हो,’ उनले भने, ‘आएका पाहुनालाई सुरक्षित तवरले घुम्ने माहोल बनाइदिने हो भने पर्यटनमा केही लाभ हुन्थ्यो ।’

प्रकाशित: ५ भाद्र २०७८ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App