२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजेट खर्चको क्षमता बढाउः अर्थ तथा विकास समिति

अर्थ तथा विकास समिति गण्डकी प्रदेशले बजेट खर्चको प्रतिशत बढाउने गरी काम गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको छ । समितिले शुक्रबार अर्थमन्त्री रामजीप्रसाद बरालसँग छलफल गर्दै अघिल्ला वर्षहरुमा खर्च प्रतिशत कम देखिएकाले चालु वर्षमा बजेटको खर्च प्रतिशत बढाउने गरी काम गर्न निर्देशन दिएको हो ।

समिति सभापति दीपक कोइरालाले भने, ‘पहिलो भन्दा दोश्रो वर्ष खर्चको प्रतिशत केही बढेको देखिन्छ, तर अझै सन्तोष मान्नुपर्ने अवस्था छैन । त्यसैले चालु वर्षमा बजेटको खर्च प्रतिशत बढाउने गरी काम गर्न जरुरी छ ।’ उनले असारमा खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नसमेत निर्देशन दिए ।  ‘प्रायः खर्च अन्तिम चौमासिकमा गर्ने प्रवृत्ति छ, त्यसमा पनि अधिकांश बजेट असारमा नै खर्च गर्ने गरिन्छ, यसले गर्दा कामको गुणस्तर हुँदैन अनि खर्च पारदर्शी पनि हुँदैन, त्यसैले समयमै काम गर्ने वातावरण बनाउनुस् ।’

समितिले संस्थागत र नीतिगत रुपमा हुने भ्रष्टाचार अन्त्य गर्नपनि निर्देशन दिएको छ । ‘अरु भ्रष्टाचार कम हुँदै गएको छ, तर नीतिगत रुपमा र संस्थागत भ्रष्टाचारले गाँजेको छ, त्यस्तालाई कारबाही गर्ने स्थिति पनि बन्दैन,’ उनले भने । समितिले प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउने योजना बनाउन पनि निर्देशन दिएको छ । समितिका सभापति कोइरालाले भने, ‘प्रदेश आर्थिक रुपमा बलियो नभएको र गाडी लगायतका सुविधा लिँदा संघीयता महङ्गो भयो भन्ने आवाज आइरहेको छ, त्यसैले प्रदेशलाई आर्थिक रुपमा सबल बनाउन जरुरी छ, त्यसका लागि करको दायरा कसरी बढाउन सकिन्छ भन्ने बारेमा कार्ययोजना बनाउन आवश्यक छ ।’  

समितिमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री रामजीप्रसाद बरालले संघीयताको मूल मर्म अनुसार काम गर्ने प्रतिबद्धता जनाए । तर त्यसरी अगाडि बढ्न बाधा अवरोध आइरहेको उनले बताए । तीनतहले कुन कुन ठाउँमा खर्च गर्ने भन्ने थाहा नहुँदा अहिले अराजक तरिकाले खर्च भइरहेको मन्त्री बरालको भनाई छ ।  

‘संघ, प्रदेश र स्थानीय तहले कहाँ कहाँ खर्च गर्ने भन्ने छैन, त्यसैले अराजक तरिकाले खर्च भइरहेको छ, यो भन्न मलाई अप्ठेरो छैन ।’ राजनीतिक स्थायित्व नहुँदा त्यसको असर काम गराईमा पनि परिरहेको भन्दै उनले राजनीतिक अस्थिरता लम्बिदै जाँदा थप अराजकता मच्चिन सक्ने उनको विश्लेषण छ ।

अर्थमन्त्री बरालले बजेटमा संघको भरपर्नुपर्ने स्थिति रहेको बताए । यो संघीयताको मर्म बिपरित भएपनि अहिलेको बास्तविकता यहि भएको बताए । ‘एक त बजेट नै अत्यन्त न्यून छ, त्यसमापनि त्यहि बजेट खर्च गर्ने क्षमता पनि छैन,’ उनले भने । उनले खर्च गर्ने क्षमता बढाउनका लागि हरसम्भव प्रयास भइरहेको बताए । त्यसका लागि साउन भित्र कार्ययोजना बनाउन र भदौमा कार्यविधी तयार गरेर असोजदेखि टेण्डरमा जानका लागि निरन्तर लागिरहेको उनको भनाई छ ।  

अर्थमन्त्री बरालले सरकार बनाउँदाको परिवेशका कारण अहिलेको बजेट संघीयताको मर्म अनुसार ल्याउन नसकेको बताए । ‘बजेट ल्याउँदा अर्थमन्त्री नै थिएन, जसको असर बजेटमा प¥यो, कनिका छरेजस्ता बजेट ल्याएको भनेर जुन टिप्पणी भइरहेको छ, त्यो सत्य हो, यसलाई करेक्सन गर्नुपर्छ भन्ने मलाई पनि लाग्छ तर अहिले यसैलाई कार्यान्वयन गर्दै लैजानुको विकल्प भने छैन,’ उनले भने ।

प्रकाशित: ४ भाद्र २०७८ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App