२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सर्त पालना नहुँदा चियाको गुणस्तरमा असर

इलामको सूर्याेदय नगरपालिकामा चिया टिप्दै किसान। तस्बिर: भीम/नागरिक

जनप्रतिनिधिसहित जिल्लास्तरीय अनुगमन समितिले सूर्याेदय नगरपालिका–४ स्थित हरियो चियापत्ती संकलन केन्द्रमा ल्याएको पत्ती अनुगमन गर्दा ८ वटासम्म पात भएको चियापत्ती (डालो) भेट्टायो। सामान्यता, चियाको गुणस्तरीय पत्ती चाहिँ २ पात १ सुइरोको मात्र हुन्छ। अनुगमन टोलीले किसान र पत्ती संकलनकर्तालाई आइन्दा यस्तो गुणस्तरहीन पत्ती नल्याउन ‘फिल्ड’मै सचेत गरायो।  

टोलीले त्यही वडाको एक चिया उद्योगले सूचनापाटीमा कानुनविपरीत आफूखुसी हरियोपत्तीको मूल्य तोकेर राखेको फेला पा¥यो। र, त्यो सूची तत्कालै हटाइदियो। स्थानीय सरकारले तोकेको हरियो चियाको न्यूनतम् मूल्य किसानलाई दिन र आइन्दा यसरी आफूखुसी मूल्यसूची नराख्न भन्यो। टोलीमा थिए, जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाल बराल, सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राई, सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईं र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सदस्य पुनम राईलगायत।

जिल्लाको माइखोलापूर्वका हजारौं किसान वर्षाैंदेखि हरियो चियापत्तीको मूल्य नपाएर लगानी नै उठ्न नसकेको चिन्तामा छन्। यहाँका चिया उद्योगी हरियोपत्ती नै राम्रो नभएकाले गुणस्तरीय चिया बनाउन नसकेको गुनासो गर्छन्। र, उद्योगी किसानलाई हरियोपत्तीको मूल्य दिन नसकेको जवाफ फर्काउँछन्। सरकारी निकायले निरन्तर अनुगमन नगरिदिएकाले आफूहरू मर्कामा परेको दुवै पक्षको साझा गुनासो पनि छ। सबै पक्ष केलाउँदा थाहा हुन्छ, चिया उद्योगी, किसान, संकलनकर्ता र स्थानीय सरकार एकले अर्काको टाउकामा ‘दोष’ थोपर्दा चियाको गुणस्तर र यसबाट हुने आम्दानीमा चाहिँ नराम्रोसँग असर पुगिरहेको छ।  

‘चियाको राजधानी’ मानिने सूर्याेदय नगरपालिकामा सरकारीस्तरबाट हरियो चियाको न्यूनतम् समर्थन मूल्य तोकिएको ३ वर्ष भयो। कानुन मान्ने हो भने यहाँ सञ्चालित उद्योग र संकलकबाट सबै किसानले हरियोपत्तीको मूल्य प्रतिकिलो ४० रुपैयाँ पाउनुपर्ने हो। उच्च गुणस्तरको तयारी चिया उत्पादन हुने फस्ट फ्लसका बेला हरियो पत्ती थोरै नै हुन्छ र मूल्यमा खास तलमाथि पनि गरिँदैन। तर, जब असार–साउनमा किसानको बगानमा धेरै पत्ती पलाउँछ, त्यतिबेला मूल्यको विवाद सुरु भइहाल्छ। उद्योगी र संकलकले विभिन्न कारण देखाउँछन्, किसानको हरियोपत्तीको मूल्य स्वात्तै घटाइहाल्छन्।  

अहिले सूर्याेदय नगरकै धेरैजसो किसानले हरियो चियापत्तीको मूल्य प्रतिकिलो २० देखि ३० रुपैयाँमात्र पाइरहेका छन्। केही उद्योगले कानुन मिचेर हरियो चियाको मूल्य आफैं तोक्ने विगतकै समस्या दोहोरिएको छ। यो अवस्थामा किसान चियाको मूल्य पाइएन भनेर केही समय कराउँछन्, नगरपालिका धाउँछन्, छलफल गर्छन्, उद्योगीसँग पनि वार्ता गर्छन्, सहमति गर्छन्। तर, कार्यान्वयन फेरि पुरानै हिसाबमा पुगिहाल्छ। चिया किसान संगठित नहुँदाको प्रत्यक्ष फाइदा उद्योगीलाई पुगिरहेको छ। सूर्याेदय नगरकै एक अगुवा किसान दुखेसो पोख्छन्, ‘उद्योगीले नै किसानलाई कहिल्यै संगठित हुन दिँदैनन्, जस्तोसुकै तिकडम लगाएर भएपनि किसानलाई संगठित हुन नदिएपछि त उद्योगकै हाइहाई चल्ने भैगो नि !’  

प्रायः चियाको सिजन सुरु भएपछि (चैत–वैशाख)मा किसान–उद्योगीबीच विवाद सुरु हुन्छ। असोज–कात्तिकसम्म चल्छ। त्यसपछि करिब ६ महिना चुपचाप। अनि, अर्काे सिजन सुरु भएपछि पुनः उही प्रक्रिया दोहोरिन्छ। सूर्याेदय–१० का चिया किसान हरि सुवेदी विशेषगरी असार–साउनमा पत्ती धेरै पलाएका बेला उद्योगीले पत्ती बढी भो, किन्न सकिँदैन भनेर मूल्य घटाउनेगरेको बताए। ‘यो बेला किसानले उद्योगीलाई नै चित्त बुझेको दाममा हरियो चिया बेच्नुबाहेक कुनै विकल्प हुँदैन,’ सुवेदीले भने, ‘पोहोर र यो साल त उद्योगीले कोरोनाको कारण देखाएर पनि हरियो चियाको मूल्य घटाइदिए। यस्तो बेला किसानको न कुनै उपाय चल्छ, न कुनै पहुँच छ।’ 

उद्योगले भनेकै दाममा नबेच्ने हो भने किसानले वर्षभरि रगत–पसिना बगाएर उत्पादन गरेको चिया त्यसै नास भएर जाने समस्या रहेको उनले सुनाए।  सूर्याेदय नगरकै केही उद्योगबाट उच्च गुणस्तरको अर्गानिक अर्थाेडक्स तयारी चिया अमेरिका, जर्मनीलगायत विश्वका दर्जनभन्दा बढी मुलुकमा पुगिरहेको छ। यस्तै चिया उत्पादन गरी विदेशी मुद्रा आर्जन गर्न र चियाकै माध्यमबाट विश्वमा इलामलाई चिनाउन नगरका जनप्रतिनिधि, किसान, उद्योगीलगायत एकजुट भए। किसानको वर्षाैंदेखिको समस्या समाधान गर्ने प्रयासमै सूर्याेदय नगरले २०७५ सालमा उद्योगी, किसान, चियासम्बद्ध सरकारी निकायका प्रतिनिधिलगायतको सहमतिमा हरियो चियाको न्यूनतम् समर्थन मूल्य लागू ग¥यो।  

राष्ट्रिय चिया तथा कफी विकास बोर्डसमेतको सहकार्यमा अध्ययन गर्दा किसानले १ किलो हरियोपत्ती उत्पादन गर्न नै ३८ रुपैयाँ लगानी गर्नुपरेको तथ्य नगरले फेला पा¥यो। त्यसैका आधारमा २ रुपैयाँमात्रै आम्दानी राखेर भएपनि हरियोपत्तीको न्यूनतम् समर्थन मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकियो। त्यतिमात्र होइन, नगरले आफ्नोसहित उद्योगी, किसान र हरियो पत्ती संकलकलगायतले गुणस्तरीय चिया उत्पादनका लागि पूरा गर्नुपर्ने सर्तसमेतमा सहमति गराइ कार्यविधि नै जारी ग¥यो। तर, इमानदारीसाथ सर्त पालना नगरेकै कारण यो वर्ष पनि चियामा उही समस्या दोहोरिएको छ। किसानले समेत हरियोपत्तीमा गुणस्तर कायम गर्न सकेका छैनन्। चियामा सामान्यतया २ पात–एक सुइरोको पत्ती गुणस्तरीय मानिन्छ। कार्यविधिअनुसार पनि किसानले कम्तीमा ४० प्रतिशत सुइरो भएको हरियोपत्तीमात्र उद्योगीलाई बेच्नुपर्छ।  

तर, अहिले ८ वटासम्म पात भएको हरियोपत्तीसमेत उद्योगसम्म पुगिरहेको छ। जिसस प्रमुख बराल किसानले पनि उद्योगलाई गुणस्तरीय पत्ती दिनुपर्ने बताउँछन्। ‘केही उद्योग र संकलन केन्द्रको अनुगमन गर्दा हरियोपत्ती नै गुणस्तरीय देखिएन,’ उनी भन्छन्, ‘तर, गुणस्तरीय पत्ती बेचेरै उच्च मूल्य पाइरहेका किसान पनि त्यही नगरमा नभएका होइनन्।’ गुणस्तरहीन पत्ती बेच्ने किसानका कारण अरू किसानलाई समेत मूल्य लिन असर पुगिरहेको छ। कतिपय उद्योगीले सबै किसानको हरियोपत्तीलाई उस्तै बुझिदिने भएकाले असल कृषि अभ्यास गरिरहेका किसानलाई समेत असर पुगेको छ। बरालले सम्बद्ध सबै पक्ष सचेत भएमात्रै चियामा गुणस्तर कायम गर्न सकिने देखिएको बताए।  

तर, किसानले गुणस्तरहीन चिया उत्पादन गर्नुको कारण पनि अप्रत्यक्ष रूपमा उद्योग नै हुन्। कतिपय उद्योगले विगतमा किसानले ल्याएको गुणस्तरहीन पत्तीसमेत न्यूनतम् मूल्यभन्दा थोरैमा खरिद गरिदिए। त्यही आडमा किसानले ‘बिकिहाल्छ नि’ भन्ने आसमा हरियो चियामा गुणस्तर कायम नगर्दा पछिल्लो समस्या बल्झिएको हो। किसान र उद्योगी दुवै पक्षको हीत हुने भन्दै उद्योगले किसानलाई न्यूनतम् मूल्य दिने तर नगरभरको हरियोपत्ती नगरभित्रकै उद्योगमा खपत गर्ने गरियो। यो सहमति पनि दुवै पक्षबाट पालना भएन। अहिले किसान आफूले उत्पादन गरेको हरियोपत्ती जहाँ बढी मूल्य पाइन्छ, त्यहीं बेच्न पाउनुपर्ने अडानमा छन्।  

उद्योगहरूले चियाको मूल्य नदिएको किसानले गुनासो गरिरहेका बेला उद्योगीको पनि किसानप्रति नै गुनासो छ। ६२ चिया उद्योग आबद्ध सूर्याेदय टि प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेल अहिले पनि पूर्वी गाउँहरूबाट दिनहुँ करिब १० गाडी हरियोपत्ती भारत गइरहेको दाबी गर्छन्। ‘नेपाली उद्योगले खरिद गर्नेभन्दा प्रतिकिलो ५ रुपैयाँ बढी दिएर भारतीय उद्योगले यहाँको हरियोपत्ती किनिरहेका छन्,’ उनको दाबी छ, ‘भारतको चिया विश्वमा ब्रान्ड बनिसकेकाले विक्रीमा समस्या छैन। नेपालको गुणस्तरहीन पत्तीसमेत उनीहरूले राम्रै मूल्यमा लैजान्छन्। जुन यहाँको सहमतिविपरीत हो।’ उनले सरकारी निकायले पनि नियमित अनुगमन नगरिदिएको गुनासो गरे।

हरियोपत्ती गुणस्तरीय नहुँदा तयारी चियामा पनि गुणस्तर कायम नहुने भएकाले आफूहरूले त्यसबाट आम्दानी लिन नसकेको उद्योगी बताउँछन्। उद्योग र संकलन केन्द्रमै गुणस्तरहीन हरियोपत्ती आउनेगरेको अर्का उद्योगी पुनम राईले बताए। ‘अहिले हरियोपत्तीमै कार्यविधिको सर्त उल्लंघन भएको छ,’ उनी भन्छन्, ‘गुणस्तरीय पत्ती भएन भने उद्योगीले कसरी उच्च मूल्य दिन सक्छन् ?’ राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सदस्यसमेत रहेका राईले उद्योगी र किसानसँग छलफल गरी समस्या समाधान गर्ने प्रयास भइरहेको बताए। ‘हामीले किसानलाई सर्तअनुसार पत्तीको गुणस्तर सुधार्न र उद्योगीलाई न्यूनतम् समर्थन मूल्य लागू गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘उद्योगी–किसान र नगरपालिकाका प्रतिनिधि बसेर समस्या समाधान गर्नेछौं।’  

किसान र उद्योगी एकले अर्कालाई दोषी देखाउने कार्यले तयारी चियामा चाहिँ ठूलो असर पुगिरहेको छ। एकातिर किसानले लगानी उठाउन सकेका छैनन् भने गुणस्तरीय तयारी चिया उत्पादन नहुँदा उद्योगीले पनि राम्रो मूल्य पाउन सक्दैनन्। उच्च गुणस्तरको तयारी चिया उच्च मूल्यमै युरोपेली र अमेरिकी मुलुकसम्म पुग्छ। गुणस्तर कम भएको ठूलो परिमाणको चिया चाहिँ थोरै मूल्यमा भारतमै विक्री गर्नुपर्ने उद्योगीको बाध्यता छ।  

सूर्याेदय नगरका मेयर रणबहादुर राईले उद्योगी, किसान, बोर्ड प्रतिनिधिलगायत सबैको सहमतिका आधारमा नगरले चियासम्बन्धी कार्यविधि तयार गरी लागू गरेको बताए। ‘सूर्याेदय नगरले विश्वमै उच्च गुणस्तरको तयारी चिया उत्पादन गर्ने सम्भावनालाई आधार बनाइ सरोकारवालाबीच सहमति जुटाएरै कार्यविधि तयार गरेको थियो,’ उनले भने, ‘सबै पक्षले सर्त पालना गर्ने हो भने कुनै समस्या छैन। गुणस्तर पनि आफैं कायम हुन्छ।’  

मेयर राईले सूर्याेदय नगरको पहिचान राख्दै विदेशी मुद्रा आर्जनको दिगो स्रोत बन्ने चियाका लागि सरोकारवाला सबै पक्ष एकजुट हुनुपर्ने बताए। ‘एकले अर्कालाई दोष दिएर समस्या समाधान हुँदैन, सबैले कानुनको इमानदारीपूर्वक पालना गर्नुपर्छ,’ उनले भने, ‘किसान, उद्योगी, क्रेता, विक्रेता सबै एकजुट भएमात्रै चियामा गुणस्तर कायम गर्न र उच्च मूल्य लिन सम्भव छ।’ नगरले निरन्तर अनुगमन गर्ने उनले जनाए।    

नगरले सोमबार सूचना जारी गरी उद्योगी, किसान र चिया संकलकले पालना गर्नुपर्ने सर्तबारे पुनः सचेतसमेत गराएको छ। हरियोपत्ती ढुवानीकर्ता वा संकलकले जालीदार झोला (नेट)मा राखी एकपटकमा बढीमा ३५ किलोमात्र ढुवानी गर्नुपर्ने, उद्योग र संकलकले किसानलाई हरियोपत्तीको न्यूनतम् मूल्य अनिवार्य रूपमा दिनुपर्ने र उद्योगले सबैले देख्नेगरी हरियो चियापत्तीको मूल्यसूची टाँस्नुपर्ने नगरको सूचनामा उल्लेख छ। किसानले चियामा विषादी प्रयोग गर्न नहुने, पत्ती टिपाइ पनि मापदण्डअनुसार हुनुपर्ने तथा उद्योगले गुणस्तरहीन हरियोपत्ती खरिद गर्न नपाउने सर्त नगरले स्मरण गराएको छ।  

प्रकाशित: १ भाद्र २०७८ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App