१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

भन्सार विभागको राजस्वमा ६.५ प्रतिशत वृद्धि

भन्सार विभागले गत आर्थिक वर्ष २०८१/८२ को तुलना चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा लक्ष्यको ६.५ प्रतिशतले भन्सार राजस्व संकलनमा वृद्धि भएको छ ।  

गत आवको साउनदेखि पुसमसान्तको तुलनामा चालु आवमा सोही अवधिको भन्सार राजस्व संकलनमा त्यस्तो वृद्धि भएको हो ।  

भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार गत आवको तुलनामा चालु आवको छ महिनामा लक्ष्यको ६.५ प्रतिशतले भन्सार राजस्वमा वृद्धि भएको छ ।  

चालु आवको छ महिनाको लक्ष्य दुई खर्ब ८६ अर्ब ३९ करोड रुपैयाँ लक्ष्य रहेकोमा दुई खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी बर्तौला बताउँछन् । यस अवधिमा लक्ष्यको ८४.३ प्रतिशत राजस्व संकलन भएको छ ।  

गत आवको छ महिनाको लक्ष्य दुई खर्ब ८० अर्ब ३९ करोड रुपैयाँ लक्ष्य रहेकोमा दुई खर्ब २६ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यस अवधिमा लक्ष्यको ८०.८ प्रतिशत राजस्व संकलन भएको थियो ।  

चालु आवमा भन्सार विभागको साउन महिनामा ४५ अर्ब ७१ करोड रुपैयाँ लक्ष्य रहेकोमा ३७ अर्ब नौ करोड रुपैयाँ राजस्व संकलन भएको छ । लक्ष्यको ८१.१ प्रतिशत राजस्व संकलन भएको छ ।  

भदौ महिनामा ४८ अर्ब ५० करोड रुपैयाँ लक्ष्य रहेकोमा ४१ अर्ब छ करोड रुपैयाँ राजस्व संकलन भएकोमा ८४.७ प्रतिशत राजस्व संकलन भएको छ ।  

यसैगरी असोज महिनामा ४९ अर्ब ५५ करोड रुपैयाँ लक्ष्य रहेकोमा ४३ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जसको ८८.६ प्रतिशत राजस्व संकलन भएको छ ।  

कात्तिक महिनामा ५० अर्ब ५२ रुपैयाँ लक्ष्य रहेकोमा ३६ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएको छ । जसको ७२.६ प्रतिशत राजस्व संकलन भएको छ ।  

यस्तै मंसिर महिनामा ४५ अर्ब ४२ करोड रुपैयाँ लक्ष्य राखिएकोमा ४० अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जसको ९०.१ प्रतिशत राजस्व संकलन भएको छ ।

पुस महिनामा ४६ अर्ब ७० करोड रुपैयाँ लक्ष्य रहेकोमा ४१ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जसको ८९.२ प्रतिशत राजस्व संकलन भएको छ ।

सूचना अधिकारी बर्तौला गत आवको तुलनामा विभिन्न वस्तुको आयात बढेकाले गर्दा राजस्व संकलनमा वृद्धि भएको बताउँछन् । गत आवको तुलनामा चालु आवमा २७ प्रतिशतले आयातमा वृद्धि भएको सूचना अधिकारी बर्तौलाले बताए ।  

सूचना अधिकारी बर्तौलाले भने, ‘गत आर्थिक वर्षको तुलनामा यस वर्ष आयात त बढ्यो । आयात बढ्दैमा राजस्वमा वृद्धि हुने कुरा पनि भएन । जम्मा ६.५ प्रतिशत मात्र त राजस्व वृद्धि भएछ ।’

चालु आवमा औद्योगिक कच्चा पदार्थको आयात बढी भएको बताउँदै सूचना अधिकारी बर्तौलाले आयात बढेको भए पनि यसको राजस्व एक प्रतिशत मात्र लाग्ने गरेको बताए ।  

यसै हिसाबले आयातमा वृद्धि हुँदै गएमा वार्षिक लक्ष्यसमेत भेटाउन सहज हुने सूचना अधिकारी बर्तौलाको भनाइ छ ।  

भन्सार जाँचपासका क्रममा हुन सक्ने न्यून बीजकीकरण र मालवस्तुको वर्गीकरणमा हुने त्रुटि रोक्न विभागले ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रयोगमा ल्याएको छ ।

यो प्रणालीले सामानको मूल्यांकन कम गराएर वा महँगो वस्तुलाई सस्तो वस्तुका रूपमा भिœयाएर हुने राजस्व चुहावटलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

यसका साथै वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरूका सामग्री आयातमा पनि पूर्ण वा आंशिक भन्सार छुट दिइएको छ ।

भन्सार विभागले चालु आर्थिक वर्षका लागि कुल पाँच खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।  

गत आर्थिक वर्ष पाँच खर्ब ८२ अर्ब ६७ करोडको लक्ष्य रहेकोमा चार खर्ब ८४ अर्ब ७० करोड रुपैयाँ जसको ८३.१ प्रतिशत राजस्व असुली भएको भन्सार विभागले जनाएको छ ।

प्रकाशित: ८ माघ २०८२ १९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App