७ वैशाख २०८१ शुक्रबार
अर्थ

१० वर्षमा बन्यो उत्तरी गोरखा जोड्ने सोती खोला पुल

२०६८ सालमा निर्माण सुरु भएर आइतबारबाट सञ्चालनमा आएको सोती खोला पुल । तस्बिर सौजन्य: डिलबहादुर घले

उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका जाने सोती खोलाको पुल निर्माण सुरु भएको १० वर्षपछि सञ्चालनमा आएको छ। २५ मिटर लामो मोटरेबल पक्की पुल दुई करोड २४ लाखमा निर्माण भएको हो।  ‘ढिलै भए पनि पुल बनेको छ, गाडी गुड्न सुरु गरिसक्यो,’ ठेक्का लगाउने ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख राजेश यादवले भने, ‘अब जनतालाई केही सहज हुनेछ।’  

आरुघाट गाउँपालिकाको सोती खोलामा २०६८ सालमा ठेक्का सम्झौता भएको उक्त पुल रायमाझी इसान जेभीले २०७० सालमा बनाइसक्नु पर्थ्यो। सम्पन्न गर्नुपर्ने समयमा पुलको दुवैतर्फ ‘फाउन्डेसन’ मात्रै तयार भयो। सोती खोलामा बाढी आएर फाउन्डेसन पुरेपछि निर्माण कम्पनीले काम छाडेको थियो। उसले काम गर्न समस्या भएको दाबी गर्दै काम भए जतिको भुक्तानी लिएर छाडेपछि अयोजनाले काम लगाउन सकेन । समयमै काम नगरेको भन्दै कार्यालयले जरिवानाको तयारी गरेको थियो । सरकारले लामो समय अलपत्र भएका योजना सम्पन्न गर्न एक वर्ष म्याद थपेपछि निर्माण निर्माण कम्पनी काममा फर्केको कार्यालयले जनाएको छ।

‘अधिकांश काम व्यवसायीले आर्थिक वर्ष २०७७/७८ मा गरेका हुन्,’ कार्यालय प्रमुख यादवले भने । ठेक्का अलपत्र छाड्दा कालोसूचीमा पर्ने डरले काममा फर्किएको हो। पुल निर्माणका क्रममा फाउन्डेसन बाढीले पुरेपछि डिजाइन केही फरक गरेर तयार गरिएको यादव बताउँछन्।

सडक कार्यालयलाई पुल निर्माण छिटो गरिदिन बारम्बार आग्रह गर्दागर्दैै स्थानीय आजित भएका थिए। पुल बनेसँगै उनीहरू खुसी र उत्साहित छन्। ‘अब धार्चेका जनतालाई धेरै सजिलो भयो,’ धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरुङले भनिन्, ‘गाउँपालिकाको कार्यालय जान मुस्किल थियो, सोती खोलामा रोकिनुपथ्र्यो।’ पुङे खोला, खानीबेसीको खहरे खोला र न्याउली खोलामा केही सुधार गर्ने हो भने सडकबाट धार्चे गाउँपालिकाको केन्द्र सहजै पुग्न सकिने उपाध्यक्ष गुरुङ बताउँछिन्।  

उक्त पुल सञ्चालनमा आएपछि अहिले सोतीसम्म गएको यात्रुबाहक सवारी साधन माछाखोलासम्म जान सहज हुनेछ। मनास्लु क्षेत्र र पदमार्गमा यात्रा गर्न जानेलाई पनि सजिलो हुने चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासशीय अधिकृत भीमसेन श्रेष्ठले बताए। ‘पुल बनेसँगै पैदलबाटो छोटिएको छ, खाद्यान्न बोकेर, खच्चडमा लैजानुपर्ने ठाउँमा पनि केही सजिलो हुन्छ,’ उनले भने। माछाखोलामा पुल बनेपछि चुमनुब्रीतर्फ जान अझै सहज हुने श्रेष्ठ बताउँछन्।  

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा सडक ट्र्याक खुलेको छ। तर चुमनुब्री सडक सञ्जालले जोडिएको छैन। त्यहाँ दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री सबै खच्चड र हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ। सोती खोलामा पुल बनेपछि त्यहाँबाट भारी बोकेर जाने खच्चड माछा खोलाबाट जान सहज हुनेछ।  

नेपाली सेनाले अहिले तिब्बत जोड्ने सडकको ट्र्याक खनिरहेको छ। करिब ३५ किलोमिटर नयाँ ट्र्याक खोलिसकेको सेनालाई उक्त पुल नबन्दा निर्माण सामग्री, तेल, खाद्यान्न ढुवानी गर्न समस्या भएको थियो।

प्रकाशित: २१ श्रावण २०७८ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App