१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तनहुँमा ट्र्याक खुलेको २९ वर्षमा सडक कालोपत्र

फाइल तस्बिर <div><br></div>

ट्र्याक खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शहीद गीता मोटरमार्गको टुँडा खण्ड २९ वर्षपछि कालोपत्र गरिएको हो । विसं २०४९ जेठ २ गते ट्रयाक खोलिएको उक्त खण्डमा ३०० मिटर सडक कालोपत्र भएपछि स्थानीयवासी खुशी छन् । स्थानीयवासी हर्कबहादुर गुरुङले लामो समयपछि सडक कालोपत्र हुँदा खुशीको सीमा नै नरहेको बताए ।  ‘त्यतिबेला मिर्छुलुङको बाटो खन्ने कुरा थियो । हामीले पनि यहाँ बाटो खन्न माग ग¥यौँ । मिर्छुलुङको बाटो खन्न जाने डोजरलाई दुई दिन रोकेर यहाँको बाटो खन्न दिएपछि ट्र्याक खोलिएको थियो’, उनले भने ।  

तत्कालीन समयमा भिमाद हुँदै तनहुँका दक्षिण क्षेत्र जाने मुख्य सडक नै यही थियो । अहिलेको तिम्लिसिना चोकबाट टुँडा हुँदै शान्तिनगर–स्याउली बजार झरेर भिमाद जाने सडक ट्र्याक खोलिएको थियो । केही वर्ष यही सडक चल्यो । पछि फराकिलो बनाउँदा यहाँका थुप्रै घर भत्काउनु पर्ने अवस्था आएपछि सडक भिमादचोकबाट भोटेपानी हुँदै शान्तिनगर डाइभर्ट गरिएको थियो । ट्र्याक फेरिएपछि स्थानीयवासीको चासो नहुँदा सडकको मुहार फेरिन निकै लामो समय लागेको गुरुङले बताए ।  गण्डकी प्रदेश सरकार, शुक्लागण्डकी नगरपालिका र स्थानीयवासीको साझेदारीमा सडक कालोपत्र गरिएको वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले जानकारी र्दिए । ४० लाख ६० हजार ३४७ को लागतमा सडक कालोपत्र गरिएको छ ।  

शुक्लागण्डकी नगरपालिकाले १७ लाख ५० हजार र गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले पूर्वाधार विकास कार्यक्रममार्फत रु पाँच लाख बजेट उपलब्ध गराएका थिए । स्थानीयवासीले १८ लाख १० हजार ३४७ लागत साझेदारी गरेका छन् । वडाध्यक्ष क्षेत्रीका अनुसार ३०० मिटर सडक कालेपत्रसँगै छ सय मिटर पक्की नाला बनाइएको छ । वडाले उपभोक्तासँगको साझेदारीमा सडक कालोपत्रलाई प्राथमिकता दिएको उनले बताए । कालोपत्र नहुँदासम्म यो सडकको अवस्था वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे थियो ।  

ट्र्याक खोलेको २९ वर्षमा घरदैलोको सडक चिल्लो भएपछि स्थानीयवासीले राहतको महसुस गरेका छन् । तर टुँडाको प्रवेशद्वार खैरेनीटार साना शहरी खानेपानी आयोजनाको ट्याङ्कीबाट झण्डै ५०० मिटर सडकको अवस्था भने बिजोग छ । यो खण्ड पनि कालोपत्र गर्न स्थानीयवासीको माग छ । रासस 

प्रकाशित: २ श्रावण २०७८ १४:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App