coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पहिलो लिक्विड अक्सिजन प्लान्ट स्थापना हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल माध्यमबाट यसको शिलन्यास गर्दै ओलीले कोभिड १९ महामारीको दोस्रो लहर सुरु भए पछि अक्सिजनको तीव्र अभाव ब्यहोरेको नेपालका लागि प्लान्ट स्थापना खुसीको विषय भएको बताए।

उद्योगी शंकर अग्रवालले रूपन्देहीको सिमरहवामा अक्सिजन प्लान्ट स्थापना गर्दैछन्। यो प्लान्टबाट प्रतिदिन ६० मेट्रिक टन अक्सिजन उत्पादन हुनेछ। यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ।  

कोभिड–१९ सिर्जित विकट परिस्थितिले यस कार्यमा प्रेरित गरेको पनि प्रधानमन्त्रीले बताए। ‘दोस्रो लहरले हामीलाई एक्कासि अक्सिजन र सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो। त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं,’ उनको भनाइ थियो।

अचानक बढेको उच्च मागलाई सम्बोधन गर्न त्यतिबेला देशमा उपलब्ध साधन स्रोत र संरचना समेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयात गर्ने लगायतका काम समेत गरिएको प्रधानमन्त्रीले उल्लेख गरे। त्यस अवस्थामा सरकारले देश भित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै सयभन्दा बढी बेड भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको प्रधानमन्त्रीले उल्लेख गरे।

महामारीका समयमा त्यसबाट पनि नपुग्ने देखिएकोले लिक्विड अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको प्रधानमन्त्री ओलीले बताए। दोस्रो लहर उचाइमा चढिरेहको बेला लिक्विड अक्सिजन प्लान्ट राख्ने उद्योगी शंकर अग्रवालको प्रयास सह्रानीय एवं देशप्रति उत्तरदायी भावनायुक्त भएको पनि प्रधानमन्त्रीले बताए।  

यसका साथै प्रधानमन्त्रीले कोरोना महामारीबाट अविभावकविहीन भएका बालबालिकलाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकारी दिए। ‘यसबारे अध्ययन हुँदैछ र त्यस अनुसार आवश्यक कदम चालिनेछ,’ उनले भने।

अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुट लगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी पनि प्रधानमन्त्रीले दिए।

आगामी दिनमा कोभिड–१९ को महामारी हटिसकेपछि अक्सिजन प्लान्टबाट उत्पादन हुने अधिक मात्राको अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्न सक्ने बताउँदै उनले बढी भए छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिने जानकारी दिए।

अक्सिजन प्लान्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउन समेत सहज हुने भनाइ पनि प्रधानमन्त्रीको थियो। छिमेकी देशका आवश्यकता र औद्योगिकीकरणका लागि पनि अक्सिजन खपत बढने प्रधानमन्त्रीले उल्लेख गरे।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App