१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जहाज उडानमा बारम्बार लापरवाहीः हङकङमा जहाज दुर्घटनानजिक पुगेको घटना गुपचुप

सन् २००८ मा जुहारचनले त्रिभुवन विमानस्थलमा दुर्घटना गराएको ट्विनअटर।  तालिमका क्रममा वाइपी जुहारचनलाई विदेशी क्याप्टेनले दिएको अनुत्तीर्णको प्रमाणपत्र।

गत अप्रिल २ मा नेपाल वायुसेवा निगमको एयरबस ३२० (९एन अल्फा किलो एक्स्रे, लुम्बिनी) हङकङ एयरपोर्ट नजिकै  गम्भीर दुर्घटनाको मोडमा पुग्यो। ल्यान्ड गर्न केही मिनेटमात्रै बाँकी छँदा विमान एक्कासि दायाँतर्फ मोडियो, जहाँ अग्ला पहाड थिए। विमानस्थलको ३३८ हेडिङमा विमान जानुपर्नेमा त्यसको उल्टो दिशा ०२० हेडिङतर्फ गएको थियो। जहाजका कमान्डर क्याप्टेन वाइपी जुहारचन र को–पाइलटमा उद्धव घिमिरे थिए।

नेपाल एयरलायन्सका सिनियर पाइलटका अनुसार विमान गलत दिशातिर सोझिएपछि पाइलटद्वय अत्तालिए। कसरी जहाजलाई सही निशानिर्देशन गर्ने भन्नेमा उनीहरू अनविज्ञ भए। जहाज गलत दिशातिर मोडिएको हङकङ एटिसी टावरले पत्तो पायो। अग्लो पहाडतर्फ मोडिएको जहाजलाई टावरले दिउँसोको १२ः५६ मा सही दिशातर्फ दिशानिर्देश गर्‍यो र ल्यान्ड भयो। त्यहाँ जहाज ठूलो दुर्घटनाबाट जोगियो। तर यति गम्भीर घटनालाई पाइलटद्वयले लुकाए। नेपाल वायुसेवा र नियमन निकाय नागरिक उड्डयन प्राधिकरणलाई पाइलटले केही जानकारी दिएनन्। हङकङ नागरिक उडड्यन प्राधिकरणले अप्रिल २३ मा यसबारे पत्रमार्फत जानकारी दिए छि घटनाको खुलासा भयो।

आफ्नै बाबुको लापरबाहीले भएको घटना अनुसन्धान गर्न अपरेसन डाइरेक्टरले एक समिति गठन गरे। तर घटना गुपचुप गराउने उद्देश्यले समितिमा सिनियर पाइलटलाई सहभागी गराइएको छैन।

नेपालको प्राधिकरणले हङकङ प्राधिकरणको पत्रपछि मात्रै नेपाली जहाज गम्भीर दुर्घटनानजिकै पुगेको थाहा पायो। हङकङ प्राधिकरणले पत्रमा चालकले गम्भीर त्रुटि गरेको औंल्याएको छ।

चालककै कारण जहाज विपरीत दिशातर्फ गएर दुर्घटना हुने अवस्थामा पुगेको भन्दै उक्त घटनाबारे अनुसन्धान गरी प्रतिवेदन पठाउन हङकङ प्राधिकरणले आग्रह गरेको थियो। हङकङको प्राधिकरणले यो मात्र नभई नेपाली पाइलटले अरू समयमा गरेका तीन गल्तीप्रति पनि स्पष्टीकरणसहितको पत्र पठाएको छ, जसमा ओभरसुट (गो–अराउन्ड) घटना, हालका अपरेसन डाइरेक्टर दिपुराज जुहारचनले उडाएको विमान बिनाअनुमति आठ सय फिट तल झारेको र अर्को विमानसँग ठोक्किन लागेका घटना छन्।

यी तीन घटनाका कारण नेपाल एयरलाइन्सलाई हङकङ एयरपोर्टमा बढी कडाइ गर्न सुरु गरिएको छ। तर यी ठूला घटनालाई निगमले अजरअन्दाज गर्दै आइरहेको छ। अपरेसन डाइरेक्टरले नै गम्भीर घटना लुकाउन खोज्दा एयरलाइन्स जोखिम बन्ने खतरा पनि छ।

निगम स्रोतका अनुसार उक्त जहाजका पाइलट वाइपी जुहारचन हालका अपरेसन डाइरेक्टर दिपुराज जुहार्चनका बाबु हुन्। बाबुले गम्भीर गल्ती गरेको घटना दिपुराजले भित्रभित्रै लुकाउन खोजेका थिए। उनले उक्त विमानबारे अनुसन्धान गर्न समिति गठन गरेका छन्। तर समितिमा सिनियर पाइलटलाई सहभागी गराइएको छैन। पाँच सय घन्टा उडान अनुभव भएका पाइलट र जुनियरलाई मात्रै सहभागी गराइएको छ।

स्रोतका अनुसार त्यस प्रकारको अनुसन्धानमा ३३० एयरबसका पाइलट र चिफ पाइलटलाई सहभागि गराउनुपर्नेमा गराइएन। सोही कारण अन्य पाइलटले गम्भीर दुर्घटनाबारे अनुसन्धान गर्न बनाएको समितिले सही छानबीन नगरेको बताएका छन्।

‘गम्भीर घटना ढाकछोप गर्न निगमले सिनियर पाइलटलाई सहभागी गराएन, मात्रै प्रतिवेदन बनाउने उद्देश्यले अनुसन्धान गर्‍यो,’ निगमका एक पाइलटले भने, ‘गम्भीर घटना लुकाउँदा नेपाल एयरलाइन्स जोखिममा परेको छ, एकलौटी तरिकाले निगमलाई हाँक्दा उडान जोखिम बनेको छ।’

ती पाइलटका अनुसार नेपाल एयरलाइन्समा सिनियर पाइलट हुँदाहुँदै पनि प्रशासनले जुनियरलाई अघि सार्दै आइरहेको छ। जसका कारण सिनियर पाइलटहरूले संस्थाको नेतृत्व तथा उडान भर्न पाइरहेका छैनन्।

दुर्घटनाबारे छानबिन गर्न बनेको समितिले गत १२ मेमा प्रतिवेदन हङकङ प्राधिकरणलाई पठाएको छ। उक्त रिर्पोटमा प्राधिविक समस्या (फल्स लोकोलाइजर) का कारण हङकङ एयरपोर्टमा जहाज दुर्घटना हुन सक्ने अवस्थामा पुुगेको उल्लेख छ। तर हङकङ प्राधिकरणले गरेको अनुसन्धानमा चालककै कमजोरीले जहाज गम्भीर दुर्घटना हुने अवस्थामा पुगेको बताइएको छ।  

त्यसो त कुनै पनि जहाजको सामान बिग्रिए वा मर्मत गर्दा उक्त कुरा जहाजको क्याटलगमा लेखिन्छ। त्यतिबेला इन्जिनियरले जाँच गरेर मात्रै जहाज उडाउने अनुमति दिन्छन्। तर इन्जिनियरको चेकजाँचमा प्राविधिक समस्या देखिएको थिएन। निगमले त्यही समस्या प्रतिवेदनमा उल्लेख गरेको छ। निगमले उक्त जहाजमा प्राविधिक समस्या देखिएको भनेर प्रतिवेदन तयार पारेपछि सिनियर पाइलटहरूले यसको विरोध जनाएको ती पाइलटले बताए।

हङकङको प्राधिकरणले उक्त घटना पाइलटको त्रुटिले भएको भन्दै नेपालको प्राधिकरणलाई पत्राचार गरेको थियो। यस विषयमा नेपालको प्राधिकरणले समेत गम्भीर अनुसन्धान गर्न निगमलाई निर्देशन दिएन। प्राधिकरणको यस्तै लापरवाहीका कारण निगममा बेथिति बढेको कर्मचारी बताउँछन्। ‘उडानमा भएका कमीकमजोरी लुकाउन खोजिएको छ, उडान जस्तो कुरामा यसरी हेलचेक्र्याइँ गर्नु राम्रो होइन,’ निगमका अर्का एक पाइलटले भने, ‘सल्लाह छलफल र समन्वय गरेर एयरलाइन्सलाई भरपर्दो बनाउने बेलामा कसैले चासो दिएको छैन।’

त्यस्तै, कुनै पनि विमान अवतरण वा उडानका क्रममा दुर्घटना भए विमान चालकले म्यान्डेटरी अपरेसन रिपोर्ट (एमओआर) भर्नैपर्ने बाध्यात्मक नियम छ। तर हङकङमा जहाज गम्भीर दुर्घटनाको मोडमा पुग्दा पनि एमओआर भरिएन।

निगम स्रोतका अनुसार सबै तथ्यका आधारहरू हेर्दा जहाजमा कुनै पनि प्राविधिक समस्या नभएको पुष्टि हुन्छ। तर गम्भीर मानवीय त्रुुटि लुकाउन विमानको प्राविधिक समस्या भनी रिपोर्ट बनाएर निगमले हवाई सुरक्षामा गम्भीर लापरवाही गरेको छ।

उक्त जहाजलाई दुर्घटनानजिक पुराउने वाइपी जुहारचन तिनै पाइलट हुन् जो प्रशिक्षक हुँदा काठमाडौंमा जहाज अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो। २००८ डिसेम्बर २४ मा उनले चलाएको ट्विअटर विमान (९एन अल्फा ब्राभो ट्यांगो) धावन मार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो।

निगम स्रोतका अनुसार सन् २०२० सेप्टेम्बर २५ मा बहराइनमा सिमिलेटर तालिम गर्दा वाइपी जुहारचनको क्षमता र योग्यतामाथि विदेशी प्रशिक्षकले प्रश्न उठाएका थिए। तालिममा उनलाई प्रशिक्षकले अनुत्तीर्ण गराएका थिए।

यस्तै, २०२१ फेब्रुअरीमा दिल्लीमा यस्तै प्रकृतिको घटना हुँदा हालका अपरेसन डाइरेक्टर जुहारचनले उक्त विमानका चालकको उडान रोक्का गरेका थिए। अहिले भने बाबुको गम्भीर गल्तीलाई उनले ढाकछोप गरेका छन्।

उक्त घटनाबारे नागरिकको जिज्ञासामा कार्यकारी निर्देशक डिमप्रकाश पौडेलले पत्तो नपाए झैं गरे। उनले यसबारेमा आफूलाई अहिलेसम्म थाहा नभएको भन्दै अब सोधखोज गर्ने बताए। उनले भने, ‘यसबारेमा अपरेसन डाइरेक्टर जुहारचनलाई नै सोध्नुस्, मलाई थाहा छैन, बाँकी सोधौैंला।’

प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले उक्त घटना गम्भीर किसिमको भए पनि आफूलाई जानकारी नभएको बताए। ‘यसबारेमा मलाई धेरै जानकारी छैन, मैले सोधखोज गर्नुपर्छ,’ उनले भने।

निगमका अपरेसन डाइरेक्टर जुहारचनले यसबारे आफूले कुनै अभिव्यक्ति नदिने बताए। उनले भने, ‘म काम गर्ने मान्छु हुँ, प्रचारप्रसार गर्दिनँ, तपाइँले सोधेको विषयमा मलाई थाहा छैन।’

प्रकाशित: ३१ जेष्ठ २०७८ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App