७ वैशाख २०८१ शुक्रबार
अर्थ

व्यवसायी भन्छन्ः कोरोनाविरुद्धको खोप नपाएसम्म पर्यटन क्षेत्र खुल्दैन

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड । तस्बिरःउमेश पुन/नागरिक

कोरोना भाइरसको दोश्रो लहरसँगै वैशाख दोश्रो सातादेखि पर्यटन क्षेत्र ठप्प छ । होटल, रेस्टुरेन्टको ढोकामा ताला लागेको छ । एकमहिना भन्दा बढि समयदेखिको निषेधाज्ञाले पर्यटन क्षेत्रमा शुन्यता छाएको छ । सुनसान बनेको पर्यटन क्षेत्र अब कहिले खुल्ला भन्ने यकिन छैन । तर, पर्यटन व्यवसायी भने कोरोनाविरुद्धको खोप नपाएसम्म अवस्था सहज भईहालेपनि व्यवसाय नखोल्ने अडानमा छन् ।

पछिल्लो समय संक्रमणको दर केही कम हुँदै जाँदा दैनिकी सामान्य बन्दै जाने अपेक्षा गरिएपनि पर्यटन व्यवसायीले भने खोपबिना पर्यटन क्षेत्र संचालनमा नल्याउने बताएका हुन् । सरकारले पर्यटन व्यवसायी र कार्यरत कर्मचारीलाई कोरोनाविरुद्धको खोप नदिएसम्म व्यवसाय संचालनमा नल्याउने उनीहरुको भनाई छ । सरकारले पर्यटन क्षेत्र खुला गर्न अनुमति दिएको खण्डमा पनि खोप बिना आफुहरु व्यवसाय संचालन गर्न सक्ने अवस्थामा नरहेको उनीहरुको भनाई छ ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन भन्छन्, ‘जबसम्म कोरोनाविरुद्धको खोप पाइँदैन, तबसम्म हामीले होटल खोल्दैनौ । सरकारले होटल खोल्न अनुमति दिएपनि खोप नपाएसम्म खोल्ने अवस्था रहन्न ।’ अहिलेको अवस्था सामान्य हुँदै गइहालेर पर्यटन क्षेत्र खुला गर्न अनुमति पाएपनि खोप नपाएसम्म व्यवसाय संचालन गर्ने आधार नभएको उनले बताए ।

‘सधैं निषेधाज्ञा लागु गरेर मात्र हुँदैन । ढिलाचाँढो सबै क्षेत्र खुला हुनेछ । त्यो बेला पर्यटन क्षेत्र पनि अवश्य खुल्नेछ,’ उनले भने, ‘तर, खोप नपाएसम्म हामीले होटल खोल्दैनौ ।’ सरकारले अहिले खोप भित्र्याउँदै गर्दा पनि पर्यटन क्षेत्रमा कार्यरत मजदुर र व्यवसायीलाई उत्तिसारो प्राथमिकता नदिएको अवस्थामा व्यवसाय संचालन गर्न सक्ने अवस्था नहुने उनले बताए ।

‘लामो समय घरभित्र थुनिएका पाहुना निषेधाज्ञा खुकुलो हुनासाथ हिडडुलमा निस्कन सक्छन । तर, हामीले खोप नपाएकोले ती पाहुनालाई सेवा दिन असमर्थ छौ,’ उनले भने, ‘किनकी कतिपय पाहुनाले खोप लगाएका हुनसक्छन, हामी र हाम्रा कामदारले खोप नपाउँदा जोखिम बढ्न सक्छ ।’ ‘खानपिनका लागि आएका पाहुनासँग निकट भएर सेवा दिनुपर्ने भएकोले पनि खोपको आवश्यकता भएको उनले बताए । होटल रेस्टुरेन्टमा आएका ग्राहकसँग सिधा सम्पर्क हुने भएकोले उच्च जोखिममा कामदार रहने उनले बताए । 

उनका अनुसार काठमाडौंमा धेरै पर्यटन व्यवसायी र आवद्ध कामदारले यसअघि कोरोना विरुद्धको खोप लगाएका छन् । तर, पोखरामा एकाध व्यवसायीले बाहेक कामदारले अहिलेसम्म खोप पाएका छैनन । गण्डकी प्रदेश सरकारसँग पनि पर्यटन क्षेत्रमा आवद्ध मजदुरका लागि खोपको माग भएपनि अहिलेसम्म नपाएको तुलाचनको भनाई छ । ‘यसअघि पनि आंशिक रुपमा केही खुल्यो, तर, त्यो बेला पनि खासै लाभ भएन । अब त झनै ओरालो लागेको पर्यटन क्षेत्र खोपबिना खोल्दा टिकाउ हुने अवस्था रहन्न,’ उनले भने, ‘सुरक्षित तरिकाले व्यवसाय गर्न खोप अनिवार्य हो ।’

पोखरा र आसपासका क्षेत्रका होटलका लागि दुई डोज समेत गर्दा ३० हजार डोज खोप तत्काल आवश्यक पर्ने तुलाचनको भनाई छ । कामदारलाई मात्र खोप भएमा पनि पर्यटन क्षेत्र केही सुरक्षित हुनसक्ने व्यवसायीको भनाई छ । गन्तव्य पनि सुरक्षित रहेको जनाउ पाहुनालाई दिनका लागि पनि खोपको आवश्यकता रहेको उनको भनाई छ । ‘संक्रमण कम हुनासाथ हेलचेक्रयाँइ बढिहाल्छ, त्यो जोखिम मोल्ने अवस्थामा व्यवसायी छैनन,’ उनले भने, ‘पोखराका पर्यटन मजदुर र व्यवसायीले खोप लगाएकोले सुरक्षित छन् भन्ने सन्देश दिन पनि आवश्यक छ ।’ अहिलेको महामारी केही कम हुँदै गएमा आगामि असोज–कात्तिकपछि मात्र हुने पर्यटन क्षेत्र खुल्ने सम्भावना रहेको उनले बताए ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बरालले पनि रेस्टुरेन्ट व्यवसायी र त्यहाँ कार्यरत कामदारले खोप नलगाएसम्म संचालनमा ल्याउन नसकिने बताए । ‘हामीले दीर्घकालिन रुपमै व्यवसाय संचालन गर्नुपर्छ । बारम्बार खोल्ने र बन्द गर्ने गर्दा झनै बढी नोक्सानी हुन्छ,’ बरालले भने, ‘दीर्घकालिन रुपमा संचालन गर्ने भनेको नै खोप लगाएपछि मात्र हो ।’ व्यवसाय भन्दा पनि पहिलो प्राथमिकता खोपलाई दिएको उनले बताए । ‘कम्तिमा पहिलो डोजको खोप पाउने हो भने केही समय पर्खिन सकिन्छ । यो बेला पहिलो डोज खोप पाउने हो भने व्यवसाय संचालन गर्ने बेलासम्म पुग्दा दोश्रो डोजको समय हुनेछ,’ उनले भने, ‘दोश्रो डोजको खोप पनि बेलैमा पाउने हो भने व्यवसायलाई निरन्तरता दिन सकिन्छ ।’  

बरालले खोप नपाएसम्म व्यवसाय सुचारु गर्दा व्यवसाय झनै जोखिमपूर्ण हुने बताए । पाहुना, कामदार र व्यवसायी सबैलाई जोखिममा पार्ने भएकोले नै खोपको आवश्यकता परेको उनले बताए । ‘हुन त अरु क्षेत्र पनि खोपको प्राथमिकतामा पर्नुपर्छ । तर, पाहुनासँग निकट भएर काम गर्नुपर्ने भएकोले व्यवसायीलाई प्राथमिकता दिनुपर्छ भनेका हौ,’ उनले भने, ‘पर्यटनमा सबैखाले मान्छेको आउजाउ हुने भएकोले खोपको आवश्यकता परेको हो ।’

पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष गोपि भट्टराई पनि खोप बिना पर्यटन सम्भव नभएको बताउँछन् । ‘हिजो स्वास्थ्यकर्मीले प्राथमिकता पाए, अब पर्यटन व्यवसायीले पनि पाउनुपर्छ भन्ने हो,’ भट्टराईले भने, ‘अवस्था सामान्य हुँदै जाँदा पर्यटन व्यवसाय खोल्नुपर्ने र त्यो बेला सुरक्षित हुनका लागि खोप आवश्यक छ ।’ कोरोनाको पहिलो लहरपछि सरकारले पर्यटन क्षेत्रलाई खोल्न र बन्द गर्न निर्देशन दिँदा व्यवसायीले मानेकोले अब सरकारले निर्देशन दिँदैमा संचालन गर्न नसकिने उनले बताए ।

‘जबसम्म खोपको आश्वासन हुँदैन, तबसम्म सरकारले निर्देशन दिएपनि हामी व्यवसाय संचालन गर्दैनाैं। खोप बिना पर्यटन नखोल्ने अडान हाम्रो हो,’ भट्टराईले भने, ‘पर्यटनमा सबैतिरका पाहुना आउजाउ हुँदा जोखिम हुने भएकोले पनि पर्यटनलाई प्राथकिता दिनुपर्छ ।’ पर्यटन क्षेत्र पहिलेकै अवस्थामा फर्किएपनि अन्तर्राष्ट्रिय बजारमा जानका लागि पनि खोप अनिवार्य भएको भट्टराईको भनाई छ ।

प्रकाशित: १८ जेष्ठ २०७८ १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App