१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोरोनाको खोपबारे व्यवसायी भन्छन्ः सित्तैमा चाहिँदैन, किनेरै भएपनि लगाउन तयार छौं

कोरोना भाइरसको दोश्रो लहरले मुलुक आक्रान्त छ । संक्रमणको प्रभावले कुनैपनि क्षेत्र अछुतो छैन । संक्रमणले दिनहुँजसो सयौं नागरिकको ज्यान गइरहेको र हजारौं सर्वसाधारण संक्रमित भईरहँदा पनि सरकारले कोरोनाविरुद्धको खोप खरिदमा तदारुकता नदेखाएको भन्दै सर्वत्र आलोचना भईरहेको छ ।  

खोपको अन्योलताले सर्वसाधारण नागरिकसँगै व्यवसायी निरास छन् । त्यसैले पछिल्लो समय व्यवसायीले भन्न थालेका छन्ः ‘सरकारले कोरोनाविरुद्धको खोप किनेर जनतालाई उपलब्ध गराउन सक्दैन भने हामी आफ्नै खर्चमा किन्न तयार छौं । तर, सरकारले खरिद प्रक्रियामा मध्यस्थता गरोस् ।’ जनताको स्वास्थ्यप्रति सरकार जागरुक नभएको खण्डमा व्यवसायी आफ्नै खर्चमा खोप खरिद गर्न तयार रहेको उनीहरुको भनाई छ । तर, व्यवसायीको आफ्नो पहलले मात्र खोप खरिद गर्न नसकिने भएकोले सरकारले खोप उत्पादक कम्पनिसँग कुटनीतिक रुपमा सहजीकरण भने गरिदिनुपर्ने उनीहरुको भनाई छ ।  

कोरोनाको यो महामारीमा सबैतिर कोरोना विरुद्धको खोपको माग तिब्र छ । यही बेलामा नेपालमा राजनीतिक रस्साकस्सी पनि छ । सरकारको ध्यान खोप खरिदमा भन्दा सत्तामा टिकिरहने योजना मात्र रहेकोले खोप खरिदमा ध्यान दिन नसकेको व्यवसायीको आरोप छ । यस्तो अवस्थामा व्यवसायी आफैले चाहँदैमा खोप खरिद सम्भव छ र ? के व्यवसायीले आफ्ना लागि मात्र खोप खरिद गर्न सक्छन् त ?  

व्यवसायी भन्छन, ‘सरकार यो बेला सत्ता जोगाउने खेलमा व्यस्त छ । खोप खरिदमा ध्यान केन्द्रीत गर्न सकेन । खोप खरिदका लागि आर्थिक अभाव नै भएको हो भने त व्यवसायीले पनि सहयोग गर्नुपर्‍यो । नत्र निजी क्षेत्रलाई आयातको बाटो खोलिदिनुपर्छ ।’ सरकारले किन्ने भनेको खोप पनि एजेन्टमार्फत भित्र्याउने अवस्थामा व्यवसायीले चाँसो देखाउनु स्वभाविक भएको उनीहरुको भनाई छ ।

अग्रज पर्यटन व्यवसायी टिकाराम सापकोटा भन्छन्, ‘अरु औषधि किनेजस्तो कोरोना विरुद्धको खोप किन्न सहज त छैन । व्यवसायीले चाहँदैमा किन्न सक्ने पनि होईन, नसक्ने पनि होईनन ।’ खोप खरिदमा सरकारी प्रक्रिया सुस्त भएकोले व्यवसायीले दवाव दिएको उनले बताए । ‘निजी क्षेत्रले फास्ट ट्रयाकबाट खोप ल्याउन सक्ने अवस्था भएमा सरकारको मात्र मुख ताक्न जरुरी छैन,’ सापकोटा भन्छन, ‘अहिले सरकारले किन्ने भनेको खोप पनि निजी क्षेत्रमार्फत नै ल्याउन थाल्दा विवादित भएको हो । एजेन्टमार्फत नै सरकारले किन्ने तयारी भएको बाहिर आएको छ ।’ सरकारले कुनै ठुलो आयातकर्तालाई खोप भित्र्याउन अनुमति दिने र भित्रिएको अवस्थामा अरु व्यवसायीले मुख्य एजेन्टसँग खरिद गर्न सक्ने सापकोटाले बताए ।

सरकारले पनि एजेन्ट प्रयोग गर्ने अवस्थामा निजीले चाहे अनुसार ल्याउन सक्ने भनेर भनिदिने हो भने केही छिटो हुनसक्ने सापकोटाको तर्क छ । ‘स्वास्थ्यका अरु सामाग्री पनि त निजी क्षेत्रले भित्र्याएका छन् । सरकारले पनि एजेन्टमार्फत नै खोप किन्न थालेको हो,’ उनले भने, ‘बरु अलि सहज बनाउने हो भने छिटो खोप आउन सक्छ की भन्ने व्यवसायीको धारणा हो ।’

पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराई पनि सरकारले खोप खरिदमा ध्यान नदिएकोले दवाव दिन खोजेको बताउँछन् । भट्टराई भन्छन, ‘खोप किन्न सहज त होइन, तर सरकारले पटक्कै ध्यानै दिएन । सरकारले जनताका लागि सित्तैमा खोप उपलब्ध गराउन सक्दैन भने हात उठाएर भन्नुपर्‍यो, व्यवसायी आफैले किनेर परिवार र कर्मचारीलाई खोप लगाउँछौ ।’

व्यवसायीले परिवार, आफन्त र व्यवसायिक प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीका लागि आफ्नै खर्चमा कोरोना विरुद्धको खोप किन्न तयार रहेको उनले बताए । ‘अबको पर्यटनमा खोपको विकल्प हुन सक्दैन । खोप नलगाएसम्म संक्रमण कम भएपनि हामी व्यवसाय संचालन गर्ने अवस्थामा छैनौ,’ उनले भने, ‘त्यसैले सरकारले बेलैमा खोप खरिदमा ध्यान दिनुपर्छ । खोप भिœयाउनमा पटक्कै ढिलासुस्ती नहोस भन्ने चाहेका हौ ।’ सरकारले पनि एजेन्ट प्रयोग गर्ने अवस्थामा फास्ट ट्रयाकबाट भित्र्याउने वातावरण बनाउनुपर्ने उनले बताए ।

अरु मुलुकले खोपमा निकै नै प्रगति गरिसक्दा नेपालमा भने वेवास्ता भएको उनले बताए । सरकारको खोप कुटनीति निकै नै कमजोर भएको व्यवसायीको आरोप छ । ‘अबको व्यवसाय खोपमा निर्भर रहने पक्का छ । कुनैपनि व्यवसाय अब खोप बिना चल्नेवाला छैन,’ भट्टराइले भने, ‘बरु मापदण्ड पुरा गरेर निजी एजेन्टलाई भिœयाउन दिने र त्यो एजेन्टसँग अरु व्यवसायीले किनेर लैजाने अवस्था रहन सक्छ ।’ 

स्वास्थ्य क्षेत्रमा निजी क्षेत्र पनि सक्षम रहेको अवस्थामा खोप भित्र्याउन पनि बाटो खोलिदिनुपर्ने उनको भनाई छ । सरकारको खरिद प्रक्रिया झन्झटिलो भएको अवस्थामा निजी क्षेत्रलाई अघि सारेमा खोप छिटो आउन सक्ने उनको तर्क छ । तर, सरकारले बलियो रुपमा कुटनीतिक रुपमा सहजीकरण भने गर्नुपर्ने उनले बताए ।

पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल पनि आर्थिक अभावमा खोपबाट कोही पनि बञ्चित हुन नहुने बताउँछन् । पोखरेलले उद्योग बाणिज्य महासंघको पहल पनि पर्खेको बताए । ‘निजी क्षेत्रले भित्र्याउँदा छिटो हुने भए बाटो खोलिदिनुपर्छ । बरु मुख्य एजेन्टसँग हामीले खरिद गर्न सक्छौ,’ पोखरेलले भने, ‘सधैं खोपविहीन अवस्थामा रहनु त भएन ।’

व्यवसायमा घाटा गएको दुईवर्ष पुग्न थालेको अवस्थामा आर्थिक अवस्था तहसनहस भएको उनले बताए । ‘खोपमा ढिलाई भयो भने निजी क्षेत्र झनै बिस्थापित हुनेछ । सरकारको ध्यान राजनीतिमा मात्र छ खोप भित्र्याउनमा छैन,’ पोखरेलले भने, ‘त्यसैले व्यवसायीको दवाव पनि हो । आवश्यक परेमा सरकारसँग सहकार्य गर्न पनि तयार छौ । नत्र आयातकर्ता मार्फत भित्र्याउने हो भने पनि हामीले किनेर प्रयोग गर्छाै  सरकारको मुख ताक्दैनौ ।’  

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी खोप भन्ने बस्तु फलफूल किनेजस्तो नभएकोले निजी क्षेत्रले किन्न सहज नहुने बताउँछन् । महामारीमा बेलामा यस्तो औषधिको माग बढ्नु स्वभाविक भएको उनले बताए । सरकारको झन्झटिलो प्रक्रिया भएकोले निजी क्षेत्रलाई अगाडि सार्न भने सक्नुपर्ने उनले बताए ।  

‘सरकारले कुटनीतिक सम्बन्ध कमजोर भएकोले पनि अहिले खोप भित्र्याउन सकेको छैन । यो बेला सरकारलाई दवाव दिनसक्नुपर्छ । कुनैपनि माध्यमबाट खोप किन्न लगाउन आवाज निकाल्नुपर्छ,’ उनले भने, ‘श्रोत साधन अभावमा किन्न सकिएन भनेमा त्यो बेला निजी क्षेत्र अगाडि सर्नु स्वभाविक हुन्छ ।’ सरकारले खोप खरिद नै प्राथमिकतामा नराखेको उनले बताए । ‘व्यक्तिले आयात गर्न सहज छैन । फेरि सरकारको पहल बिना पनि सम्भव हुँदैन । व्यवसायीको चाहनाले मात्र पनि हुँदैन,’ उनले भने ।  

प्रकाशित: १० जेष्ठ २०७८ ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App