२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

व्यवसाय कोमामा पुग्ने चिन्ता

पाेखराकाे न्युराेडमा एक पसलमा लागेकाे एक ताला। तस्बिर: उमेश/नागरिक

कोरोना भाइरस संक्रमणको त्रासका कारण गत वर्ष चैतदेखि गरिएको लकडाउनले महिनौंसम्म व्यवसायमा ताला लाग्यो। संक्रमणबीच लकडाउन खुकुलो हुँदै जाँदा व्यवसायको ढोका पनि खुल्दै गयो। पछिल्लो समय वैशाख पहिलो सातासम्म व्यवसायले झन्डै कोरोनाअघिकै आकार लिइसकेको थियो। अचानक कोरोनाको दोस्रो लहर फैलिँदा व्यवसायमा पुनः ताला लागेको छ। यो ताला कहिले खुल्छ, व्यवसायी अन्योलमा छन्।  

कास्की प्रशासनले सोमबारदेखि पोखरामा अत्यावश्यक बाहेक सबैखाले व्यवसाय बन्द गर्न निर्देशन दिएसँगै यहाँको बजार सुनसान छ। व्यवसायीले कारोबारस्थलको ढोकामा बढेमानको ताल्चा मारेका छन्। बजार पूर्ण ठप्प छ। व्यवसायी चिन्तित छन्।  

नोक्सान कम हुँदै जान थालेको बेला व्यवसायमा ताला लगाउनुपर्दा आर्थिक अवस्था चौपट भएको व्यवसायी बताउँछन्। पोखरा ट्रेडमलका व्यवसायी नवराज त्रिपाठी भन्छन्, ‘अघिल्लोपटक तीन महिनाभन्दा बढी बन्द भएको व्यवसायले खुलेपछि केही आकार बढाउँदै गएको थियो। अब झनै सिथिल हुने अवस्था देखिएको छ।’  

उनका अनुसार व्यवसायले पहिलेकै आकार लिन थालेको थियो। व्यवसायी अघिल्लोपटकको घाटा पूर्ति हुन थाल्दा उत्साही पनि थिए। ‘तर दोस्रो लहरले त्यो उत्साह मेटाइदियो,’ उनले भने। उनी त पोहोरको भन्दा यसपालि घाटा ठूलो हुने ठान्छन्। ‘पोहोर भाडामा व्यवसाय गरेका व्यवसायीलाई घरधनीले भाडा छुट दिएका थिए। अब त्यो अवस्था पनि रहन्न,’ उनले भने, ‘छुट देऊ भन्न पनि सकिन्न।’

व्यवसायी त्रिपाठीका ट्रेडमल भित्र तीनवटा पसल छन्। तीनवटै पसल बन्द गर्दा ठूलो आर्थिक भार बेहोर्नुपर्ने अवस्था निम्तिएको उनले बताए। ‘चीनबाट सामान आउन सहज थिएन। तैपनि व्यवसायीले नेपाली गार्मेन्टको उत्पादनले बजारको माग धानेका थिए,’ फेन्सी व्यवसायी संघ कास्कीका सचिव समेत रहेका त्रिपाठी भन्छन्, ‘अब भने सबै क्षेत्र जोखिममा छ। व्यवसाय भन्दा पनि ज्यान जोगाउन मुस्किल हुने अवस्था देखिएको छ।’

अर्का फेन्सी व्यवसायी मिनराज काफ्ले यो मन्दीले दीर्घकालीन असर पार्ने बताउँछन्। ‘कति महिना व्यवसाय बन्द गर्ने भन्ने निश्चित छैन। अब झनै मन्दी आउने पक्का छ। बजेटमार्फत सरकारले राहत दिए केही सहज होला, नत्र गाह्रो छ,’ काफ्लेले भने, ‘हामीजस्ता व्यवसायी बिस्थापित हुने चिन्तामा छौं।’  

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल पनि व्यवसाय पहिलेकै आकारमा फर्किनै नपाई धरापमा परेको बताउँछन्। उनले व्यवसायी नै विस्थापित हुने गरी अहिलेको अवस्था सिर्जना भएको बताए। ‘व्यवसाय त डामाडोल हुने अवस्था आएको छ। एकातिर मानवीय क्षति पनि बढिरहेको छ। अर्काेतिर व्यवसायमा भारी नोक्सान छ,’ पोखरेलले भने, ‘यस्तै अवस्था आएमा लुटपाटका घटना पनि बढ्न सक्छन्।’

अहिलेको बन्दले निजी क्षेत्र कोमामा पुगेको उनले बताए। ‘२०२२ सम्म व्यवसाय पुरानै आकारमा आउने आकलन थियो। अब त्यो आशा हरायो,’ उनले भने, ‘पहिलो चरणको लकडाउनपछि व्यवसाय पुरानै आकारमा आउन थालेको थियो। पर्यटन क्षेत्रमा पनि आन्तरिक पर्यटकको आउजाउले केही सहज भएको थियो। अब पर्यटन मात्र नभई सबै क्षेत्र डामाडोल हुने अवस्था आयो।’ कोरोनाका कारण व्यवसायी सधैंका लागि विस्थापित हुने चिन्ता पलाएको उनले बताए। ‘पोहोरभन्दा फरक अवस्था अहिले देखिएको छ। व्यवसाय त नोक्सानमा छ नै, ज्यानै जोगाउन हम्मेहम्मे हुने अवस्था आएको छ,’ पोखरेलले भने। 

प्रकाशित: २४ वैशाख २०७८ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App