६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

निक्षेपको तुलनामा कर्जा लगानीमा निरन्तर वृद्धि

दोस्रो चरणको कोरोना महामारी फैलने क्रममा रहेका बेला वाणिज्य बैंकहरूले कर्जा लगानीलाई तीव्र पारेका छन्।  केही महिनाअघिसम्म कर्जा लगानी गर्न नसकेका बैंकहरूले पछिल्लो समयमा कर्जा लगानी बढाउँदै लिएपछि तरलता पनि घट्दो क्रममा छ। पहिलो चरणमा कोरोना महामारीमा बैंकहरूलाई कर्जा लगानी गर्न हम्मेहम्मे परेको थियो। कर्जा लगानी हुन नसकेपछि मंसिर महिनासम्म दुई सय अर्ब रूपैयाँ बढी तरलता बैंकिङ च्यानलमा थुप्रिएको थियो।

बैंकिङ प्रणालीमा तरलता थुप्रनु भनेको अर्थतन्त्रमा थप असर पर्नु हो। जति धेरै लगानी गर्न सक्यो, त्यति नै बढी उत्पादन र रोजगारी वृद्धि हुन्छ। अर्थविदहरूले कोरोना महामारीका कारण लामो समयसम्म तरलता थुप्रिए अर्थतन्त्र संकटमा पर्ने अनुमान गरेको बेला बैंकहरूले कर्जा लगानीलाई जोड दिएका हुन्।  

यद्यपि दोस्रो चरणमा फैलिएको कोरोना महामारीले पुनः समस्या पार्ने क्रम देखिएको कतिपय बैंकर बताउँछन्। ‘पहिलो चरणको कोरोना महामारीबाट पाठ सिकेर काम गर्ने हो भने दोस्रो चरणमा त्यति धेरै असर नपर्ला भन्ने अपेक्षा गरेका छौं,’ ती बैंकरले नागरिकसँग भने, ‘अब भौतिक उपस्थितिबाट नभई डिजिटल माध्यमबाट निरन्तर कामलाई जारी राख्नु पर्छ।’

पछिल्लो समयमा बैंकहरूले डिजिटल कारोबारमा वृद्धि गर्दै पनि लिएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार यतिखेर सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या एक करोड २७ लाख पुगिसकेको छ। बैंकरहरू लकडाउनले गर्दा धेरै ग्राहकलाई डिजिटल कारोबार गर्नुपर्ने रहेछ भन्ने चासो बढेको बताउँछन.। मोबाइल बैंकिङ प्रयोगकर्ता मात्र नभई इन्टरनेट बैंकिङ ग्राहक संख्या पनि बढेर ११ लाख पुगेका छन्। त्यस्तै ८३ लाखले कार्ड लिएका छन्।

लकडाउनअघि डिजिटल कारोबार गर्न सम्झाइबुझाई गर्नुपर्ने ग्राहकलाई लकडाउनपछि यस्तो कारोबारका लागि त्यति धेरै मेहनत गर्नु नपरेको बैंकर बताउँछन्। पछिल्लो एक वर्षमा करिब २० प्रतिशतले डिजिटल कारोबार गर्नेहरू बढेको बैंकरहरूको भनाइ छ।  

बैंकर्स संघले सोमबार प्रकाशित गरेको विवरण अनुसार बैशाख १० सम्म बैंकहरूको निक्षेप संकलन २२ अर्ब रूपैयाँले घटेको छ। यस अवधिमा कर्जा प्रवाह ९ अर्ब रूपैयाँले बढेको छ। चैत मसान्तसम्म ३९ खर्ब ४४ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका थिए।  

बैशाख १० गतेसम्म २२ अर्ब रूपैयाँले घटेर ३९ खर्ब २२ अर्ब रूपैयाँमा सीमित भएको छ। त्यस्तै चैत मसान्तसम्म बैंकहरूले ३५ खर्ब ७३ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेकोमा बैशाख १० सम्म ९ अर्ब रूपैयाँले थप भई ३५ खर्ब ८३ अर्ब रूपैयाँ पुगेको छ। कोरोना महामारीका कारण लगानी वृद्धि हुन नसकेपछि अधिकांश बैंकहरूले कर्जाको ब्याजदर घटाएका छन्।

पछिल्लो चार वर्षपछि बैंकहरूले घर र सवारी कर्जाको ब्याजदर एकल अंकमा झारेका छन्। साथै राष्ट्र बैंकले सेयर कर्जामा हुने लगानीलाई पनि खुकुलो बनाइदिएको छ। राष्ट्र बैंकको खुकुलो नीतिले बैंकहरूले सेयरमा ठूलो रकम लगानी गरेका छन्। त्यस्तै राष्ट्र बैंकले बैंकहरूको सिसिडी रेसियो ८० बाट वृद्धि गरी ८५ मा पुर्‍याएको छ।  

बैंकरहरूका अनुसार पछिल्लो समयमा कर्जा लगानी अघिल्लो वर्षको हाराहारीमा पुगिसकेको छ। ‘कोरोना महामारीले सुरुका केही महिना समस्यामा पारे पनि पछिल्ला महिनामा निकै सुधार भइसकेको छ,’ ती बैंकरले भने, ‘यस अवधिमा बैंकिङ क्षेत्रले निकै जिम्मेवारीका साथ काम गरिरहेको छ।’कोरोना महामारीले असर परेको उद्योग, व्यवसायलाई सहायता प्रदान गर्न राष्ट्र बैंकले पुनर्कर्जा दिने व्यवस्था गर्दा सुरुमा अधिक तरलता देखिएको उनको भनाइ छ।

‘पुनर्कर्जा अन्तर्गत राष्ट्र बैंकले एक खर्ब रूपैयाँ भन्दा बढी रकम उपलब्ध गराइसकेको छ,’ उनले भने, ‘यदि त्यस्तो व्यवस्था नभएको भए यतिखेर तरलता अभाव भइसक्ने थियो।’ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले पुनर्कर्जा कोषमा रहेको ४२ अर्बको पाँच गुणासम्म पुनर्कर्जा प्रदान गर्ने घोषणा गरेको छ। राष्ट्र बैंकका अधिकारीहरू चालु आर्थिक वर्षभित्र साढे एक खर्ब रूपैयाँ हाराहारी पुनर्कर्जामा जाने अनुमान गर्छन्। यतिखेर बैंकिङ प्रणालीमा करिब ३० अर्ब रूपैयाँ तरलता रहेको बताइन्छ।  

सेयर बजार भने राताम्मे

दोस्रो चरणको कोरोना महामारी रोकथामका लागि सरकारले प्रभावित क्षेत्रहरूमा निषेधाज्ञा लागू गर्न थालेपछि सेयर बजार राताम्मे भएको छ। सरकारले काठमाडौं लगायतका १४ जिल्लालाई कोरोना प्रभावितमा घोषणा गरेको छ। यही १६ गते रातिदेखि उपत्यकामा निषेधाज्ञा हुने घोषणा गरिएको दिन सोमबार सेयर सूचक मापक नेप्से परिसूचक ६५.५९ अंकले घटेर २५०६.६२ मा सीमित भएको छ।  

यस दिन कारोबार रकम पनि घटेर ६ अर्ब ५९ करोड ९ लाख २८ हजार रूपैयाँमा सीमित भएको छ। अघिल्लो दिन पनि नेप्से परिसूचक ७७ अंकले घटेको थियो।

प्रकाशित: १४ वैशाख २०७८ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App