१ जेष्ठ २०७८ शनिबार
अर्थ

स्याउ फुलेर सेताम्य जुम्लाको सैनिक ब्यारेक

जुम्लामा रहेको नेपाली सेनाको श्री नम्बर २४ बाहिनी अड्डामा स्याउ फुलेर सेताम्य भएको छ । ब्यारेक वरिपरि स्याउ फुलेको दृश्यले बाहिनीको सुन्दरता नै बेग्लै छ । ब्यारेक भित्रको कुनै पनि जमिन खाली छैन । कतै स्याउ, कतै ओखर, कतै उतिस त कतै आरुजातका बिरुवा । लाग्छ ‘यो नेपाली सेनाको ब्यारेकसंगै कृषि प्रशिक्षण केन्द्र हो । कृषक पाठशाला हो ।’  

जुम्लाका किसानले गर्न नसकेको कृषि कर्म ब्यारेकमा छ । ब्यारेक एक घर हो । ब्यारेक भित्र पनि सुन्दरताको जरुरत छ, बाहिनीपति यमबहादुर सापकोटाले भने,‘ब्यारेक जति सुन्दर र शान्त बनाउन सक्यो, उति नै राम्रो देखिन्छ ।’ बाहिनी भित्र अहिले ८ सय स्याउका विरुवा रोपिएको छ । दुई सय ओखरका र बाँकी, उतिस र आरुजातका बिरुवा रोपिएको छ । बगैचा भित्रका झण्डै ४ सय बिरुवाले फल दिन्छन् । यो समयमा फुलेर सेताम्य छ  । जब फल लाग्छ, तब बगैँचा नै राताम्य हुन्छ । यहाँ भित्रको दृश्य मनमोहक र लोभलाग्दो हुन्छ । ’

स्याउ जुम्लाको पहिचान हो, ब्यारेक भित्र स्याउ रोपेर जुम्ली स्याउको पहिचान बचाउन चाहान्छौँ, बाहिनीपति सापकोटाले भने,‘जुम्लाले एक घर एक स्याउ बगैँचाको अवधारणा ल्याएको छ । यो अवधारणा ब्यारेक भित्र पनि लागु भएको छ । झण्डै एक सेना, एक स्याउ बिरुवा जस्तै छ ।  

ब्यारेक भित्र रोपिएको बगैँचाको संरक्षण गर्न तीन तहको जिम्मेवारी तोकिएको छ । अधिकृत र पदिक, बिल्लादार, प्युठ, अम, हवलदार र सिपाही तथा जवानहरु । यी तीनै सेक्टरले बगैँचा व्यवस्थापन र संरक्षणमा जोड दिन्छन् । कतिबेला बिरुवामा पानी हाल्ने ? बगैचा व्यवस्थापन कतिबेला गर्ने ? र समग्रमा बगैँचाको रेखदेख कसरी गर्ने भन्ने विषयमा यी तिनै सेक्टर उत्तिकै जिम्मेवार छ । सबै जनशक्ति आफ्नो नियमित कर्मसंगै कृषि कर्ममा पनि उत्तिकै खटिएको छ ।  

ब्यारेक भित्र स्याउका बिरुवा कति छन् ? कस्तो अवस्थामा छन् ? क्याम्प कमान्डिङ अफिसरले हरेक महिना प्रतिबेदन बुझाउँछन् । बिरुवाको अवस्था हेरेर व्यवस्थापनको लागि थप पहल हुन्छ । अर्गानिक जुम्ली स्याउको खेतीले मात्र किसानको आयआर्जनमा टेवा पुर्‍याउन सक्छ भन्ने सन्देश ब्यारेक भित्रैबाट दिन खोजेको बाहिनीपति सापकोटा बताउँछन् ।  

स्याउ बगैँचाको प्रत्यक्ष निगरानीको लागि कृषि विकास कार्यालय, स्याउ सुपरजोनको कार्यालयसंग समन्वय भइरहेको छ । पटक पटक कृषि प्राविधिक ब्यारेक भित्रको बगैँचामा पुग्छन् । स्याउको अवस्था बारेमा जानकारी लिन्छन्। चुना, निलोथुतु, लगाउन सिकाउँछन् । कृषि प्राविधिकले दिने परामर्शका आधारमा ब्यारेक भित्रको बगैँचा व्यवस्थापन हुन्छ ।  

कृषि कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा सेनाले निर्माण गरेको स्याउ बगेँचाले सबैको मन तानेको सुनाउँछन् । ब्यारेक भित्रको सैन्य तालिम सकाइसकेपछिको सबै समय बगैँचा तिर लगाउँछन् । स्याउ खेती गर्दा जनशक्ति र समयको सहि सदुपयोग भइरहेको बाहिनी अड्डाले जनाएको छ । सेनामा भर्ति भएका जनशक्ति कृषिकर्ममा लाग्दैनन् । अवकाश पछिको जीवन बेरोजगार झै हुन्छ भन्ने भ्रम छ, बाहिनीपति सापकोटाले भने,‘अब सेनाबाट अबकाश हुने हरेक जनशक्तिले कृषि कर्ममा लाग्न यो कार्यले प्रेरित गर्नेछ । नेपाल कृषि प्रधान देश हो । नेपाली सेना पनि कृषि कर्म प्रति विश्वास गर्छ । अवकाश पछिको पुरै जीवन कृषि क्षेत्रमा लगाउनको लागि राम्रो प्रेरणा बन्ने छ ।’

अहिले सेना लडाइमा मात्र केन्द्रित हुन्छ । फौजि कार्यमा मात्र संलग्न हुन्छ भन्ने भ्रम छ,‘जुम्लाको बाहिनीमा स्थापना गरेको स्याउ बगैँचाले सेना एक कृषि क्षेत्रको असल प्रतिनिधि हो । किसानको प्रेरणा हो भन्ने प्रमाणित गरेको छ । नेपाल कृषि प्रधानदेश निबन्ध लेख्नको लागि मात्र केन्द्रित छैन । साँच्चिकै यहाँको हरेक जनशक्ति कृषि कर्ममा संलग्न छ भन्ने सन्देश ब्यारेक भित्रको बगैँचाबाट दिन खोजिएको छ ।  

सेनाबाट घरफर्कदा हरेक सैन्य जनशक्ति कृषि पेशामा लागुन्, घरआगनमा करेशाबारी गरुन्, स्याउ बगैचा गरेर आर्थिक समृद्धिको यात्रामा सहभागि हुन् र कृषिमा लगानी गरेर जीविकोपार्जनमा सहजता ल्याउन् भन्ने सन्देश दिन खोजेको हो ।  

ब्यारेक भित्र अहिले झण्डै बर्षेनी ७ क्वीन्टल स्याउ उत्पादन हुन्छ । स्याउलाई जवान, अधिकृत र बंगला मेसमा समानरुपले बाँडेर खाने गरिन्छ । बाहिनीभित्र प्रवेश गर्ने हरेक पाहुनाले स्याउको स्वाद चाख्न पाउँछन् । अहिले बाहिनी कृषि प्रशिक्षण केन्द्र जस्तो बनेको छ । यहाँका किसान स्याउ खेतीबारे परामर्श लिन बाहिनीमै पुग्छन् । सेनाले बगैँचा स्थापना गरेर संरक्षण गरेको देखेर दंग पर्छन् ।  

किसानलाई स्याउबाट हुने आयआर्जन, स्याउखेतीबारे जानेको ज्ञान बाड्ने गरिएको बाहिनीपति सापकोटा बताउँछन् । स्याउ बगैचाले ब्यारेकको सुन्दरता थपिएको छ । स्याउको स्वादमा यहाँको सौन्दर्यताको वर्णन गर्न सकिने अवस्था छैन । यहाँको स्याउ बगैँचा हरेक किसानले एक पटक हेर्ने पर्ने जस्तो छ ।

कर्णाली प्राविधिक शिक्षालयसंग समन्वय गरेर ब्यारेक भित्रै कृषि क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बाहिनीपति सापकोटा बताउँछन् । उनले भने,‘स्याउ बगैँचा भित्रको सेनाको ब्यारेक हेर्दा र सुन्दा पनि निकै रमणीय अनुभूति गराउँछ । यहाँ रेड, रोयल र गोल्डेन जातको स्याउ रोपिएको छ । ब्यारेक भित्र छिर्ने हरेकको नाममा स्याउ रोपिएको छ । स्याउको बिरुवासंगै नेमप्लेट राखिएको छ । यसले कसले रोपेको बिरुवा सुक्यो । कसले रोपेको बिरुवा पलायो । सजिलै थाहा हुन्छ । धेरै मेहनत र लगावका कारण होला यहाँको सबै विरुवामा पालुवा पलाइसकेको छ ।  

जुम्ला स्याउको भण्डार हो । त्यसैले यहाका सरकारी कार्यालय, सुरक्षा संग सम्बन्धित कार्यालय र कुनै पनि बाँझो जग्गामा स्याउको रोपण हुन आवश्यक छ । जसले मात्र स्याउमय जुम्लाको पहिचान दिनसक्छ । बाहिनीपति सापकोटाले भने,‘स्याउको अर्को नाम समृद्धि हो । स्याउ खेतीले मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने अवस्था छ ।’ जुम्लाका झण्डै १६ हजार घरमा स्याउँ बगैँचा छन । एउटा विशाल बगैँचा बाहिनी भित्र थपिएको छ । यो बगैँचा एक उदाहरण हो । जुम्ली किसानको प्रेरणा हो ।

प्रकाशित: ९ वैशाख २०७८ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?