coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कागजमै सीमित कर्णाली सरकारको सडक सुरक्षा कार्यक्रम

समृद्धिका लागि सुरक्षा अभियान अन्तर्गत कर्णाली प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम शुरुवात गर्‍यो। कर्णालीका १० वटै जिल्लामा एकैपटक शुरु भयो। यो कार्यक्रमले कर्णालीका सडक निकै सुरक्षित हुने आशा गरिएको थियो। अब कर्णालीका यात्रु सहजै रुपमा सुरक्षित यात्रा गर्ने छन्। 

'सवारी दुर्घटना दर घट्ने विश्वास गरियो,' स्थानीय लालसिंह खत्रीले भने,‘सडक सुरक्षा कार्यक्रम त क्षण भरमै कहाँ विलायो पत्तो छैन। न सडक सुरक्षाका लागि सडकमा प्रहरी भेटिन्छन्, न त कडा जाँच नै। उल्टै मनपरी रुपमा सवारी चलिरहेका छन्। क्षमताभन्दा बढी यात्रु कोच्नेदेखि मदिरा सेवन गरेर तीव्र गतिमा सवारी हाक्नेसम्मको काम सडकमा भइरहेको छ।’

कर्णाली प्रदेशमा सवारी दुर्घटनाका कारण धेरै मानवीय क्षति भइरहेको भन्दै दुर्घटना न्यूनिकरणका लागि सडक सुरक्षा कार्यक्रम लागू गरिएको थियो।  प्रभावकारी हुन सकेको छैन। सडक सुरक्षा कार्यक्रम नाम मात्रको बन्यो। अब व्यवहारमा कार्यन्वयन भएर साचिक्कै कर्णालीको सवारी दुर्घटना दर घटाउने स्थानीयको जोड छ। शुरुका केही दिन कर्णाली राजमार्ग, छिन्चु–दैलेख सडक खण्ड, कपुरकोट–रुकुम सडक खण्डलगायतमा हाई–वे प्रहरी गस्ती परिचालन भयो। चालक, नागरिक तथा सडक प्रयोगकर्ताहरुका लागि सचेतनामूलक कार्यक्रम पनि भए। तर पछिल्लो समयमा सडक सुरक्षा कार्यक्रम कागजमै सीमित बन्यो।  

कर्णाली प्रदेशमा हुने घटनाहरु मध्ये ५६ प्रतिशत घटना सडकका कारण मानिसको मृत्यु हुने गरेको तथ्यांकसहित दुर्घटना न्यूनिकरण गर्ने लक्ष्य थियो। तर कर्णाली प्रदेशमा पछिल्ला २० महिनामा ४ सय ९५ सवारी दुर्घटनामा १ सय ६९ जनाको ज्यान गएको छ।  

कर्णाली प्रदेश ट्राफिक कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म २ सय ३१ वटा सवारी दुर्घटना भएका छन्। जसमा ७२ जनाको मृत्यु भएको छ। यो आर्थिक वर्षमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भए। प्रदेशभरी ६६ वटा मोटरसाइकल दुर्घटनामा परे। ट्रक २९, टिप्पर ६, बस २२, माइक्रो बस ७, जिप र कार ३०, ट्याम्पो १८, साना सवारी ११ अटो ५, अन्य २ वटा सवारी दुर्घटनामा परेका हुन्। यी दुर्घटनामा परी १ सय १७ जना गम्भीर घाइते भए। २ सय ४० जना सामान्य घाइते छन्।  

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत कर्णाली सरकारले सडक सुरक्षा कार्यक्रम राम्रो कार्यक्रम ल्याएपछि प्रभावकारी कार्यन्वयन नहुँदा दुर्घटना न्यूनिकरण हुन नसकेको बताए। उनले भने,‘कर्णालीका सडक ज्यानमारा सडक जस्तै छन्। सडक सुरक्षा कार्यक्रम ग्रामिण सडकसम्म पुगेन। परिणाम स्वरुप वर्षेनि कर्णालीवासी सवारी दुर्घटनामा मृत्युवरण गरिरहेका छन्।’  

अव्यवस्थित तथा साँघुरो सडक र नियम विपरीत सवारी चल्नु र सडकमा जेब्रा क्रसिङको व्यवस्था नहुनु र चालकको लापरबाहीले सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालय जुम्लाका असई कुशराज शाही बताए।  

जुम्लाका अधिकांश चालकहरूले रातीको समयमा मदिरा सेवन गरी गाडी चलाउँछन्। कर्णाली राजमार्गलाई सुरक्षित मार्ग बनाउन संघ र प्रदेश सरकारको ध्यानाकर्षण नहुँदा समस्या भएको नागरिक समाजका अध्यक्ष राजबहादुर महत बताउँछन्।  

उनले सडक सुरक्षा कार्यक्रम अन्तर्गत प्रदेशका १० वटै जिल्लामा नियमित ट्राफिक जाँच तथा सडक अतिक्रमणलाई हटाउँदै ट्राफिक नियमबारे जनचेतना फैलाउन आवश्यक रहेको बताए।

प्रकाशित: ६ वैशाख २०७८ १४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App