७ वैशाख २०८१ शुक्रबार
अर्थ

चौरी महोत्सवको तयारी

चौरी महोत्सव हुने स्थान नजिकै चर्न गएका चौरी । तस्बिर : गिरिराज/नागरिक

वन क्षेत्र गुराँस फूलेर आर्कषक बन्न थालेका छन्। मौसम खुल्दा हिमाल र हिमाल दृष्य उत्तिकै सुन्दर छन्। त्यसो त जिल्लाका उच्च पहाडी क्षेत्र शौन्दर्यताले पुलकित छन्। हिमाली क्षेत्रको पहिचानको रुपमा चौरीलाई पनि लिईन्छ। हिमाली र उच्च पहाडी क्षेत्रको गहना चौरीलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित उत्तरी फालेलुङ गाउँपालिकाको तीन सिमानामा चौरी महोत्सव हुन लागेको छ।

नयाँ वर्षको दिन चौरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। चौथो महोत्सव समुद्र सतहदेखि ३ हजार ६ सय मिटरको उचाइमा हुन लागेको हो। तीन वटा महोत्सव सोही गाउँपालिकाको चारराते भन्ने ठाउँमा भएको थियो। तीन सिमाना क्षेत्रको प्रवर्द्धनका लागि यस पल्ट महोत्सवको स्थान सारिएको छ।

चौरी पालनलाई प्रवर्द्धन गर्दै पर्यटन विकासका लागि महोत्सव आयोजना गर्न लागिएको मुल आयोजक समितिका संयोजक तथा फालेलुङ–४ का वडाध्यक्ष बुद्धिमान साउदेनले जानकारी दिए। उनका अनुसार विगतदेखि लाग्दै आएको महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि धामधम कामहरु भईरहेको छ।  

भारतको सिमाना नजिकै पर्ने यो स्थान नेपालतर्फ सडक पुगेकाले महोत्सव सहज हुने बताइएको छ। महोत्सवका चौरीको प्रदर्शनी, चौरीजन्य उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम तथा उच्च पहाडी क्षेत्रको पहिचान झल्किने कार्यक्रमहरु राखिएको मुल आयोजक समितिका सचिव सुनिल वान्तवाले जानकारी दिए।  

यहाँ आउने आन्तरिक पर्यटकलाई गोमस्टेमा राख्ने योजना रहेको छ। विगतमै चौरी महोत्सव चर्चित भईसकेको थियो। चौरी पालकलाई प्रोत्साहन गर्नका साथै यहाँका गन्तव्यको प्रचार प्रसार हुने लक्ष्य रहेको गोठ सञ्चालक चन्द्र नेपाल बताउँछन्। यहाँ ताप्लेजुङ र पाँचथरका विभिन्न क्षेत्रबाट चौरी ल्याएर प्रदर्शन गरिने छ। दूधजन्य उत्पादको खानपान र प्रदर्शनमा राखिने बताइएको छ।  

चौरी महोत्सव चौरी पालकहरुलाई महत्वपूर्ण भएको ताप्लेजुङको कालीखोलाका चौरी पालक भिम भण्डारीले बताए। चौरी महोत्सव फालेलुङ कञ्चनजंघा पर्यापर्यटन संस्था, दिप ज्योती युवा क्लब र कञ्चनजंघा चौरी पालन संरक्षण संस्थाले आयोजना गर्न लागेको हो। फालेलुङ गाउँपालिकाले प्रवर्द्धन गरेको महोत्सवमा कञ्चजंघा भु–परिधि संरक्षण तथा विकास पहल नेपाल सहआयोजक रहेको छ।  

चौरी घट्दै, महत्व बढ्दै

लेकाली क्षेत्रमा पुग्नेहरु चौरीसँग फोटो खिच्न रहर गर्छन्। यतिमात्र होइन चौरीको छुर्पि, घ्यूलाई निक्कै महोत्वका साथ लिईन्छ। हिमाली क्षेत्रको पहिचानको रुपमा मानिएको चौरी व्यवसायको महत्व बढ्दै गएपनि चौरी पालन भने घट्दै गएको देखिन्छ। चौरी पालनबाट राम्रो आम्दानी हासिल गर्न सकिने भएपनि युवा पुस्ताको आर्कषण कम रहेको छ। चौरी पालक राजकुमार राईका अनुसार उच्च पहाडी क्षेत्रमा दुःख गर्न युवा पुस्ताले रुचि देखाएका छैनन्। पाँचथर तथा ताप्लेजुङमा चौरी पाल्ने क्रम घट्दै गएको पाईन्छ।

प्रकाशित: २८ चैत्र २०७७ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App