७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सुनकोसी मरिण डाइभर्सन आयोजनाः प्रधानमन्त्रीले शिलान्यास गरेसँगै स्थानीय उत्साहित

सिन्धुलीको सुनकोसी गाउँपालिका ६ स्थित सुनकोसी मरिन डाइभर्सन आयोजनाकोे सुनकोसीस्थित डुबान क्षेत्र । तस्बिर : अनिल/सिन्धुली

सुनकोसी मरिण डाइभर्सन बहुउद्देशयीय आयोजना निर्माण कार्यको शिलान्यास भएसँगै स्थानीय उत्साहित भएका छन्। सरकारको प्रमुख प्राथमिकतामा रहेको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको गत फागुन २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि आयोजना बन्नेमा स्थानीय ढुक्क मात्र भएका छैनन् हर्षित समेत देखिन्छन्।  

आयोजनाले स्थानीयलाई रोजगारी र अवसर पाउने आशा जागेको छ। प्रधानमन्त्रीले शिलान्यास गरेसँगै आयोजना बन्नेमा हामी ढुक्क भइसकेका छौ, स्थानीय शिक्षक अरुणकुमार थिङले भने, 'अब क्षमता अनुसारको रोजगारी र अन्य अवसर आउनेमा आश स्थानीयमा पलाएको छ।' 'हाल यहाँका स्थानीय आयोजनाका कारणबाट विस्थापित भएका छन्, विस्थापित सबैले घर समेत बनाइसकेका छैनन्, तर अब आयोजना बन्नेमा हामी ढुक्क छौ,' उनले भने, 'यहाँका स्थानीयलाई रोजगारीका अवसर आउन भन्नेमा छौ। ' 

सोही स्थानका नबराज थिङ पनि आयोजना शिलान्यासँगै आफूहरु खुसी भएको बताउँछन्। यो राष्ट्रिय गौरवको आयोजना भएकोले यसलाई गौरवपूर्ण तरिकाले नै सम्पन्न गर्न स्थानीय बासिन्दाले मनस्थिती बनाएका छन्, उनले भने, 'आफ्नो सिप अनुसारको श्रम पाउनेमा पनि स्थानीय आसाबादी छौं।’ सुनकोसी मरिण डाइभर्सनले यहाँको कमलामाई नगरपालिका २ कुसुमटार क्षेत्रका १७ परिवार त्यहाँबाट मुआब्जा लिएर विस्थापित भएका छन्। उनीहरुले अन्यन्त्र स्थानमा विविध कारणले अझै स्थापित हुन नसकेको स्थानीयको भनाइ छ।  

उसो त आयोजना बन्नेमा सिन्धुलीका स्थानीय मात्रै नभएर प्रदेश २ का जनता समेत खुसी भएको प्रदेश २ सरकार बताउँछ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणबाट उक्त प्रदेशका लाखौं जनता लाभान्वित हुने बताउँछन्। ‘यो आयोजनाले प्रदेश नं. २ का सर्लाही, महोत्तरी, धनुषा, बारा र रौतहट जिल्लामा एक लाख २२ हजार हेक्टर जमिन वर्षैभरि सिंचित हुनेछ यो खुसीको कुरा हो उनले भने। मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ को भूमिमा उत्पादन हुने खाद्यान्नले सिङगो मुलुकको खाद्यान्न समस्या पूरा गर्ने भन्दै एक लाख २२ हजार हेक्टर जमिन सिंचित हुँदा कृषिको उत्पादकत्व वृद्धि हुने विश्वास व्यक्त गरे।  

सुनकोसी गाउँपालिकाको वडा नं. ७ को सुनकोसी नदीमा १२ मिटर उचाईको बाँध बाधि ६७ क्युविक प्रति सेकेन्ड पानी १३ दशमलव १ किलोमिटर सुरुङगको माध्यमबाट कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटारस्थित मरिन खोलामा पानी खसालिने यो आयोजनाले प्रमुख लक्ष्य रहेको छ। आयोजनाबाट सुनकोसीको ६७ क्युमेक्स पानी मरिणमा खसाल्ने र त्यसबाट साढे २८ मेगावाट बिजुलीसमेत उत्पादन गर्ने सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख शुशिलचन्द्र आचार्यले जनाए।  

विद्युत आयोजनाको पावर हाउस भने कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटार फाँटमै रहनेछ। तराईका विभिन्न जिल्लालाई सिँचाइको सुविधा पुर्‍याउन सरकारले यो आयोजनालाई बहुउद्देश्य आयोजनाका रुपमा अगाडी बढाउँदै निर्माण कार्य गर्न आयोजनाको शिलान्यास गरेपछि स्थानीय उत्साहित भएका हुन्। सुनकोसीको पानी डाइभर्सनपछि मरिण नदीमा मिसाउन कमलामाई नगरपालिका–२ कुुसुमटार फाँटमै खसालिने छ। उक्त फाटबाट मरिण नदी हुँदै ४२ किलोमिटर दूरीमा रहेको बागमती बाँधमा पानी पुर्‍याइ सिँचाइको सुविधा बढाउने लक्ष्य सरकारको छ। 

आयोजना निर्देशक आचार्यका अनुसार भेरी बबई आयोजना निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ (कोभेक)ले सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको छ। आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्ष ०७७/०७८ बाट सुरु भई वर्ष ०८२/०८३ सम्ममा सक्ने लक्ष्य रहेको छ। सो आयोजनाको सुरुङ भने टनेल बोरिङ मेशनि (टीबीएम)ले खन्ने आयोजनाले जनाएको छ।

प्रकाशित: ६ चैत्र २०७७ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App