४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गौतम बुद्ध विमानस्थल टर्मिनल भवनः डिजाइन फेरिँदा लागत दोब्बर

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन परिवर्तन गर्न लागिएको छ। यसबाट खर्च बढ्नेछ। सरकारका केही उच्च पदस्थ कर्मचारीको स्वार्थमा दोब्बरभन्दा बढी लागत पर्नेगरी डिजाइन परिवर्तन गर्न लागिएको हो।

नेपाल नागरिक उड्डययन प्राधिकरणले यसअघि तयार गरेको डिजाइन अनुसार दोस्रो टर्मिनल भवन बनाउन ८ करोड अमेरिकी डलर (९ अर्ब रूपैयाँभन्दा बढी) लाग्ने अनुमान गरिएको थियो। प्राधिकरणले अहिले पहिलोे डिजाइन परिवर्तन गरी १८ करोड अमेरिकी डलर (करिब २१ अर्ब रूपैयाँ) खर्च लाग्ने गरी दोस्रो डिजाइन तयार गर्न लागेको छ।

पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका केही उच्च पदस्थ कर्मचारीको स्वार्थका कारण टर्मिनल भवनको डिजाइन परिवर्तन गर्न सुरु गरिएको छ। भवनको क्षेत्रफलसमेत बढाएर लागत दोब्बरभन्दा बढी बनाउने तयारी छ। स्रोतले लागत बढाउनुको स्वार्थबारे भने स्पष्ट पार्न सकेन।  

‘प्रधानमन्त्री निकट केही उच्च कर्मचारीले दोस्रो टर्मिनल भवनको पहिलेको डिजाइनलाई परिवर्तन गरी नयाँ बनाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्,’ मन्त्रालय स्रोतले भन्यो ‘यति ठूलो निर्णय गर्दा तालुकवाला मन्त्री भानुभक्त ढकालसँग भने सोधपुछ गरिएको छैन।’

स्रोतका अनुसार पहिलो डिजाइन स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको थियो। त्यही बेला भवन ठूलो बनाउने भन्दै अर्को डिजाइन गर्नु भनियो।

प्राधिकरणका अधिकारीहरू भने यसअघि कुनै पनि डिजाइन तयार नभएको दाबी गर्छन्। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यसअघि दोस्रो टर्मिनलका लागि कुनै डिजाइन तयार नगरिएको बताए। उनले पहिलो पटक टर्मिनल भवनको डिजाइन तयार भइरहेको जानकारी दिए। उनले भवन केही ठूलो बनाउने कि भनेर छलफल भने चलिरहेको बताए।

‘कोभिडका कारण केही समय रोकिएको डिजाइनको काम अहिले सुरु भएको मात्र हो’, महानिर्देशक पोखरेलले भने, ‘डिजाइन के–कस्तो बनाउने र कतिसम्म लगानी गर्ने भन्नेबारे विभिन्न चरणमा छलफल चलिरहेको छ।’  

प्राधिकरणअन्तर्गतका राष्ट्रिय गौरवका आयोजना (पोखरा, भैरहवा र निजगढ) हेर्ने गरी तोकिएका विभागीय प्रमुख प्रदीप अधिकारीले पनि भैरहवाको दोस्रो ट्रमिनल भवनको पहिले डिजाइन नबनाएको र अहिले निर्माणकै क्रममा रहेको बताए। ‘भवन ठूलो बनाउँदा के बिग्रन्छ र ? सरकारले जस्तो चाह्यो त्यस्तै बनाउने हो। यसमा अन्यथा केही छैन’, अधिकारीले भने, ‘अहिलेको अवस्थमा ठूलो भवन बनाउने कुरा सत्य हो। सरकारले पनि ठूलो भवनलाई प्राथमिकतामा राखेको छ।’ उनका अनुसार डिजाइनको अन्तिम स्वीकृति अर्थ मन्त्रालयले गर्नेछ।

महानिर्देशक पोखरेल र विभागीय प्रमुख अधिकारीले नभने पनि प्राधिकरणका अर्का एक अधिकारीका अनुसार विदेशी कम्पनी आइसिटी प्रोन्टेक्ट एसएए र जेभीमा एनट आर्किटेक्ट कन्सल्टेन्टले पहिलेको डिजाइन बनाएका हुन्। यी दुवै कम्पनीले नै फेरि दोस्रो डिजाइन बनाउने काम गरेको स्रोतको दाबी छ।

यसअघि सरकारले नेपाल सरकारको २० मिलियन र एसियाली विकास बैंक (एडिबी) को ६३.७ मिलियन अमेरिकी डलर लागतमा टर्मिनल भवन निर्माण गर्ने योजना थियो। डिजाइन परिवर्तन गर्दा करिब १० अर्ब रूपैयाँको आर्थिक भार पर्नेछ। यो टर्मिनल भवन ठूलो बनाउन आवश्यक थियो वा थिएन भन्ने वहसकै विषय छ।

भवन निर्माणका लागि यसअघि नै जग्गा अधिग्रहण गरिसकिएको छ। यसलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरेको छ। अहिले निर्माणाधिन अवस्थामा रहेको पहिलो टर्मिनल भवन सन् २०२५ सम्मलाई मात्र पुग्ने भएकाले दोस्रो टर्मिनललाई लागत बढाएर ठूलो बनाउनुपरेको भनिएको छ। दोस्रो टर्मिनल भवन पनि सन् २०४५ सम्म ट्राफिकिङका कारण अपुग हुने दाबी गरिएको छ।

प्रकाशित: ६ चैत्र २०७७ ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App