कोभिडका कारण थिलथिलो भएको देशको अर्थतन्त्रको बाछिटा उदयपुरमा पनि परेको छ। जसले प्रत्येक्ष प्रभाव राजश्व संकलनमा पर्ने देखिएको करदाता सेवा कार्यालय गाईघाटमा हालसम्म संकलित राजश्वले देखाएको छ।
चालु आर्थिकवर्षको फागुन मसान्तसम्मको राजश्व संकलनको अवस्थाले कोभिडले नकारात्मक असर अर्थतन्त्रमा देखाएको छ। करदाता सेवा कार्यालयले गत साउनदेखि फागुन मसान्तभित्र झण्डै ३६ करोड मात्र राजश्व संकलन गरिरहेको छ। कार्यालय प्रमुख कर अधिकृत सरोज सिंहका अनुसार गएको ८ महिनामा गतवर्षको दाँजोमा आधाभन्दा केही बढी मात्र राजश्व संकलन भईरहेको छ।
गतवर्ष ६२ करोड ९९ लाख ७४ हजार ५ सय २८ रुपैयाँ १८ पैसा संकलन भएको थियो। चालु वर्ष भने फागुन २९ सम्म ३५ करोड ८६ लाख ६६ हजार ३ सय ७८ रुपैयाँ ४४ पैसा मात्र जम्मा भईरहेको छ। साउनमा ७ करोड ३५ लाख ७४ हजार २ सय ७५ रुपैयाँ ९० पैसा, भदौमा १ करोड ५० लाख ३१ हजार ७ सय ९४ रुपैयाँ ३५ पैसा र असोजमा ३ करोड ४२ लाख ७२ हजार ४ सय ३५ रुपैयाँ ४३ पैसा जम्मा भएको छ।
त्यस्तै कात्तिकमा २ करोड ५९ लाख ७३ हजार ८ सय ३६ रुपैयाँ ३२ पैसा जम्मा भएकोमा मंसिरमा २ करोड ९० लाख ८१ हजार १ सय ९३ रुपैयाँ ४७ पैसा, पुसमा ६ करोड ८ लाख १४ हजार ७ सय ८६ रुपैयाँ ९४ पैसा, माघमा ४ करोड ६१ लाख ९ हजार ८ सय ११ रुपैयाँ ७ पैसा र फागुनमा ७ करोड ३७ लाख २७ हजार २ सय ४४ रुपैयाँ ६६ पैसा जम्मा भएको छ।
विगत ८ महिनाको अवधिमा सबैभन्दा बढी फागुनमा राजश्व जम्मा भएको छ। त्यसपछि साउन, पुस र माघमा दोस्रो र तेस्रो ठूलो अंकको राजश्व संकलन भएको अधिकृत सिंहले बताए। उनका अनुसार भदौ र त्यसपछि असोज, कात्तिक र मंसिरमा संकलन भएको राजश्व अंक न्यून छ।
चालु वर्ष ६९ करोड २९ लाख ७१ हजार ९ सय ८० रुपैयाँ ८० पैसा संकलनको लक्ष्य लिएको कार्यालयले ८ महिना बित्दा भर्खर ५१.७६ प्रतिशत लक्ष्य हासिल गरिरहेको सिंहले बताएका छन्। कोभिडले अर्थतन्त्रमा गम्भीर प्रभाव पारे पनि आर्थिक वर्षको अन्त्यसम्ममा लक्ष्य अनुसार राजश्व उठ्ने अपेक्षा कार्यालयले गरेको छ। करदाता सेवा कार्यालयले पछिल्लो समय राजश्वबारे उपभोक्ता र करदाताहरुलाई बेलाबेलामा अन्तरक्रिया कार्यक्रममार्फत जानकारीमूलक सन्देश दिँदै आएकाले पनि करदाताहरुको संख्य बढ्दै गएको अधिकृत सिंहले बताएका छन्।
प्रकाशित: ४ चैत्र २०७७ ०७:५८ बुधबार