१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

३० करोड लगानीमा मनोरञ्जन पार्क

निर्माण

पूर्वकै केन्द्रमा पर्ने इटहरी–२ मा ३० करोड रूपैयाँ लगानीमा इपी ल्यान्ड एन्ड वाटर पार्क सञ्चालनमा आएको छ। ६ बिघा क्षेत्रफलमा निर्मित पार्क अघिल्लो वर्ष चैतदेखि नै सञ्चालनमा ल्याउने योजना रहे पनि कोरोना महामारीले झन्डै वर्ष दिन ढिलाइ भएको हो। यस पार्कको विधिवत् उद्घाटन फागुन १७ गते गरिएको छ।  

संसारका अधिकतम मुलुकका ठूलासाना सहरमा विभिन्न किसिमका मनोरञ्जन पार्क हुन्छन्। विशेषगरी विकसित मुलुकका सहरवासीको मनोरञ्जनका लागि पार्क अनिवार्य जस्तो बनेको छ। यस्ता पार्क कतै सरकारले बनाएको हुन्छ भने कतै निजी क्षेत्रको लगानीमा बनेका हुन्छन्।

नेपालका मुख्य र प्रमुख सहरमा कमै मात्र मनोरञ्जन पार्क बनाइएका छन्। पार्क निर्माण गर्न सरकार कन्जुस मात्र देखिएको छैन, निजी क्षेत्रलाईसमेत प्रोत्साहन गर्न हिचकिचाउँछ। त्यसैले बिदाको समय वा फुर्सदको समयमा घुम्न जाने नजिकमा राम्रो गन्तव्य कतै हुँदैन। यही अभावलाई देखेर नै निजी क्षेत्रले पूर्वमा ठूलो लगानीमा पार्क बनाएको हो।

‘परिवारसहित रमाइलोसँँग समय बिताउन वा बिदाको दिन परिवारसँग घुम्न जान कुनै उपयुक्त ठाउँ नभएको देखेर हाम्रो समूहले इपी ल्यान्ड एन्ड वाटर पार्क निर्माण गरेको हो,’ पार्क सञ्चालक समितिका अध्यक्ष भीमबहादुर पौडेलले भने। उनका अनुसार पार्क सञ्चालनले इटहरीमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि रमाउने ठाउँ मिलेको छ। यहाँबाट बालबालिकादेखि तन्नेरीसम्म पारिवारिक मजा लिन पाउने भएका छन्।  

पार्कमा पूर्व एआइजी कृष्ण बस्नेत तथा पूर्व डिआइजी ज्ञानविक्रम शाह, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेल र काठमाडौंको हुपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानी रहेको छ। यो पूर्वको सबैभन्दा ठूलो वाटर पार्क हो। पार्कमा पानीसँग खेल्ने आठवटा अत्याधुनिक वाटर स्लाइड राखिएका छन्।

एउटा स्लाइडमा एक पटकमा बढीमा आठ जनासम्मले खेल्न सक्छन्। एक दिनमा ५ हजार जनाले रमाइलो गर्न सक्छन्। पार्कमा एकै पटक ६ सय मानिस अटाउने एक वेभ पुल राखिएको छ। यस पुलमा बसेपछि समुद्रको छालमा बसेको जस्तो आनन्द आउने घुम्न आउनेहरू बताउँछन्।

पार्कस्थित जोरासिक यहाँको अर्को सुन्दर विशेषता हो। यहाँ बोटिङ गर्न सकिन्छ र बोटिङ गर्दै डाइनोसरलगायत लोप भइसकेका प्रजातिका जनावरको अवलोकन गर्न सकिन्छ। पार्कमा जिप लाइन टावर बनाइएको छ। यसमा एक टावरदेखि अर्को टावरसम्म डोरीमा चिप्लिएर जाने खेल खेल्न सकिन्छ। साथै वाल क्लाइम्बिङ (चट्टानमा चढ्ने) स्थान पनि निर्माण गरिएको छ। पार्कमा पहिलो स्नोपार्क केही समयपछि सञ्चालनमा ल्याइनेछ। यसमा हिउँबाट आनन्द लिन सकिनेछ।

‘नेपालमा स्नोपार्क अहिलेसम्म बनेको छैन, भारतका केही स्थानमा न्यून छन्,’ पार्क सञ्चालक जगत बस्नेतले नागरिकसँग भने, ‘स्नोपार्क सञ्चालन गर्न अब दुई महिना जति लाग्छ।’ उनले स्नोपार्क सञ्चालनमा आएपछि ‘पूर्व आऔं हिउँ खेलौं, इटहरी आऔं हिउँ खेलौं,’ भन्ने नारा हुनेछ। स्नोपार्कका लागि ३५ हजार लिटरको ट्यांकी हुनेछ। ट्यांकीको पानीलाई मेसिनले हिउँ बनाएर भित्र फाल्ने अनि हिउँ भुइँमा जम्ने हुँदा त्यसबाट चिप्लेटी खेलेर आनन्द लिइने बस्नेतले जनाए।  

पार्कभित्र रेस्टुरेन्ट सञ्चालनमा आउनेछन्। एउटा बार्बे क्यु हुनेछ र अर्को लन्च वा डिनरका लागि फाइन डाइनिङ राखिएको छ। त्यस्तै, फास्टफुडका लागि अर्को रेस्टुरेन्ट बनाइएको छ। यसबाहेक इन्डियन फुडकोर्ट र आइसक्रिम पार्लर पनि हुनेछ। पार्कमा प्रदेश १ सँगै भारतका विभिन्न क्षेत्रका आगन्तुक आउने अपेक्षा गरिएको छ।

लगानीकर्ताको दैनिक एक हजार जनाले पार्कको अवलोकन गर्ने अनुमान छ। पार्कको क्षमता भने ५ हजार मानिस अटाउने छ। पार्कमा पहिलो चरणमा ६० जनाले रोजगारी पाएका छन्। पार्क सञ्चालनमा आएसँगै अब आन्तरिक तथा बाह्य पर्यटकका लागि पूर्वको गन्तव्य हुने सञ्चालक ज्ञानविक्रम साहले बताए। पार्कमा मनोरञ्जन गर्नेका लागि स्नोपार्क र जिप लाइनबाहेक विद्यार्थीका लागि ६ सय ५० र अरूका लागि ७ सय ५० रूपैयाँ शुल्क तोकिएको छ।

प्रकाशित: १९ फाल्गुन २०७७ ०६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App